All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #3
November 6, 2025

“विदाईका पलहरू – नयाँ यात्राका शुभकामना सहित”— अखिल असम गोर्खा छात्र संघ (AAGSU), सरूपथार महाविद्यालय शाखा समितिद्वारा स्नातक विद्यार्थीहरूलाई सम्मान

📅 November 6, 2025
✍️ AAGSU
🕒 12:16 AM

सरूपथार ,अक्टोबर ३१ : अखिल असम गोर्खा छात्र संघ (AAGSU) सरूपथार महाविद्यालय शाखा समितिको ३१ अक्टोबर २०२५ का दिन, उद्योगमा सरूपथारस्थित साहित्य सभा भवन मा एक भव्य “विदाई तथा सम्मान समारोह” सम्पन्न भयो।
यस अनुष्ठानको उद्देश्य सरूपथार महाविद्यालयबाट स्नातक तह (२०२२–२५ सत्र) मा उत्तीर्ण भएका छात्र–छात्राहरूलाई सम्मान गर्दै उनीहरूको भविष्य यात्राका लागि शुभकामना अर्पण गर्नु रहेको थियो।

कार्यक्रमको सञ्चालन सरूपथार महाविद्यालय शाखा समितिका सभापति श्री सुरज राई ज्यूले गर्नुभएको थियो। अनुष्ठानको प्रारम्भ असम संगीत जगत्का तेजस्वी नक्षत्र, स्वरसम्राट स्व. जुबिन गार्ग ज्यूको तस्बिरमा दिप प्रज्वलन गरी श्रद्धाञ्जली अर्पण गर्दै गरिएको थियो। कार्यक्रमको सुरुवाती क्षणदेखि नै सभाभवनमा भावनात्मक र सौहार्दपूर्ण वातावरण सृजना भएको थियो।

मुख्य अतिथिको रूपमा अखिल असम गोर्खा छात्र संघ (AAGSU) गोलाघाट जिल्ला समितिका सभापति श्री मेघराज सुनार ज्यू उपस्थित हुनुहुन्थ्यो। त्यस्तै सह–अतिथिका रूपमा जिल्ला समितिका उपसभापति श्री भगीरथ पौडेल ज्यू, AAGSU केन्द्रीय समितिका सह–सचिव श्री मनि कुमार लिम्बू ज्यू, जिल्ला समितिका सांस्कृतिक सचिव श्री ऋतुपन श्रेष्ठ ज्यू, सरूपथार महाविद्यालय शाखाका प्रतिस्थापक सभापति श्री भारत पुलामी ज्यू, प्राक्तन सभापति श्री विनोद राई ज्यू तथा सरूपथार महाविद्यालयका प्रतिष्ठित प्रवक्ता श्री अग्नि छेत्री ज्यू पनि विशेष उपस्थिति रहनुभएको थियो।

कार्यक्रमका वक्ताहरूले विद्यार्थी जीवनका अनुभव, संघर्ष र भविष्यका अवसरबारे प्रेरणादायी मन्तव्यहरू राख्दै, स्नातक तहमा उत्तीर्ण भएका छात्र–छात्राहरूलाई निरन्तर अध्ययन, अनुशासन र समाजसेवाको बाटोमा अघि बढ्न प्रेरित गर्नुभएको थियो। अतिथिहरूले विद्यार्थीहरूलाई माला, प्रमाणपत्र र स्मृतिचिन्ह प्रदान गर्दै AAGSU सरूपथार शाखा समितिको यो सराहनीय पहलप्रति प्रशंसा व्यक्त गर्नुभयो। सांस्कृतिक प्रस्तुतिहरूले कार्यक्रममा थप रौनक ल्याएको थियो। सुश्री उमा पुलामी, सुश्री मनिषा प्रधान, श्री रोहित मर्घाली र श्री अंकुर सुब्बा ज्यूहरूले प्रस्तुत गरेका गीत र नृत्यहरूले उपस्थित विद्यार्थी, अभिभावक तथा अतिथिहरूलाई हर्ष र उल्लासले भरिदिए। कार्यक्रमको प्रत्येक क्षणमा युवा ऊर्जाको अभिव्यक्ति, गोर्खा संस्कृतिप्रतिको गर्व र विद्यार्थीहरूका अनुशासित भावना झल्किएको थियो।

कार्यक्रमको समापनमा सभापति श्री सुरज राई ज्यूले सबै अतिथि, विद्यार्थी, आमन्त्रित अभिभावक र सहयोगी हातहरूलाई धन्यवाद ज्ञापन गर्दै भने —

“आजको यो विदाई कुनै अन्त्य होइन, नयाँ सुरुवात हो। AAGSU सधैं युवाहरूको साथमा रहनेछ र गोर्खा पहिचान, शिक्षा र अधिकारका लागि निरन्तर संघर्षरत रहनेछ।”

उक्त समारोहले सरूपथार महाविद्यालय शाखा समितिको संगठनात्मक एकता र विद्यार्थी–हितप्रतिको समर्पणलाई पुनः उजागर गरेको अनुभूति सबैमा देखिन्थ्यो।
कार्यक्रम सफलतापूर्वक सम्पन्न भई सामूहिक तस्बिर खिच्दै, सबै सहभागीहरू नयाँ आशा र प्रेरणासहित विदाई भए।

📤 Share this story
Scroll to Top