All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #13
January 15, 2026

ABSU को ९औँ वार्षिक अधिवेशनमा विश्वनाथ जिला समितिको सहभागिता

📅 January 15, 2026
✍️ AAGSU
🕒 12:06 AM

विश्वनाथ, ८ जनवरी २०२६ : निखिल बड़ो छात्र संघ (ABSU) विश्वनाथ जिल्ला समितिको आयोजनामा ९ औँ वार्षिक अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। गोहपुरस्थित दैमालु बोडोफा उपेन्द्रनाथ ब्रह्मा सभागारमा ७ र ८ जनवरीमा दुई दिनसम्म सञ्चालन भएको उक्त अधिवेशनमा विभिन्न रङ्गीन तथा अर्थपूर्ण कार्यक्रमहरू आयोजना गरिएका थिए।
अधिवेशनको खुला सत्र कार्यक्रममा विभिन्न सामाजिक, शैक्षिक तथा छात्र संगठनका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सोही अवसरमा विश्वनाथ जिल्ला गोर्खा छात्र संघका अध्यक्ष श्री सुनिल सुतारलाई ‘Guest of Honour’ को रूपमा विशेष सम्मानसहित आमन्त्रण गरिएको थियो। खुला सत्र ८ जनवरी दिउँसो १२ः३० बजेदेखि प्रारम्भ भएको थियो।
कार्यक्रममा निखिल बड़ो छात्र संघ विश्वनाथ जिल्ला समितिका अध्यक्ष श्री नारायण बसुमतारी तथा मूल–सचिव श्री लेनिन ब्रह्माको नेतृत्वमा विद्यार्थी एकता, सामाजिक समन्वय तथा साझा संघर्षका विषयमा महत्वपूर्ण विचार व्यक्त गरियो। वक्ताहरूले शिक्षा, अधिकार र पहिचानका सवालमा विभिन्न समुदायबीच आपसी समझदारी र सहकार्य अपरिहार्य रहेकोमा जोड दिए।
उक्त अधिवेशनमा निखिल बड़ो छात्र संघसँगै विभिन्न संगठनका प्रतिनिधिहरूको सहभागिताले कार्यक्रमलाई अझ गरिमामय बनाएको थियो। विश्वनाथ जिल्ला गोर्खा छात्र संघको तर्फबाट जिल्ला उपसभापति तरुण उपाध्याय, क्रीड़ा सचिव चिन्मय रिजाललगायत संग्रामी साथीहरू अधिवेशनमा उपस्थित भई कार्यक्रमको शोभा बढाएका थिए। उनीहरूको उपस्थितिलाई आयोजक समितिले आपसी सद्भाव र संगठनात्मक एकताको प्रतीकका रूपमा उल्लेख गरेको छ।
दुई दिनसम्म चलेको अधिवेशनमा संगठनात्मक समीक्षा, भावी कार्यदिशा, सामाजिक उत्तरदायित्व तथा विद्यार्थी हितका मुद्दाहरूमा व्यापक छलफल गरियो। साथै, सांस्कृतिक कार्यक्रममार्फत बड़ो समाजको भाषा, संस्कृति र पहिचानलाई उजागर गर्ने प्रयास गरिएको थियो।
समापन अवसरमा आयोजक समितिले कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याउने सम्पूर्ण अतिथि, प्रतिनिधि तथा सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्ता अधिवेशनमार्फत विद्यार्थी आन्दोलनलाई सशक्त बनाइने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिवेदन: सुनील सुतार- सभापति, बिश्वनाथ जिला समिति (आग्सु)

📤 Share this story
Scroll to Top