
धेमाजी, २४ अक्टोबर २०२५: अखिल असम गोर्खा छात्र संघ (AAGSU) केन्द्रीय समितिको आयोजनामा तथा धेमाजी जिल्ला समितिको आतिथ्यमा मालिनीपुर आञ्चलिक समिति अन्तर्गत २ नं. फुलबारी खेल मैदान, मालिनीपुर, सीलापथारमा गत २३ अक्टोबर २०२५ का दिन केन्द्रीय सामूहिक ‘भातृ द्वितीया उत्सव’ अत्यन्तै भव्य र स्नेहपूर्ण वातावरणमा सम्पन्न भयो। कार्यक्रम साँझ ५ बजे प्रारम्भ भई आपसी माया, सौहार्द र सद्भावनाको माहोलमा सम्पन्न भएको थियो।
यस अवसरमा विभिन्न विद्यार्थी तथा युवा सङ्गठनका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। अखिल असम छात्र संघ तर्फबाट केन्द्रीय सह सचिव श्री दीपक शर्मा, अखिल मरान छात्र संघ तर्फबाट केन्द्रीय सभापति श्री फनिन्द्र बरा, सह–मूल सचिव श्री भिमन्त महन्त र सांगठनिक सम्पादक श्री मानस मरान, असम जातियतावादी युवा परिषद तर्फबाट केन्द्रीय मूल–सचिव श्री उदयन कुमार गोगोई, धेमाजी जिल्ला समितिका सभापति श्री संजीव सेतिया, अखिल असम सुतिया छात्र संघ तर्फबाट मुख्य सल्लाहकार श्री खिरोद बरा, असम चिया जनजाती छात्र संस्था तर्फबाट केन्द्रीय उप–सभापति श्री लाजार नन्द, वित्त सम्पादक श्री सुनिल पातर, कार्यकारिणी सदस्य श्री रमेन दास, अखिल असम मटक युवा छात्र सम्मिलनी तर्फबाट केन्द्रीय मूल–सचिव श्री स्वरूप गोहाइ, तिनसुकिया जिल्ला समितिका सांस्कृतिक सम्पादक श्री सजिल सेतिया र खेल सचिव श्री पल्लब सेतिया, भोजपुरी युवा परिषद तर्फबाट केन्द्रीय प्रचार सचिव डा. देवेन्द्र सिंह, तथा भारतीय कामि उन्नयन परिषद तर्फबाट कार्यकारी सभापति श्री बिष्णु विश्वकर्मा साथ साथै श्री देवासिस गोहाइ लगायत विभिन्न जातीय सङ्गठनका प्रतिनिधि, स्थानीय समाजका अग्रज, शुभेच्छुक र सर्वसाधारणजनहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमको मूल उद्देश्य समाजमा दाजु–बहिनी तथा दिदी–भाइबीचको माया, एकता र पारिवारिक सम्बन्धलाई अझ सबल बनाउने रहेको थियो। कार्यक्रममा गोर्खा बहिनीहरूले विभिन्न जातीय समुदायका दाजु–भाइहरूलाई भाइटीका लगाई स्नेह, भ्रातृत्व र एकताको सन्देश प्रेषण गरेका थिए। ‘भातृ द्वितीया’ गोर्खा समुदायको प्राचीन धार्मिक, सांस्कृतिक तथा सामाजिक पर्व हो, जुन दीपावलिको पाँचौँ दिन दाजु–बहिनीबीचको आत्मीयता र स्नेहको प्रतीकका रूपमा मनाइन्छ। पौराणिक मान्यताअनुसार मृत्युदेव यमराज आफ्नी बहिनी यमुनालाई भेट्न आएका थिए र बहिनीले दाजुलाई स्नेहपूर्वक टीका लगाई दीर्घायुको आशीर्वाद दिएकी थिइन्। यही प्रसङ्गको स्मरणमा आजसम्म भातृ द्वितीया पर्व मनाउने परम्परा जीवित रहेको विश्वास गरिन्छ।
