
बान्दरगुरी, नवेम्बर 22 :आज अखिल असम गोर्खा छात्र संघ (AAGSU) बान्दरगुरी आञ्चलिक समितिले मेट्रिक परीक्षा दिने विद्यार्थीहरूका लागि एक महत्वपूर्ण शैक्षिक कार्यशाला तथा सम्मान समारोह बान्दरगुरी उच्च माध्यमिक विद्यालयमा सफलतापूर्वक सम्पन्न गरेको छ। विद्यार्थीहरूको परीक्षा तयारी सुदृढ बनाउने, आत्मविश्वास अभिवृद्धि गर्ने तथा भविष्यप्रति प्रेरित गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा स्थानीय समुदाय, शिक्षक, अभिभावक तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको प्रशंसनीय उपस्थिति रहेको थियो।
कार्यक्रमका प्रमुख अनुप्रेरणामूलक वक्ताका रूपमा उपस्थित हुनुहुन्थ्यो UGHSC का अनुभवी शिक्षक श्री मोहन छेत्री। उहाँले विद्यार्थीहरूलाई लक्ष्य निर्धारण, समय व्यवस्थापन, आत्मअनुशासन, सकारात्मक सोच तथा निरन्तर अभ्यासका माध्यमबाट सफलता हासिल गर्ने उपायबारे प्रेरणादायी अभिभाषण प्रस्तुत गर्नुभयो। उहाँको प्रस्तुतिले उपस्थित विद्यार्थी तथा शिक्षकवृत्तिलाई नयाँ ऊर्जा र उत्साह प्रदान गरेको थियो।
यसै अवसरमा असम सरकारद्वारा घोषणा गरिएको विभिन्न सरकारी सेवामा सफलता प्राप्त गर्ने गंगा छेत्री (Wushu – ADRE), सुभद्रा छेत्री (GT) र मिलन भट्टराई (ADRE) ज्यूहरूलाई AAGSU बान्दरगुरी आञ्चलिक समितिको तर्फबाट विशेष सम्मान तथा शुभकामना प्रदान गरियो। उहाँहरूको समर्पण, मेहनत र उपलब्धिले सम्पूर्ण गोर्खा समुदायलाई गौरवान्वित बनाएको उल्लेख गर्दै समितिले आगामी सेवायात्रा अझ सफल र उज्ज्वल होस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्यो।
विद्यार्थीहरूको भविष्य निर्माण, समाजसेवा र जिम्मेवारीबोधबारे प्रष्ट मार्गदर्शन प्रदान गर्न जिल्ला तथा स्थानीय नेताहरूले समेत महत्वपूर्ण अभिभाषण राख्नुभयो। सहसचिव हेमराज छेत्री, सांगठनिक सचिव पवन गोर्खा खनाल, सञ्जीव दाहाल, कार्यकारिणी सदस्य विकास भट्टराई, विद्यालय प्रबन्ध समिति अध्यक्ष गोविन्द डेका, विषय शिक्षक किशोर प्रधान, गाउँप्रधान, प्राक्तन छात्रकर्मी पुष्पा थापा, समाजसेवक कर्ण न्यौपाने छेत्री लगायत वक्ताहरूले अध्ययनप्रति समर्पण, लक्ष्यप्रतिको दृढता तथा समाजप्रतिको उत्तरदायित्वबारे महत्वपूर्ण सुझाव प्रस्तुत गर्नुभयो।
कार्यक्रममा असम नेपाली साहित्य सभा केन्द्रीय समितिका सचिव राम उपाध्याय ज्यू, उदालगुरी जिल्ला समितिका मूल–सचिव दिपेन्द्र उपाध्याय सर, असम गोर्खा सम्मेलन बान्दरगुरी शाखाका मूल–सचिव इन्द्र तिम्सिना ज्यू, विद्यालयका सम्पूर्ण शिक्षक–शिक्षिका, प्राक्तन छात्रकर्मी, समाजसेवी तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिताले कार्यक्रमलाई अत्यन्त सफल बनायो। समितिले सबै उपस्थितिप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै यस्ता शैक्षिक कार्यक्रमहरू निरन्तर रूपमा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्यो।
प्रतिवेदन: कालिदास छेत्री- शिक्षा सचिव, बान्दरगुरी आञ्चलिक समिति ( आग्सु)।
