All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #21
March 12, 2026

सिलासुतीमा ५औँ दलवीर सिंह लोहार T-10 क्रिकेट प्रतियोगिता सम्पन्न

📅 March 12, 2026
✍️ AAGSU
🕒 12:06 AM

धेमाजी, २७ फेब्रुअरी २०२६ : अखिल असम गोर्खा छात्र संघ (AAGSU) सिलासुती आञ्चलिक समितिको नेतृत्वमा आयोजना गरिएको ५औँ दलवीर सिंह लोहार T-10 क्रिकेट प्रतियोगिताको फाइनल खेल २७ फेब्रुअरी २०२६ का दिन सफलतापूर्वक सम्पन्न भएको छ। खेलकुदमार्फत युवाहरूलाई एकताबद्ध गर्दै स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्ने उद्देश्यले आयोजना गरिएको उक्त प्रतियोगिताको समापन निकै उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको थियो।

फाइनल खेल 2 No. Sili A र 2 No. Sili B टोलीबीच रोमाञ्चक प्रतिस्पर्धासहित सम्पन्न भएको थियो। खेलको सुरुदेखि नै दुवै टोलीले उत्कृष्ट प्रदर्शन गर्दै दर्शकहरूलाई भरपुर मनोरञ्जन प्रदान गरेका थिए। मैदानमा खेलाडीहरूको जोश, उत्साह र प्रतिस्पर्धात्मक भावना स्पष्ट देखिन्थ्यो, जसले प्रतियोगितालाई अझ आकर्षक बनाएको थियो।

कार्यक्रमका प्रमुख अतिथिका रूपमा अखिल असम गोर्खा छात्र संघ (AAGSU) धेमाजी जिल्ला समितिका सभापति श्री सोमराज पुरी ज्युको उपस्थिति रहेको थियो। उहाँले प्रतियोगिताको समापन समारोहलाई सम्बोधन गर्दै खेलकुदले युवाहरूलाई अनुशासन, सहकार्य र स्वस्थ जीवनशैलीतर्फ प्रेरित गर्ने बताउनुभयो। उहाँले यस्ता प्रतियोगिताले समाजमा भाइचारा र एकताको भावना अझ सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो।

त्यसैगरी कार्यक्रममा अखिल असम गोर्खा छात्र संघ (AAGSU) धेमाजी जिल्ला समितिका उपसभापति श्री ओम प्रकाश क्षेत्री ज्युको पनि विशेष उपस्थिति रहेको थियो। उहाँले आयोजक टोलीको प्रशंसा गर्दै आगामी दिनहरूमा पनि यस्ता रचनात्मक तथा समाजमुखी कार्यक्रमहरू निरन्तर सञ्चालन गरिनुपर्ने धारणा व्यक्त गर्नुभयो।

कार्यक्रममा अखिल असम गोर्खा छात्र संघ (AAGSU) सिलासुती आञ्चलिक समितिका सम्पूर्ण कर्मकर्ताहरू, समाजका अग्रज व्यक्तित्वहरू तथा खेलप्रेमी दर्शकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। प्रतियोगिताभरि स्थानीय खेलप्रेमीहरूको उत्साहजनक समर्थन र सहभागिताले कार्यक्रमलाई अझ सफल र भव्य बनाउन महत्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएको छ।

यस प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गराउन खेल परिचालन समितिले महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो। खेल परिचालन समितिका सभापति अरुण खतिवडा, सम्पादक सूरज क्षेत्री, खेल सम्पादक विजय क्षेत्री तथा सदस्यहरू धनलाल बदला, दीपक खतिवडा, कृष्ण नेवार, पदम क्षेत्री, भीम क्षेत्री, पूर्ण बहादुर राई, सोम बहादुर नेवार, एस नेवार र बासु नेवार लगायतले प्रतियोगिताको व्यवस्थापन तथा सञ्चालनमा सक्रिय रूपमा योगदान दिएका थिए।

आयोजक पक्षले प्रतियोगितालाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने सम्पूर्ण व्यक्ति, सहयोगी तथा खेलप्रेमी दर्शकहरूलाई हार्दिक धन्यवाद व्यक्त गरेको छ। आयोजकका अनुसार यस्ता कार्यक्रमहरूले स्थानीय प्रतिभालाई प्रोत्साहन दिनुका साथै समाजमा खेलकुद संस्कृतिको विकास गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

प्रतिवेदक: अरुण खतिवडा-सभापति, सिलासुति आञ्चलिक समिति।

📤 Share this story
Scroll to Top