All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #3
November 6, 2025

गोर्खा ज्ञानज्योति अन्वेषण 2.O परीक्षा” — पश्चिम कार्बी आङलङबाट ज्ञान, संस्कार र गोर्खा चेतनाको पुनर्जागरण यात्रा

📅 November 6, 2025
✍️ AAGSU
🕒 12:07 AM

पश्चिम कार्बी आंगलङ, अक्टूबर ३० : असमका गोर्खा विद्यार्थीहरूबीच ज्ञान, संस्कार र जातीय चेतनाको ज्योति प्रज्वलित गर्ने उद्देश्यका साथ अखिल असम गोर्खा छात्र संघ (AAGSU), पश्चिम कार्बी आङलङ जिल्ला समितिले आगामी दिनहरूमा “गोर्खा ज्ञानज्योति अन्वेषण 2.O परीक्षा” सञ्चालन गर्न लागेको छ। यो परीक्षा केवल शैक्षिक प्रतिस्पर्धा मात्र नभई, गोर्खा समाजको गौरवशाली इतिहास, वीरत्व, सभ्यता र सांस्कृतिक सम्पदालाई भावी पुस्तासम्म पुरियाउने एउटा महत्वपूर्ण अभियानका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ। यस आयोजनाले विद्यार्थीहरूमा आफ्नो पहिचानप्रतिको गर्व र समुदायप्रतिको उत्तरदायित्व बोध गराउँदै, ज्ञान र चेतनाको नयाँ क्षितिजतर्फ अघि बढाउने विश्वास लिइएको छ।

AAGSU को गौरवपूर्ण इतिहासमा पहिलो पटक सन् 2021 मा तत्कालीन सभापति श्री सुरज छेत्री र मूल–सचिव श्री दीपक दाहालको नेतृत्वमा, AAGSU कार्बी आङलङ जिल्ला समितिले अम्रेङ–कोपिली आञ्चलिक समितिको सहयोगमा “गोर्खा ज्ञानज्योति अन्वेषण परीक्षा” सफलतापूर्वक सम्पन्न गरेको थियो। त्यो ऐतिहासिक कदमले गोर्खा विद्यार्थीहरूमा आत्मपहिचान, गौरव, र ऐतिहासिक सचेतनाको भाव जगाएको थियो। सोही प्रेरणादायी प्रयासको निरन्तरतास्वरूप यसपटक AAGSU पश्चिम कार्बी आङलङ जिल्ला समितिले दोस्रो संस्करण “गोर्खा ज्ञानज्योति अन्वेषण 2.O परीक्षा” सञ्चालन गर्न लागेको हो, जसमा पश्चिम कार्बी आङलङ अन्तर्गतका पाँचवटा आञ्चलिक समितिहरूमा एकैसाथ परीक्षा आयोजना गरिनेछ।

यस परीक्षाको मूल उद्देश्य गोर्खा विद्यार्थीहरूमा आफ्नो जातीय इतिहास, भाषा, कला र संस्कृतिप्रतिको ज्ञान अभिवृद्धि गर्नुका साथै गोर्खा समाजप्रतिको जिम्मेवारी र आत्मगौरव जागृत गर्नु हो। यसअन्तर्गत विद्यार्थीहरूलाई हाम्रो गौरवशाली स्वतन्त्र सेनानीहरूका योगदान र बलिदानबारे जानकारी प्रदान गरिनेछ, गोर्खा जातिका परम्परा, संस्कृति, र सभ्यताको संरक्षणप्रति सचेत गराइनेछ, साथै गोर्खा महान् जातिका विभिन्न उपजातिहरूका पहिरन, खानपान, बोली–भाषा र परम्परागत कला–संस्कृतिबारे अध्ययन र अवलोकनको अवसर प्रदान गरिनेछ। साथै विद्यार्थीहरूलाई हाम्रो भाषा र साहित्यको गर्व गर्ने कवि, लेखक तथा साहित्यकारहरूको योगदानप्रति प्रेरित गराइने उद्देश्य पनि यस परीक्षाको प्रमुख पक्ष हो।

परीक्षा सञ्चालनका लागि प्रत्येक आञ्चलिक समितिको सक्रिय सहभागिता सुनिश्चित गरिएको छ। AAGSU पश्चिम कार्बी आङलङ जिल्ला समितिको समन्वयमा परीक्षा सञ्चालन, मूल्याङ्कन र पुरस्कार वितरणका सम्पूर्ण कार्यहरू व्यवस्थित रूपमा सम्पन्न गरिने छन्। यस प्रयासले आञ्चलिक र जिल्ला दुबै स्तरमा संगठनात्मक सुदृढता ल्याउने मात्र होइन, विद्यार्थीहरूबीच गोर्खा चेतना र एकताको भावना पनि प्रगाढ बनाउनेछ।

परीक्षामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई AAGSU पश्चिम कार्बी आङलङ जिल्ला समितिका तर्फबाट एकमुष्ट आर्थिक सहयोग, प्रमाणपत्र र सम्मान प्रदान गरिनेछ। यसले विद्यार्थीहरूमा आत्मविश्वास, प्रतिस्पर्धात्मक भावना र गोर्खा पहिचानप्रतिको निष्ठा अझ प्रगाढ बनाउनेछ।

अन्ततः, “गोर्खा ज्ञानज्योति अन्वेषण 2.O परीक्षा” केवल एउटा शैक्षिक कार्यक्रम होइन, यो गोर्खा चेतना र सांस्कृतिक गौरवको पुनर्जागरण यात्रा हो। अखिल असम गोर्खा छात्र संघ (AAGSU), पश्चिम कार्बी आङलङ जिल्ला समितिको यो दूरदर्शी पहलले सम्पूर्ण गोर्खा समुदायमा ज्ञान, संस्कार र एकताको उज्यालो फैलाउने विश्वास गरिएको छ। यो अभियानले गोर्खा विद्यार्थीहरूलाई न केवल आफ्नो जरा चिन्न तर गोर्खा पहिचानको गौरव संसारभर फैलाउने प्रेरणा प्रदान गर्नेछ — यही हो “गोर्खा ज्ञानज्योति अन्वेषण 2.O परीक्षा”को वास्तविक उद्देश्य र आत्मा।

📤 Share this story
Scroll to Top