All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
•
Issue #56
•
November 12, 2026

बेंतल महाविद्यालयमा ८औँ गोर्खा फ्रेशर्स मिट–२०२६ भव्यताका साथ सम्पन्न, नवागन्तुक विद्यार्थीहरूलाई भव्य स्वागत तथा शैक्षिक जागरूकताको सन्देश प्रवाह

📅 November 12, 2026
✍️ AAGSU
🕒 12:07 AM

बेंतल, १ नोभेम्बर: बेंतल महाविद्यालय गोर्खा छात्र–छात्रा संघको आयोजनामा मिति १ नोभेम्बर २०२६, आइतबारका दिन बेंतल महाविद्यालयको प्रेक्षागृहमा ८औँ गोर्खा फ्रेशर्स मिट–२०२६ भव्य, सभ्य एवं उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। नवआगन्तुक गोर्खा विद्यार्थीहरूलाई स्वागत तथा सम्मान गर्ने उद्देश्यका साथ आयोजित उक्त समारोहमा शैक्षिक जागरूकता, विद्यार्थी एकता, नेतृत्व विकास तथा गोर्खा भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण एवं संवर्द्धनसम्बन्धी महत्वपूर्ण सन्देशहरू प्रवाह गरिएको थियो।

कार्यक्रमको शुभारम्भ सुनगाभा आञ्चलिक समितिका सभापति श्री नबिन थापाज्यूद्वारा सहित तर्पण तथा बेंतल महाविद्यालय आग्सु एकाइका सभापति श्री जीवन नेपालज्यूद्वारा दीप प्रज्वलन गरी गरिएको थियो। परम्परागत विधिअनुसार सुरु गरिएको समारोहले कार्यक्रमलाई सांस्कृतिक, सामाजिक तथा शैक्षिक महत्त्व प्रदान गरेको थियो। कार्यक्रममा महाविद्यालयमा अध्ययनरत नवप्रवेशी विद्यार्थीहरूका साथै पुराना विद्यार्थी, संघ-संगठनका प्रतिनिधि, विभिन्न शैक्षिक संस्थाका प्रतिनिधि तथा समाजका अग्रज व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

समारोहमा प्रमुख वक्ता (Guest Speaker) का रूपमा बी.टी.सी. क्षेत्रीय समितिका साहित्य सचिव श्री कृष्ण पौडेलज्यूको गरिमामय उपस्थिति रहेको थियो। उहाँले विद्यार्थी जीवनमा शिक्षाको महत्त्व, अध्ययनप्रतिको लगनशीलता, अनुशासन, सकारात्मक सोच तथा सामाजिक उत्तरदायित्वका विषयमा आफ्नो विचार व्यक्त गर्नुभएको थियो। विद्यार्थीहरूले आफ्नो शैक्षिक यात्रालाई केवल व्यक्तिगत सफलता प्राप्त गर्ने माध्यमका रूपमा मात्र नलिई समाज र समुदायको समग्र विकासमा योगदान पुर्‍याउने अवसरका रूपमा लिनुपर्ने कुरामा उहाँले जोड दिनुभएको थियो। साथै, मातृभाषा, साहित्य, इतिहास र संस्कृतिको संरक्षण गर्दै आधुनिक शिक्षासँगै आफ्नो मौलिक पहिचानलाई जीवन्त राख्नुपर्ने सन्देश पनि प्रवाह गर्नुभएको थियो।

कार्यक्रममा विशिष्ट अतिथिहरूका रूपमा आग्सु केन्द्रीय समितिका खेलकुद सचिव श्री गणेश बोहरा छेत्रीज्यू, बी.टी.सी. क्षेत्रीय समितिका उपसभापति श्री प्रकाश दाहालज्यू, बी.टी.आर. का पूर्व पार्षद् श्री माधव छेत्रीज्यू तथा चिराङ जिल्ला समितिका सभापति श्री निश्चल गिरीज्यूको उपस्थिति रहेको थियो। त्यसैगरी, अतिथिहरूका रूपमा बी.टी.सी. क्षेत्रीय समितिका सहसचिव श्री नारायण उपाध्यायज्यू, संगठनिक सचिव श्री जीवन पाठकज्यू, बी.टी.आर. गोर्खा समाजका सभापति श्री उत्तम प्रधानज्यू, असम नेपाली साहित्य सभाको बी.टी.सी. क्षेत्रीय समितिका सहसचिव श्री छविलाल निरौलाज्यू, रुनिखाता महाविद्यालयका उपप्राचार्य श्री हेमन्त शर्माज्यू तथा असम गोर्खा सम्मेलन, चिराङ जिल्ला समितिका उपसभापति श्री देवप्रसाद नेवारज्यूको गरिमामय उपस्थिति रहेको थियो।

