
डुमडुमा, ३ डिसेम्बरः डुमडुमा साहित्य सभा भवनमा आज अखिल असम गोर्खा छात्र संघ (आग्सु) डुमडुमा आञ्चलिक समितिको कार्यकारिणी सभा उत्साहपूर्ण र सक्रिय वातावरणमा सम्पन्न भयो। संगठनलाई आगामी दिनमा अझ मजबुत बनाउने उद्देश्यले आयोजित सभा सहभागीहरूका उत्साह, प्रतिबद्धता र जिम्मेवारीबोधका आधारमा विशेषरूपमा सफल मानिएको छ।
सभाको अध्यक्षता आञ्चलिक समितिका सभापति राहुल शर्माले गरेका थिए। उनले वर्तमान समयमा संगठनको भूमिकालाई अझ प्रभावकारी बनाउन सदस्यहरूबीच सहकार्य, अनुशासन र सक्रियतामा जोड दिए। सभाको उद्देश्य र कार्यसूची सम्बन्धी विस्तृत प्रस्तुति भारप्राप्त मूल-सचिव मिलन शर्माले राख्दै विभिन्न महत्त्वपूर्ण विषयमा सुझावसहित अभिमत प्रस्तुत गरे।
कार्यक्रममा AAGSU तिनसुकिया जिल्ला समितिका सांगठनिक सचिव जतन प्रधान विशेष उपस्थितिका रूपमा सहभागी भए। साथै आञ्चलिक समितिका मुख्य उपदेष्ठा मोहन छेत्री, उपदेष्ठा खेम छेत्री, पूर्व तथा वर्तमान पदाधिकारी, सदस्यहरू, युवा कार्यकर्ताहरू लगायतको उल्लेख्य उपस्थिति रह्यो। सहभागीहरूको व्यापक सहभागिताले संगठनप्रतिको प्रतिबद्धता र जिम्मेवारीलाई स्पष्ट रुपमा प्रस्तुत गरेको थियो।
सभाको दौरान डुमडुमा आञ्चलिक समितिमा सक्रिय रहेका तथा हालै सरकारी सेवामा उत्तीर्ण भएका युवाहरूलाई सम्मान तथा बधाई दिइयो। यस अवसरमा सम्मानित सदस्यहरूको उपलब्धि गोर्खा समाजका युवापुस्ताका लागि प्रेरणादायी भएको बताइयो। संगठनले युवाहरूको लगनशीलता, परिश्रम र सफलताले समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्यो।
कार्यक्रममा आगामी स्वर्ण जयंती वर्षलाई भव्य, सफल र ऐतिहासिक बनाउन आवश्यक योजनाहरूमा पनि गम्भीर छलफल भयो। शिक्षा उन्नयन, सामाजिक उत्तरदायित्व, संगठन विस्तार, युवाहरूलाई नेतृत्व विकासमा सहभागी गराउने, र समुदाय–हितमा कार्यक्रमहरू सञ्चालन गर्ने विषयमा सहभागीले आफ्ना धारणा राखे। सबै पक्षबाट प्राप्त सुझाव र योजनाले डुमडुमा आञ्चलिक समितिको आगामी कार्ययोजनालाई अझ प्रगतिशील बनाउने सर्वसम्मत विश्वास व्यक्त गरियो।
सकारात्मक वातावरणमा सम्पन्न भएको कार्यकारिणी सभाले संगठनको भविष्य, कार्यदिशा र सामुदायिक सेवाप्रतिको समर्पणलाई पुनः पुष्टि गरेको छ। सहभागीहरूको सक्रियता र सामूहिक भावनाबाट डुमडुमा आञ्चलिक समितिले आगामी दिनमा अझ प्रभावकारी काम गर्दै युवाहरूलाई सही मार्गदर्शन र समाजलाई आवश्यक योगदान दिने स्पष्ट संकेत प्रदान गरेको छ।
प्रतिवेदन: मिलन अधिकारी-सभापति,माकुम आञ्चलिक समिति ( आग्सु)।