All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #9
December 18, 2025

फाल्कन फेस्टिभलमा गोर्खा छात्र संघको सक्रिय सहभागिता

📅 December 18, 2025
✍️ AAGSU
🕒 12:06 AM

उमराङसु, डिसेम्बर 16: डिमा हसाओ जिल्लाको प्रमुख पर्यटन तथा सांस्कृतिक महोत्सवका रूपमा परिचित फाल्कन फेस्टिभल 12 देखि 14 डिसेम्बरसम्म विविध कार्यक्रमसहित भव्य रूपमा सम्पन्न भएको छ। यस अवसरमा अखिल असम गोर्खा छात्र संघ (आग्सु), डिमा-हासाओ जिला समितिले परम्परागत शैलीमा टाँडे घर निर्माण गरी महोत्सवमा उल्लेखनीय र सक्रिय सहभागिता जनाएको छ। गरामपानी–उमराङ्सु आञ्चलिक समितिको अग्रसरतामा गरिएको यस सहभागिताले गोर्खा समुदायको मौलिक संस्कृति, पहिचान र परम्परालाई प्रभावकारी रूपमा उजागर गरेको देखियो।

महोत्सव स्थलमा निर्माण गरिएको टाँडे घर आग्सुका स्वयंसेवक तथा सदस्यहरूको सामूहिक प्रयासबाट तयार गरिएको थियो। टाँडे घरभित्र गोर्खा समुदायको परम्परागत जीवनशैली झल्किने सामग्री, सांस्कृतिक प्रतीक, हस्तकलाका वस्तु तथा मौलिक सजावट समावेश गरिएको थियो, जसले महोत्सव अवलोकन गर्न आएका आगन्तुकहरूको विशेष ध्यान आकर्षित गरेको थियो। विभिन्न समुदायका मानिसहरूले टाँडे घर अवलोकन गर्दै गोर्खा संस्कृतिप्रति चासो र प्रशंसा व्यक्त गरेका थिए।

फाल्कन फेस्टिभल डिमा हसाओ जिल्लाको संस्कृति, पर्यटन, स्थानीय कला र परम्पराको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिँदै आएको महोत्सव हो। प्राकृतिक सौन्दर्य, सांस्कृतिक प्रस्तुतिहरू, स्थानीय खानपान तथा हस्तकलाका प्रदर्शनीहरूले यो महोत्सवलाई अझ आकर्षक बनाएको थियो। यस्तै महत्वपूर्ण महोत्सवमा आग्सुको सहभागिताले गोर्खा समुदायको पहिचानलाई जिल्लास्तरदेखि बाहिरसम्म चिनाउने अवसर प्रदान गरेको बताइएको छ।

उक्त कार्यक्रममा आग्सु केन्द्रिय समितिका कार्यकारिणी सदस्य दिलीप क्षेत्री, जिल्ला समितिका पूर्व सभापति द्वय बालकृष्ण शर्मा र जीवन शर्मा , वर्तमान सभापति उत्तम घर्ती तथा मूल–सचिव विवेकानन्द जैसी संग संगै आञ्चलिक नेतृत्व मोहन छेत्री, चन्दन शर्मा, प्रकाश शर्मा, गोविंद बहादुर छेत्रीको सक्रिय उपस्थिति रहेको थियो। उनीहरूले आग्सुको तर्फबाट गोर्खा संस्कृति संरक्षण र प्रवर्द्धनप्रति संगठनको निरन्तर प्रतिबद्धता दोहोर्‍याएका थिए।

विशेष उल्लेखनीय कुरा के छ भने, डिमा हसाओ जिल्ला समितिको पहलमा आग्सुले सन् २०१७ देखि निरन्तर रूपमा फाल्कन फेस्टिभलमा यस्तै सांस्कृतिक सहभागिता जनाउँदै आइरहेको छ। यस निरन्तरताले संगठनको सांस्कृतिक चेतना र सामाजिक उत्तरदायित्वलाई स्पष्ट रूपमा प्रतिबिम्बित गरेको छ।

आग्सुको यस प्रयासले सांस्कृतिक सद्भाव, आपसी समझदारी र विभिन्न समुदायबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ।

प्रतिवेदन: बिष्णु बराल-सचिव,डिमा हासाओ जिला समिति (आग्सु)।

📤 Share this story
Last Story in Issue →
Scroll to Top