All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #2
October 30, 2025

असम जातियताबादी युवा-छात्र परिषद् र असमका २३ वटा जनजातीय छात्र संघको संयुक्त छलफल बैठक सम्पन्न

📅 October 30, 2025
✍️ AAGSU
🕒 12:01 AM

गुवाहाटी, २६ अक्टोबर २०२५, आइतबारः असम जातियताबादी युवा-छात्र परिषद् (AJYCP) तथा असमका २३ वटा जनजातीय छात्र संघहरूको संयुक्त सभा आज गुवाहाटीको चानमारीस्थित असम जातियताबादी युवा छात्र परिषद्को मुख्य कार्यालयमा एक महत्वपूर्ण “छलफल बैठक” सम्पन्न भयो।

उक्त बैठकको अध्यक्षता असम जातियताबादी युवा छात्र परिषद्को सभापति श्री पलाश सांग्माईज्यु ले गर्नुभयो। बैठकमा असमका विभिन्न २३ वटा जनजातीय छात्र संघका सभापति, मूल–सचिव, पदाधिकारीहरू, साथै अखिल असम गोर्खा छात्र संघ (AAGSU) का सभापति श्री मान सुनील छेत्री, सांगठनिक सचिव श्री प्रकाश कोइराला र प्रचार सचिव श्री सोमराज सोनारको उल्लेखनीय उपस्थिति रहेको थियो।

सभापति श्री मान सुनील छेत्रीले आफ्नो मन्तव्यमा असमका सम्पूर्ण जनजातीय छात्र संघहरूबीच आपसी विश्वास, सहयोग र एकताको सम्बन्ध सुदृढ गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो — “असम बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक राज्य हो। यहाँका सबै मूलनिवासी, जनजातीय र क्षेत्रीय समुदायबीच आपसी समझदारी, सहकार्य र समान अधिकारको पक्षमा साझा स्वरमा अघि बढ्न जरुरी छ। एकताको मार्गबाट मात्रै हामीले असमको गौरव, शान्ति र अस्मिताको रक्षा गर्न सक्छौं।”

बैठकको प्रारम्भमा असमको सामाजिक, सांस्कृतिक र राजनीतिक परिवेशमा देखा परेका पछिल्ला घटनाक्रमबारे विस्तृत छलफल गरिएको थियो। सभापति श्री पलाश सांग्माईले असममा असल शासन, जातीय सद्भाव र सांस्कृतिक एकताको आवश्यकता औंल्याउँदै सम्पूर्ण जनजातीय, क्षेत्रीय र मूलनिवासी छात्र संघहरूबीच आपसी सहयोग र सहकार्यको भावना सुदृढ गर्नुपर्ने बताउनुभयो।

त्यस्तै, अखिल असम गोर्खा छात्र संघका सांगठनिक सचिव श्री प्रकाश कोइरालाले असममा बसोबास गर्ने सबै जनजातीय र समुदायहरूले एकआपसमा ऐक्यबद्ध भई राज्यको शान्ति, समान अधिकार र न्यानो अस्मिताको रक्षाका लागि साझा मञ्च तयार गर्नुपर्ने बताउनुभयो। प्रचार सचिव श्री सोमराज सोनारले पनि कलाकार, विद्यार्थी र सामाजिक अभियन्ताहरूको आवाजलाई सशक्त रूपमा उठाउने आवश्यकतामा जोड दिनुभयो।

बैठकमा सहभागी विभिन्न छात्र संघका सभापति तथा पदाधिकारीहरूले असममा चलिरहेको सामाजिक न्याय, आर्थिक असमानता, युवा बेरोजगारी, र सांस्कृतिक पहिचानजस्ता विषयहरूबारे आ–आफ्नो मत प्रस्तुत गर्दै साझा कार्ययोजना तय गर्ने प्रस्ताव राखे।

बैठकको अन्त्यमा कलाकार जुबिन गार्गको न्यायको मागलाई समर्थन जनाउँदै आगामी ४ नोभेम्बरका दिन गुवाहाटीमा “Walk for Justice” नामक संयुक्त पदयात्रा आयोजना गर्ने निर्णय सर्वसम्मत रूपमा पारित गरियो। यस पदयात्रामा असमका विभिन्न छात्र संघ, सांस्कृतिक संस्था र युवा समूहहरूको सक्रिय सहभागिता रहने जानकारी दिइयो।

बैठक सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो र उपस्थित सबै प्रतिनिधिहरूले असमको हितका लागि निरन्तर संयुक्त आवाज उठाइरहने दृढ प्रतिबद्धता व्यक्त गरे।

📤 Share this story
← First Story in Issue
Scroll to Top