
गुवाहाटी, ३ नोभेम्बर २०२५ — अखिल असम गोर्खा छात्र संघ (AAGSU) ले गोर्खा महाजातिको अस्तित्व, अधिकार, पहिचान तथा स्वाभिमानसँग सम्बन्धित प्रमुख मुद्दाहरूमा व्यापक विचार–विमर्श गर्ने उद्देश्यले ‘जातीय मुद्दा मथन’ शीर्षकमा एक महत्वपूर्ण कार्यक्रम आयोजना गर्न गईरहेको छ।
यो विशेष गोष्ठी आगामी ०८ नोभेम्बर २०२५ (शनिबार) का दिन बिहान १०:०० बजेदेखि साँझ ६:०० बजेसम्म गुवाहाटीस्थित पी.डब्ल्यू.डी. कनभेन्सन हल, दिसपुर लास्ट गेटमा सम्पन्न हुनेछ। कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ र यसले सम्पूर्ण असमका गोर्खा समुदायका प्रमुख प्रतिनिधिहरूलाई एकै मञ्चमा ल्याउने अपेक्षा गरिएको छ।
संघका केन्द्रीय पदाधिकारीहरूको अनुसार, यस गोष्ठीमा गोर्खा महाजातिसँग सम्बन्धित विभिन्न संगठनहरू, जातीय तथा उप–जातीय संस्था, सामाजिक, साहित्यिक र सांस्कृतिक संघ–संस्था, साथै बुद्धिजीवी, विद्यार्थी र समाजसेवीहरूको सहभागिता रहनेछ।
कार्यक्रमको मूल उद्देश्य गोर्खा समाजले विगत लामो समयदेखि सामना गर्दै आएका ज्वलन्त मुद्दाहरू — जस्तै अनुसूचित जनजातिकरण (Scheduled Tribe Status), गोर्खा स्वायत्त शासनको स्थापना, सामाजिक–राजनीतिक अधिकारको सुनिश्चितता, शैक्षिक तथा आर्थिक सशक्तिकरण लगायतका विषयहरूमा साझा दृष्टिकोण र ठोस रणनीति निर्माण गर्नु रहेको छ।
अखिल असम गोर्खा छात्र संघ (AAGSU) का सभापति श्री सुनील कुमार छेत्री र मूल–सचिव श्री नुमल छेत्रीले संयुक्त रूपमा जारी गरेको निमन्त्रण पत्रमार्फत गोर्खा समुदायका सबै प्रतिनिधि र सचेत नागरिकहरूलाई उपस्थित भई आफ्नो मूल्यवान् विचार, सुझाव र मत प्रस्तुत गरी कार्यक्रमलाई ऐतिहासिक बनाउने हार्दिक अनुरोध गर्नुभएको छ।
संघले स्पष्ट गरेको छ कि प्रत्येक वक्ताले ३ देखि ५ मिनेटको अवधिभित्र आफ्नो विचार प्रस्तुत गर्न सक्नेछन्, साथै विस्तृत सुझावहरू लिखित रूपमा पनि पेश गर्न सक्ने व्यवस्था गरिएको छ। कार्यक्रमलाई व्यवस्थित र समयबद्ध ढङ्गले सञ्चालन गरिनेछ।
अखिल असम गोर्खा छात्र संघ (AAGSU) का अनुसार, “आजको बदलिँदो राजनीतिक परिदृश्यमा गोर्खा समाजका अधिकार र पहिचानका मुद्दा पुनः केन्द्रमा ल्याउनु समयको माग हो। गोर्खा समुदायको सामाजिक, राजनीतिक र प्रशासनिक अधिकार सुनिश्चित गर्न अब सामूहिक आवाज आवश्यक छ।”
संघले यस कार्यक्रमलाई “नीति निर्माण र भविष्य रणनीति तय गर्ने निर्णायक मञ्च”का रूपमा चित्रण गरेको छ। यो गोष्ठी केवल छलफलको सीमामा नबसिकन, गोर्खा समाजका दीर्घकालीन हितका लागि ठोस र व्यावहारिक रणनीति निर्माण गर्ने दिशामा मार्गनिर्देशक बन्ने विश्वास गरिएको छ।
अन्ततः, अखिल असम गोर्खा छात्र संघ (AAGSU) ले सम्पूर्ण गोर्खा समाजका प्रतिनिधिहरू, संगठनहरू तथा सचेत नागरिकहरूलाई यस ऐतिहासिक कार्यक्रममा उपस्थित भई आफ्नो अमूल्य विचार र सहभागिताद्वारा समुदायको उज्ज्वल भविष्यको दिशामा एकजुट हुन हार्दिक आह्वान गरेको छ।