All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #7
December 4, 2025

सिलासूतीमा पूर्व आग्सु/आन्सु कर्मीलाई सम्मान: नवगठित आंचलिक समितिको घर–घर पुगेको प्रेरणादायी पहल

📅 December 4, 2025
✍️ AAGSU
🕒 12:06 AM

सिलासूती, डिसेम्बर 2025: सन् 2025 को नवगठित सिलासूती आञ्चलिक समिति आफ्नै कार्यक्षेत्रका लागि सक्रियतापूर्वक अघि बढ्न थालेको छ। समितिले आञ्चलिक क्षेत्रभित्र समाजसेवा, संगठनशीलता र गोर्खा समुदायको हक–अधिकारका लागि जीवनका मूल्यवान् समय समर्पित गरेका पूर्व आग्सु तथा आन्सु कर्मीहरूको योगदानलाई सम्मानित गर्दै घर–घर पुगेर सम्बोधन तथा कृतज्ञता प्रकट गर्ने एउटा भावनात्मक, सामाजिक र संगठनात्मक रूपमा उल्लेखनीय कार्यक्रम सम्पन्न गरेको छ।

सिलासूती आंचलिक समितिको नेतृत्वमा यस अभियानले आञ्चलिक क्षेत्रभित्रका सम्पूर्ण गोर्खा समाजका सदस्यहरूलाई जोड्ने, समृद्ध बनाउने तथा पिँढीदर–पिँढी संगठनप्रतिको विश्वासलाई अझ सबल बनाउने उद्देश्य बोकेको छ। समितिका पदाधिकारी तथा स्वयंसेवकहरूको टोली सम्बन्धना, संवाद र सहयोगको भावना बोकेर प्रत्येक पूर्व संगठनकर्मीको निवासमा पुगेको थियो।

उहाँहरूको घर–आँगनमै पुगेर सम्मान तथा कृतज्ञताको शब्द व्यक्त गर्नु, हातमा सियानू उपहार प्रदान गर्नु र उहाँहरूका जीवनयात्रा एवं संगठनमा पुर्‍याएको योगदानका बारे छोटो संवाद गर्नु—यी सबैले यस कार्यक्रमलाई विशेष बनायो।

यस अवसरमा समितिले विगतमा आग्सु तथा आन्सु मार्फत समाजका लागि कार्य गरेका निम्न व्यक्तित्वहरूलाई सम्मान प्रकट गर्‍यो—
श्रीमान केबी क्षेत्री , राजेन क्षेत्री , भईरब घले, दिलीप क्षेत्री , रंजीत खनाल , कामेश्वर राणा , सागर राई , राजेन उपाध्याय , दीपक क्षेत्री , बिक्रम क्षेत्री , हरि बहादुर लिम्बु , किशोर तमांग , दुर्गा लिम्बु , कुल बहादुर क्षेत्री र तारानिधि शर्मा ।

उहाँहरूलाई अर्पण गरिएको सम्मान मात्र एक औपचारिकता होइन, आगामी पुस्तालाई प्रेरित गर्ने, संगठनभित्र दिगो सम्बन्ध निर्माण गर्ने र कार्यकर्ताबीच आपसी एकता एवं विश्वासलाई बलियो बनाउने सन्देश बोकेको कदम हो।

हाँसो, सम्झना, अनुभव र संघर्षका कथाहरू– यी सबै कुराले वातावरणलाई भावुक मात्र बनायो नभई संगठनप्रतिको आत्मीयता कतिको गहिरो रहेछ भन्ने पनि प्रस्ट पार्‍यो। पूर्व कर्मीहरूले पनि आंचलिक समितिको यस्तो कदमको खुलेर प्रशंसा गर्दै निरन्तर सचेत, सक्रिय र संगठनशील भएर काम गर्न नयाँ टोलीलाई सुझाव तथा शुभकामना व्यक्त गरे।

कार्यक्रमका क्रममा समितिले आगामी दिनमा आंचलिक क्षेत्रअन्तर्गत गोर्खा समाजका सबै वर्गलाई समेटेर समन्वय, सहयोग र सशक्तिकरणमा जोड दिने प्रतिबद्धता व्यक्त गर्‍यो। नयाँ पुस्तालाई संगठनप्रति आकर्षित गर्ने, सामाजिक मुद्दामा सशक्त आवाज उठाउने, तथा सबैको हितमा निस्वार्थ भावनासहित काम गर्ने सोचले मात्र गोर्खा समाज अझ बलियो बन्ने कुरा सामूहिक रूपमा चर्चा तथा अभिमत राखियो।

सिलासूती आंचलिक समितिको यो घर–घर अभिवादन अभियानले केवल सम्मान मात्र प्रदान गरेन; यसले संगठनभित्रको अनुशासन, एकता, संस्कार र निरन्तर समर्पणको महत्वलाई पनि पुनः जिवन्त बनाइदियो। यो अभियान भविष्यमा आउने सामाजिक, सांस्कृतिक तथा संगठनात्मक गतिविधिहरूका लागि प्रेरणादायी आधार बन्ने अपेक्षा लिइएको छ।

प्रतिवेदन: अरुण खतिवडा- सभापति, सिलासुति आञ्चलिक समिति (आग्सु)।

📤 Share this story
Last Story in Issue →
Scroll to Top