
खौराङ अक्टोबर २३ : गोर्खा समाजको संगठनात्मक सशक्तीकरण र संस्थागत विकासको दिशामा एउटा महत्वपूर्ण उपलब्धि स्वरूप आज खौराङ आञ्चलिक समिति अन्तर्गत फूलबारी शाखा समितिको नयाँ कार्यालय भवनको भव्य उद्घाटन सम्पन्न गरिएको छ। उक्त भवन गोर्खा उन्नयन परिषद्, असम सरकारको २०२३–२४ आर्थिक वर्षको पूँजी सहायता अन्तर्गत निर्माण गरिएको हो। उद्घाटन समारोहको प्रमुख आकर्षणस्वरूप गोर्खा उन्नयन परिषद् (GDC)का अध्यक्ष श्रीमान प्रेम तामाङज्यूले भवनको औपचारिक उद्घाटन गर्नुभयो।
कार्यक्रमको अध्यक्षता फूलबारी शाखा समितिका सभापति श्री नन्दलाल विश्वकर्माले गर्नुभयो भने सञ्चालन मूल सचिव श्री कमल क्षेत्रीले गर्नुभएको थियो। कार्यक्रममा अखिल असम गोर्खा छात्र संघ (AAGSU), उदालगुरी जिल्ला समितिका सभापति श्रीमान राम क्षेत्री, कार्यालय सचिव श्रीमान राम बस्नेत, तथा BTR क्षेत्रीय समितिका सभापति श्रीमान रोहित कुमार दाहालज्यू विशेष अतिथिका रूपमा उपस्थित हुनु भएको थियो। साथै, खौराङ आञ्चलिक समिति (AAGSU) का मूल सचिव श्रीमान अभिषेक महन्त, उप–सभापति श्रीमान हरी बस्नेत, सह–सचिव श्रीमान चन्द्र शर्मा र श्रीमान गौतम तामाङ, कार्यकारी सदस्य श्रीमान रजेन दाहाल, लगायतका पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा अतिथिहरूले आफ्नो मन्तव्यमार्फत फूलबारी शाखा समितिको यो उपलब्धिलाई गोर्खा समुदायको एकता र प्रगतिशील सोचको प्रतिफल भएको बताउँदै, यसले संगठनात्मक गतिशीलता थप सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो। उदालगुरी जिल्ला सभापति श्रीमान राम क्षेत्रीले आफ्नो सम्बोधनमा भने — “संघको प्रत्येक शाखा अब आत्मनिर्भर र सक्रिय हुनुपर्ने बेला आएको छ, र फूलबारी शाखाले त्यसको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ।”
त्यसैगरी BTR क्षेत्रीय सभापति श्रीमान रोहित कुमार दाहालले AAGSU को सशक्त भूमिकाको प्रशंसा गर्दै, “यस्ता पहलहरूले भविष्यमा हाम्रो संगठनलाई अझै संस्थागत र सबल बनाउनेछ,” भन्ने धारणा राख्नुभयो। कार्यक्रममा फूलबारी गाउँका बुद्धिजीवी, शिक्षक, अभिभावक तथा मातृशक्तिको समेत सशक्त उपस्थिति रहेको थियो। वक्ताहरूले गोर्खा समाजको शिक्षण, सांस्कृतिक र सामाजिक उत्थानमा युवा पुस्ताको योगदानलाई उच्च सम्मानका साथ स्मरण गर्दै निरन्तर प्रगतिका लागि सबैलाई एकताबद्ध रहन आह्वान गरे। कार्यक्रमको अन्त्यमा शाखा सभापति श्री नन्दलाल विश्वकर्माले सबै आगन्तुक, अतिथि तथा सहयोगीहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै भने — “यो भवन हाम्रो गोर्खा पहिचान, परिश्रम र एकताको प्रतीक हो। यसै आधारमा हामी अझ उज्यालो भविष्यको दिशामा अघि बढ्नेछौँ।”
भवन उद्घाटनसँगै फूलबारी शाखा समितिले आफ्ना भावी योजनाहरू पनि सार्वजनिक गरेको छ, जसमा स्थानीय विद्यार्थीहरूका लागि शैक्षिक सहयोग, सांस्कृतिक तालिम र सामाजिक सेवा कार्यक्रमहरूको आयोजना समावेश गरिएको छ। समग्रमा, आजको समारोहले गोर्खा समाजमा नयाँ उत्साह, एकताको भावना र संगठनात्मक प्रतिबद्धताको सन्देश प्रवाहित गरेको छ।
