All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #2
October 30, 2025

अखिल असम गोर्खा छात्र संघ (AAGSU) का केन्द्रीय प्रचार–सचिव लक्ष्मी शर्माको ‘Mising Sports Carnival – 2025’ मा सहभागिता

📅 October 30, 2025
✍️ AAGSU
🕒 12:04 AM

धेमाजी, २६ अक्टोबर २०२५ः Takam Mising Porin Kebang (TMPK)’ द्वारा आयोजित चारदिने भव्य खेलकुद महोत्सव ‘Mising Sports Carnival – 2025’ असमको धेमाजी जिल्लास्थित गोगामुखमा २३ देखि २६ अक्टोबरसम्म उत्साहपूर्वक सम्पन्न भएको छ। असमका विभिन्न जिल्लाबाट आएका मिजिङ समुदायका युवायुवती, खेलाडी तथा प्रतिनिधिहरूको उल्लेखनीय सहभागिताले कार्यक्रमलाई सफल र ऐतिहासिक बनाएको छ।

यस महोत्सवको मूल उद्देश्य मिजिङ समुदायबीच खेलकुद, संस्कृति र सामाजिक एकताको भावना प्रवर्द्धन गर्नुका साथै राज्यका विभिन्न जन–जातीय समुदायहरूबीच आपसी सद्भाव, मित्रता र सहयोगको वातावरण सुदृढ गर्नु रहेको थियो। चार दिनसम्म चलेको यस कर्निभलमा फुटबल, भलिबल, दौड प्रतियोगिता, पारम्परिक खेलहरू, सांस्कृतिक प्रस्तुति र सामूहिक अन्तर्क्रिया जस्ता विविध गतिविधिहरू समावेश गरिएका थिए।

कार्यक्रमको विशेष आकर्षणका रूपमा मिजिङ समुदायको समृद्ध संस्कृति झल्काउने लोक–गीत, नृत्य र पारम्परिक पोशाकको झल्कोले वातावरणलाई थप रंगीन बनाएको थियो। युवाहरूमा खेलकुदप्रतिको उत्साह, सामूहिक भावना र समुदायप्रतिको समर्पणले कार्यक्रमलाई सफलताको शिखरमा पु-यायो।

यस अवसरमा अखिल असम गोर्खा छात्र संघ (AAGSU) केन्द्रीय समितिका प्रचार–सचिव लक्ष्मी शर्मा विशेष अतिथि रूपमा उपस्थित हुनुभएको थियो। उहाँले संघको तर्फबाट आयोजक Takam Mising Porin Kebang (TMPK) का पदाधिकारी तथा सम्पूर्ण मिजिङ समुदायलाई सफल आयोजनाको लागि हार्दिक बधाई र शुभकामना व्यक्त गर्नुभयो।

उहाँले आफ्नो सम्बोधनमा भन्नुभयो —

“खेल–कुद कुनै साधारण प्रतिस्पर्धा होइन; यो समुदायबीचको आत्मीयता, विश्वास र सह–अस्तित्वको प्रतीक हो। असमजस्तो बहुभाषिक, बहुजातीय राज्यमा यस्ता सांस्कृतिक तथा खेलकुद आयोजनाहरूले विभिन्न समुदायहरूबीच आपसी समझदारी र मित्रताको सेतु निर्माण गर्छन्। अखिल असम गोर्खा छात्र संघ (AAGSU) सधैं यस्ता सकारात्मक र एकतामूलक प्रयासमा सहकार्य गर्न तत्पर रहनेछ।”

कार्यक्रममा मिजिङ समुदायका अग्रज, सामाजिक कार्यकर्ता, शिक्षक, विद्यार्थी, खेलाडी र विभिन्न सामाजिक संगठनका प्रतिनिधिहरूको उपस्थिति उल्लेखनीय थियो। अन्तिम दिनमा विजेता टोलीहरूलाई सम्मानपत्र, ट्रफी र पुरस्कार वितरण गरिँदै कार्यक्रमको समापन गरियो।

गोगामुखमा सम्पन्न यो कर्निभलले मिजिङ र गोर्खा समुदायबीचको आपसी सम्बन्ध, सांस्कृतिक नजिकता र सामाजिक एकताको भावनालाई अझ सुदृढ बनाएको अनुभव गरिएको छ। यस अवसरमा दुई समुदायबीच आपसी सद्भाव, सह–अस्तित्व र साझा असमीय पहिचानलाई दृढ पार्ने सन्देश सम्प्रेषण भएको देखियो।

कार्यक्रमपछि AAGSU का प्रचार–सचिव लक्ष्मी शर्माले आफ्नो प्रतिक्रिया व्यक्त गर्दै भन्नुभयो कि संघले असमका सबै जन–जातीय समुदायहरूसँग मैत्रीपूर्ण सम्बन्धका माध्यमबाट साझा असमीय पहिचानलाई मजबुत बनाउन निरन्तर योगदान दिइरहेको छ। उहाँले मिजिङ समुदायको आतिथ्य, संस्कृतिप्रतिको समर्पण र खेलकुदमाथिको प्रतिबद्धताको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्ता सहकार्यात्मक कार्यक्रमहरूमा सहभागिता जारी रहने विश्वास व्यक्त गर्नुभयो।

📤 Share this story
Scroll to Top