
गहपुर, 09 नोभेम्बर 2025: अखिल असम गोर्खा छात्र संघ (AAGSU) छयदुवार महाविद्यालय इकाईद्वारा आयोजना गरिएको नवप्रवेशी विद्यार्थी स्वागत तथा अभिमुखीकरण कार्यक्रम अत्यन्त उत्साह, जोश र सौहार्दपूर्ण वातावरणबीच भव्यतापूर्वक सम्पन्न भएको छ। कार्यक्रम केवल नयाँ विद्यार्थीहरूलाई स्वागत गर्न केन्द्रित नभई, महाविद्यालय समुदायका सम्पूर्ण विद्यार्थी, शिक्षक तथा सरोकारवालाहरूलाई एकता, अनुशासन, सामाजिक उत्तरदायित्व र नेतृत्व विकासतर्फ प्रेरित गर्ने उद्देश्यका साथ आयोजना गरिएको हो।
कार्यक्रमको सभापतित्व छयदुवार महाविद्यालय इकाइका सभापति उदयादित्य भरालीले गर्दै उद्घाटन मन्तव्यमा विद्यार्थी जीवनसँग सम्बद्ध दायित्व, व्यक्तित्व विकास तथा संघ–संस्थामा सक्रिय रहँदा प्राप्त हुने अनुभवहरूको महत्वलाई विशेषरूपमा जोड दिनुभयो। उहाँले AAGSU जस्तो विद्यार्थी संगठनले युवाहरूलाई सामाजिक योगदान, नेतृत्व कला र संगठनात्मक अनुशासन सिकाउने मूल्यवान् अवसर प्रदान गर्ने बताउनुभयो।
यसै अवसरमा अखिल असम गोर्खा छात्र संघ विश्वनाथ जिल्ला समितिका सभापति सुनिल सुतार प्रमुख अतिथि रूपमा उपस्थित हुनुहुँदा उहाँले संघको ऐतिहासिक पृष्ठभूमि, स्थापना उद्देश्य, सामाजिक योगदान, विद्यार्थी अधिकारको संरक्षणमा संघको भूमिका तथा वर्तमान योजनाहरूको विस्तृत जानकारी दिनुभयो। उहाँको मन्तव्यले विद्यार्थी तथा अतिथिमा गहिरो सकारात्मक प्रभाव पारेको थियो। साथै, जिल्ला उपसभापति सूर्य कार्की, सांगठनिक सचिव कुशल भट्टराई, सांस्कृतिक सचिव संगीता अधिकारी तथा मनिका भारद्वाज, बेगिजान, गमिरि, गहपुर, कारीबिल, राजगढ र बाघमारा आञ्चलिक समितिका प्रतिनिधिहरू, असम गोर्खा सम्मेलन गहपुर जिल्ला समितिका सभापति नुमाल बास्कोटा तथा असम नेपाली साहित्य सभा विश्वनाथ जिल्ला समितिका सभापति लीला तिम्सिना लगायत प्रतिष्ठित व्यक्तित्वहरूको उल्लेखनीय उपस्थितिले कार्यक्रमलाई अझ भव्य र औपचारिक बनायो।
सांस्कृतिक कार्यक्रमहरूले नवप्रवेशीहरूमा उत्साह थप्ने कार्य गरेको थियो। स्वागत गीत, समूह नृत्य, कविता वाचन र भाषणहरूमार्फत विद्यार्थीहरूले आफ्नो प्रतिभा प्रस्तुत गर्दै गोर्खाली सांस्कृतिक पहिचानको झल्को पस्किए। संघमा नयाँ विद्यार्थीहरूको सहभागिता बढाउने उद्देश्यले विभिन्न परिचय सत्र, संवाद कार्यक्रम तथा समूहगत गतिविधिहरू पनि सञ्चालन गरिएको थियो, जसले विद्यार्थीहरूबीच सहकार्य, आत्मविश्वास र नेतृत्व क्षमताको विकासमा मद्दत पुर्यायो।
विशेषगरी समाजसेवा, नेतृत्व क्षमतामा निरन्तर सक्रियता र संघप्रति समर्पित योगदानका उच्च मूल्याङ्कनस्वरूप विश्वनाथ जिल्ला सभापति सुनिल सुतारलाई समारोहकै विशेष क्षणमा सम्मान प्रदान गरिएको थियो। उहाँप्रति गरिएको सम्मानले विद्यार्थी तथा उपस्थित अतिथिमा उत्साह र प्रेरणाको वातावरण सिर्जना गरेको थियो।
कार्यक्रममा सहभागी सबै विद्यार्थी, शिक्षक तथा पदाधिकारीहरूले AAGSU छयदुवार महाविद्यालय इकाईले अघि बढाएको यो पहलले केवल नयाँ विद्यार्थीहरूलाई स्वागत गर्ने मात्र नभई उनीहरूमा समाजप्रतिवद्ध नेतृत्व निर्माण, संगठनात्मक चेतना तथा एकताबद्धता अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
यसरी सम्पन्न भएको नवप्रवेशी विद्यार्थी स्वागत कार्यक्रम ले छयदुवार महाविद्यालयमा शैक्षिक, सामाजिक तथा सांस्कृतिक जागरणलाई सुदृढ बनाउँदै विद्यार्थी संगठनको भोलि दिनका सक्रिय, सक्षम र उत्तरदायी भूमिकालाई सुनिश्चित गर्ने दिशामा महत्वपूर्ण योगदान दिएको छ।
प्रतिवेदन: उदय आदित्य भराली,सभापति- छयदुवार महाविद्यालय इकाइ ( आग्सु)
