
बामुनजुलि, नवेम्बर ३: अखिल असम गोर्खा छात्र संघ, बामुनजुलि आञ्चलिक समिति को उद्योग र १ नं. सामराङ शाखा समितिको सहयोगमा गत ०१ र ०२ नोभेम्बर दुई दिवसीय कार्यक्रम भव्य र सफलतापूर्वक सम्पन्न हुन्छ । जातीय हक-अधिकार, संस्कृति, र शैक्षिक विषयलाई केन्द्रमा राख्दै आयोजना गरिएको यस कार्यक्रमले गोर्खा समुदायमा एकता र चेतना प्रवर्द्धन गर्ने महत्वपूर्ण भूमिका खेलेको छ। कार्यक्रमको पहिलो दिन दशौं द्वि-वार्षिक अधिवेशनको प्रतिनिधि सभा मार्फत बामुनजुलि आञ्चलिक समितिको आगामी दुई वर्षका लागि नयाँ नेतृत्व चयन गरिएको थियो। प्रतिनिधिहरूकोबिच निर्विरोध सभापति श्रीमान् रतन शर्मा चयन भए भने, मूल–सचिवको जिम्मेवारी भानु लामा लाई प्रदान गर्दै ३४ सदस्यीय बलियो समिति गठन गरिएको छ । नयाँ नेतृत्व चयनको यस औपचारिक प्रक्रियाले उपस्थित सबैमा उत्साह र उमङ्ग थपेको छ ।
कार्यक्रमको दोस्रो दिन विभिन्न सांस्कृतिक र खेलकुद प्रतियोगिताहरू सञ्चालन गरिएको थियो । प्रतियोगिताहरूमा माराथन दौड, तुरन्त भाषण, हाजिरी जवाफ, टपरी गाँस्ने, र देउसी–भैलो कार्यक्रम समावेश थिए। यी प्रतियोगिताहरूले सहभागीहरूको उत्साह झल्काएका मात्र होइन, स्थानीय जनताको सांस्कृतिक प्रतिभा प्रदर्शन गर्ने उत्कृष्ट अवसर पनि प्रदान गरेका थिए।
प्रतियोगितापछि आयोजित आमसभामा मुख्य अतिथिको रूपमा आखिल असम गोर्खा छात्र संघ, केन्द्रीय समितिका सम्माननीय सभापति श्रीमान सुनील क्षेत्री उपस्थित हुनुहुनथ्यो साथै सचिव श्रीमान जन चौहान, प्रचार सचिव श्रीमान सोमराज सोनार, सह सांस्कृतिक सचिव श्रीमान् तृदेव बिष्ट लगायत नेतृत्ववृन्द उपस्थित हुनुहुन्थो । साथै, विशेष अतिथि रूपमा अखिल असम गोर्खा छात्र संघ, उदालगुरी जिल्ला समितिका सभापति श्रीमान् राम छेत्री, मूल–सचिव किशोर सिर्पाली लगायत जिल्ला नेतृत्ववृन्द उपस्थित रहे। हरशिंगा, टंला, डिमाकुची, र पुव–डेफेली आञ्चलिक समितिका प्रतिनिधिहरू पनि कार्यक्रममा सहभागी थिए।
उपस्थित अतिथिहरूको मार्गदर्शन, सांस्कृतिक टोलीहरूले प्रस्तुत गरेका मनमोहक नृत्य, र स्वागत समितिको सुचारु व्यवस्थापनका कारण कार्यक्रम अत्यन्तै भव्य र सफल भएको थियो। बामुनजुलि क्षेत्रका सम्पूर्ण गोर्खा जनताको सक्रिय सहयोगले यस अनुष्ठानको सफलता सुनिश्चित गर्यो। बामुनजुली आञ्चलिक समितिले विशेष रूपमा कार्यक्रमको सञ्चालन र व्यवस्थापनमा योगदान पुर्याउने सबै सदस्यहरू एवं स्वागतकारिणी समितिलाई धन्यवाद ज्ञापन गर्नुका साथ साथै उपस्थित अतिथिहरू र १ नं. सामराङ वासी जनता प्रति आभार व्यक्त गर्यो, जसले कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न योगदान पुर्याए।
समापन सत्रमा सभापति र मूल–सचिवद्वारा आगामी दिनहरूमा पनि यस प्रकारका सांस्कृतिक र शैक्षिक कार्यक्रम निरन्तर सञ्चालन गर्न प्रोत्साहन दिइयो। कार्यक्रमले जातीय हित, शिक्षा, र संस्कृतिको प्रवर्द्धनमा गोर्खा समुदायको साझा प्रतिबद्धता दर्शाएको छ। दुई दिवसीय यस कार्यक्रमको सफलता बामुनजुलि आञ्चलिक समिति, १ नं. सामराङ शाखा, र सम्पूर्ण समुदायको सक्रिय सहयोग बिना सम्भव थिएन। यस कार्यक्रमले स्थानीय गोर्खा जनतामा एकता, चेतना, र सांस्कृतिक पहिचानको महत्वलाई उजागर गरेको छ।
✒ प्रेरक पदम राउत-सचिव, बामुनजुली आञ्चलिक समिति (आग्सु)
