
तिनसुकीया, ८ मार्च २०२६ — अखिल असम गोर्खा छात्र संघ (आग्सु) तिनसुकीया आञ्चलिक समितिको नवौँ द्वि–वार्षिक अधिवेशन अन्तर्गत प्रतिनिधि सभा आज गेट चाराली सभागृहमा सम्पन्न भएको छ। सभाले सर्वसम्मत निर्णय गर्दै बाबलु लिम्बूलाई आञ्चलिक समितिको सभापति तथा दीपक लिङ्देनलाई मूल–सचिवको जिम्मेवारी प्रदान गर्दै ३० सदस्यीय नयाँ कार्यकारिणी समिति गठन गरेको छ।
उक्त अधिवेशनमा संगठनका विभिन्न तहका पदाधिकारी तथा प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा आग्सु केन्द्रीय समितिका सांस्कृतिक सचिव राकेश लामा प्रमुख रूपमा उपस्थित रहनु भएको थियो भने आग्सु तिनसुकीया जिल्ला समितिका सभापति अशोक लामा, सह–सचिव मिलन शर्मा लगायतका नेताहरूले पनि सहभागिता जनाउनु भएको थियो।
अधिवेशनको प्रतिनिधि सभामा संगठनको भावी दिशा, संगठन सुदृढीकरण तथा विद्यार्थी समुदायका विविध समस्याहरूका विषयमा समेत व्यापक छलफल भएको बताइएको छ। वक्ताहरूले संगठनलाई अझ सशक्त र प्रभावकारी बनाउँदै विद्यार्थी तथा समाजका हितका लागि निरन्तर सक्रिय रहनुपर्ने कुरामा जोड दिएका थिए। उनीहरूले संगठनको इतिहास, संघर्ष तथा योगदानलाई स्मरण गर्दै नयाँ नेतृत्वले संगठनलाई अझ मजबुत बनाउँदै लैजाने विश्वास व्यक्त गरेका थिए।
कार्यक्रममा पर्यवेक्षकको रूपमा आग्सु तिनसुकीया जिल्ला समितिका उप–सभापति पत्रिका लिम्बू, दुर्गा खतिवड़ा, सांगठनिक सचिव दल लिम्बू, सह–सचिव चन्दन लिम्बू, कार्यालय सचिव सुखवीर लिम्बू तथा कार्यकारी सदस्य आमीर लामा उपस्थित रहनु भएको थियो। उनीहरूले अधिवेशनको प्रक्रियालाई नजिकबाट अवलोकन गर्दै कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गराउन सहयोग पुर्याएका थिए।
नवगठित कार्यकारिणी समितिका सभापति बाबलु लिम्बूले संगठनले सुम्पिएको जिम्मेवारीप्रति आभार व्यक्त गर्दै संगठनको उद्देश्य र आदर्शलाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। त्यस्तै मूल–सचिव दीपक लिङ्देनले पनि संगठनलाई अझ सक्रिय, सशक्त तथा प्रभावकारी बनाउँदै विद्यार्थीहरूको हक–अधिकार र सामाजिक मुद्दाहरूमा अग्रसर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
अधिवेशन शान्त, अनुशासित तथा उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको आयोजक समितिले जनाएको छ। नयाँ कार्यकारिणी समितिको गठनसँगै आग्सु तिनसुकीया आञ्चलिक समितिले आगामी दिनहरूमा संगठनात्मक गतिविधि थप सक्रिय रूपमा अगाडि बढाउने विश्वास व्यक्त गरिएको छ।
प्रतिवेदक: दिपक लिङ्देन-मूल सचिव, तिनसुकिया आञ्चलिक समिति।