कार्यक्रममा अखिल असम गोर्खा छात्र संघ (AAGSU) का केन्द्रीय सभापति श्रीमान् सुनील कुमार क्षेत्रीले सम्बोधन गर्दै भने, “भातृ द्वितीया जस्तो सांस्कृतिक पर्वले दाजु–बहिनीबीचको माया र आत्मीय सम्बन्धलाई मात्र होइन, सम्पूर्ण समाजमा आपसी विश्वास र सौहार्दको भावना सुदृढ गर्छ। यस्ता सामूहिक उत्सवहरूले हाम्रो जातीय संस्कृतिको संरक्षण र प्रवर्द्धनमा प्रेरणादायी भूमिका खेल्छन्।” त्यस्तै मूल–सचिव श्री नुमल क्षेत्रीले भने, “असम राज्यमा बसोबास गर्ने गोर्खा समुदायका परम्परागत पर्वहरू राज्यको साझा सांस्कृतिक पहिचानको अभिन्न हिस्सा हुन्। राज्य सरकारले ‘भातृ द्वितीया’को अवसरमा सार्वजनिक विदा घोषणा गरी यस पर्वलाई सम्मानजनक मान्यता दिनुपर्छ।”
कार्यक्रमलाई सफल बनाउन AAGSU का केन्द्रीय र जिल्ला तहका पदाधिकारीहरूको उल्लेखनीय भूमिका रहेको थियो। कार्यक्रममा सभापति श्री सुनील कुमार क्षेत्री, मूल–सचिव श्री नुमल क्षेत्री, सचिव श्री अजय कुमार आले, सांगठनिक सचिव श्री दीपक नेवार, खेलकुद सचिव श्री मोहन विश्वकर्मा, सांस्कृतिक सचिव श्री राकेश लामा, सह–सांस्कृतिक सचिव श्री त्रिदेव बिष्ट, आईटी सचिव श्री किरण खर्का र कार्यकारिणी सदस्य श्री सन्तोष क्षेत्री लगायत अन्य केन्द्रीय पदाधिकारीहरूको उपस्थिति रहेको थियो। त्यसैगरी AAGSU धेमाजी जिल्ला समितिका सभापति श्री सोमराज पुरी र मूल–सचिव श्री दिलीप खनाल, जीवन शर्मा, किशन क्षेत्री, बिनोद छेत्री, संजू शर्मा, तिनसुकिया जिल्ला समितिका सभापति श्री अशोक कुमार लामा र मूल–सचिव श्री शेखर गुरुङ, डिब्रुगड़ जिल्ला समितिका सभापति श्री रत्न थापा, धेमाजी जिल्लाका मुख्य उपदेष्ठा श्री खेम कुमार प्रधान, जीवन शर्मा, मालिनीपुर पंचायत सभापति श्री शिव कुमार राई तथा शोनि टिभि मा प्रसारित भारतको जनप्रिय शो Super Dancer Season 5 की विजेता आध्याश्री उपाध्याय समेत कार्यक्रममा विशेष अतिथिका रूपमा उपस्थित रहनु भएको थियो।
त्यस्तै अवसरमा अखिल असम गोर्खा छात्र संघ (AAGSU) को आधिकारिक वेबसाइट प्रत्येक बिहीबार संघका गतिविधिहरू समेटी प्रकाशन हुने साप्ताहिक ‘AAGSU e-Bulletin’ को शुभ उद्घाटन असम जातियतावादी युवा परिषद का केन्द्रीय मूल–सचिव श्री उदयन कुमार गोगोईको बाहुलीबाट सम्पन्न गरिएको थियो।
सीलापथारको मालिनीपुरमा सम्पन्न यस सामूहिक ‘भातृ द्वितीया उत्सव’ ले भ्रातृत्व, माया र सामाजिक एकताको उज्ज्वल दृष्टान्त प्रस्तुत गर्दै सम्पूर्ण क्षेत्रभरि आपसी सद्भाव र सौहार्दको सन्देश फैलाएको छ।
