मालिनीपुर, 24 नोभेम्बर 2025 : अखिल असम गोर्खा छात्र संघ (AAGSU) मालिनीपुर आञ्चलिक समितिका स्वयंसेवक दस्ता प्रमुख श्री लाक्पा लामा ज्यूको आवासीय घर हिजो 23 नोभेम्बर 2025 का दिन करिब 3 बजे भीषण आगलागीमा परेर पूर्ण रूपमा नष्ट भएको छ। प्रारम्भिक घटनाक्रम अनुसार घरभित्र रहेको ग्यास सिलिण्डरमा अचानक भएको विस्फोटका कारण आगो तीव्र गतिमा फैलिँदा क्षणभरमै सम्पूर्ण घर जलेर नष्ट भएको बताइएको छ। दु:खद रुपमा, आगलागीका कारण घरभित्र रहेको एक पनि सामग्री सुरक्षित राख्न नसकिएको र परिवार पूर्णरूपमा प्रभावित भएको समितिले जनाएको छ।
यो आकस्मिक विपत्को जानकारी प्राप्त भएपछि AAGSU मालिनीपुर आञ्चलिक समितिले तत्कालै आफ्नै क्षेत्रमा रहेका दातृ मनहरूलाई सूचना अवगत गराउँदै QR Code मार्फत सहयोग सङ्कलन अभियान प्रारम्भ गरेको थियो। आगलागीबाट प्रभावित परिवारलाई यथासम्भव चाँडो राहत उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको अभियानमा स्थानीय गोर्खा समुदाय, सामाजिक कार्यकर्ताहरू, युवा स्वयंसेवकहरू र आम नागरिकहरूले अत्यन्त उत्साहजनक रूपमा सहभागिता जनाएका थिए।
समाजका सहयोगी हातहरूको संवेदनशीलता र तात्कालिक सक्रियताका कारण एकै रातभित्र आवश्यक मात्रामा रकम सङ्कलन गर्न समिति सफल भएको छ। आज 24 नोभेम्बर 2025 का दिन सङ्कलित सम्पूर्ण रकम सीधा पीडित श्री लाक्पा लामा ज्यूको हातमा हस्तान्तरण गरिने AAGSU मालिनीपुर आञ्चलिक समितिले जनाएको छ। समितिले यस विपत्को घडीमा मानवीयताको पहिचान प्रस्तुत गर्ने सबै दातृ महानुभावहरू, स्वयंसेवकहरू तथा सहयोगी हातहरूप्रति हार्दिक धन्यवाद प्रकट गरेको छ।
आगलागी जस्तो आकस्मिक घटनाले समुदायमा सचेतना र आपतकालीन तयारीको आवश्यकता फेरि एकपटक आत्मसात् गराएको छ। मालिनीपुर क्षेत्रमा यस घटनाले ठूलो क्षति पुर्याए पनि समाजको एकता, संवेदना र सहयोगको भावनाले संकटमा परेका परिवारलाई ठूलो राहत पुर्याएको छ।
प्रतिवेदन: चन्दन भराली-सभापति, मालिनीपुर आञ्चलिक समिति ( आग्सु)।