यस अवसरमा चिराङ जिल्ला आग्सुका प्रतिनिधिहरू, बेंतल क्षेत्रका समाजसेवी तथा संघका सल्लाहकार श्री कृष्ण नेवारज्यूको समेत उपस्थिति रहेको थियो। त्यसैगरी, सुनगाभा आञ्चलिक समितिका सभापति श्री नबिन थापाज्यूको नेतृत्वमा आएको टोली, हिमाली आञ्चलिक समितिका मूल–सचिव श्री शीतल काफ्लेज्यू, बिजनी आञ्चलिक समिति तथा काजलगाउँ आञ्चलिक समितिका प्रतिनिधिहरूको सहभागिताले समारोहलाई थप गरिमामय बनाएको थियो। साथै, बङ्गाईगाउँ जिल्ला समिति तथा कोकराझार आञ्चलिक समितिका प्रतिनिधिहरूको समेत उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा विभिन्न शाखा समितिका सभापति तथा मूल–सचिवहरू, चिराङ जिल्लाअन्तर्गतका सम्पूर्ण महाविद्यालय एकाइका सभापति तथा मूल–सचिवहरू, बङ्गाईगाउँ र कोकराझार जिल्लाअन्तर्गतका विभिन्न महाविद्यालय एवं विश्वविद्यालय एकाइका प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो। विभिन्न क्षेत्रबाट आएका विद्यार्थी प्रतिनिधि तथा संघ-संगठनका नेतृत्ववर्गको सहभागिताले गोर्खा विद्यार्थीहरूबीच आपसी सद्भाव, संगठनात्मक एकता र सहकार्यको भावनालाई थप सुदृढ बनाएको थियो।

आयोजक समितिका अनुसार गोर्खा फ्रेशर्स मिट केवल नवागन्तुक विद्यार्थीहरूलाई स्वागत गर्ने औपचारिक कार्यक्रम मात्र नभई विद्यार्थीहरूबीच परिचय, आत्मीयता र आपसी सम्बन्ध विस्तार गर्ने महत्वपूर्ण साझा मञ्चसमेत हो। महाविद्यालय तहमा प्रवेश गरेका नयाँ पुस्तालाई आफ्नो शैक्षिक भविष्यप्रति सचेत बनाउँदै समाज, समुदाय तथा संगठनप्रतिको जिम्मेवारीबोध गराउनु यस कार्यक्रमको मूल भावना रहेको छ। यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूमा आत्मविश्वास, नेतृत्व क्षमता, सामाजिक चेतना तथा सामूहिक कार्यप्रतिको रुचि अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिएको थियो।

समारोहको सफल आयोजनाले बेंतल महाविद्यालय गोर्खा छात्र–छात्रा संघको सांगठनिक सक्रियता तथा विद्यार्थीहरूलाई एकताबद्ध गर्दै शैक्षिक र सामाजिक गतिविधिमा सहभागी गराउने प्रतिबद्धतालाई समेत प्रतिबिम्बित गरेको छ। शिक्षा, एकता र संस्कृतिको संरक्षणलाई मूल अभियानका रूपमा आत्मसात् गर्दै आगामी दिनहरूमा पनि विद्यार्थीमुखी तथा समुदायमुखी कार्यक्रमहरूलाई निरन्तरता दिने भावना व्यक्त गरिएको थियो।

कार्यक्रमलाई सफल, व्यवस्थित, सभ्य एवं भव्य रूपमा सम्पन्न गर्न प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग पुर्‍याउनुहुने सम्पूर्ण अतिथिगण, महाविद्यालय परिवार, अग्रज व्यक्तित्वहरू, विभिन्न संघ-संगठनका नेतृत्ववर्ग, विद्यार्थी भाइबहिनीहरू, सहयोगी महानुभावहरू तथा शुभेच्छुकहरूप्रति आयोजक समितिले हार्दिक आभार एवं कृतज्ञता व्यक्त गरेको छ।

बेंतल महाविद्यालय गोर्खा छात्र–छात्रा संघको आयोजनामा तथा अखिल असम गोर्खा छात्र संघ (आग्सु), बेंतल शाखा समितिको सहयोगमा सम्पन्न ८औँ गोर्खा फ्रेशर्स मिट–२०२६ ले गोर्खा विद्यार्थीहरूबीच शैक्षिक चेतना, संगठनात्मक एकता र सांस्कृतिक पहिचानलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

प्रतिवेदक : श्री जीवन नेपाल-सभापति, बेंतल महाविद्यालय एकाइ

📤 Share this story
Scroll to Top