
खौराङ, ०१ फेब्रुअरी : अखिल असम गोर्खा छात्र संघको खौराङ आञ्चलिक समितिको आयोजनामा भव्य प्रीतिभोज तथा नवीन र पूर्व छात्रकर्मीहरूको पुनर्मिलन कार्यक्रम खौराङमा सफलतापूर्वक सम्पन्न भएको छ। संगठनलाई थप सुदृढ र गतिशील बनाउने उद्देश्यसहित आयोजना गरिएको यस कार्यक्रममा आग्सुका शुभचिन्तक, सल्लाहकार, पूर्व छात्रकर्मी तथा वर्तमान पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
स्थानीय स्तरमा संगठनप्रति समर्पित व्यक्तित्वहरूलाई एउटै थलोमा एकत्रित गर्दै आयोजना गरिएको उक्त कार्यक्रमले आग्सु खौराङ आञ्चलिक समितिभित्र आपसी सद्भाव, भाइचारा र सहकार्यको भावनालाई अझ बलियो बनाएको सहभागीहरूको भनाइ रहेको छ। कार्यक्रममार्फत अग्रज र अनुज पुस्ताबीच अनुभवको आदान–प्रदान हुँदै संगठनात्मक निरन्तरताको सशक्त सन्देश प्रवाह भएको देखिएको थियो।
प्रीतिभोजको अवसरमा आञ्चलिक समितिका सल्लाहकारहरू तथा संगठनका पूर्व छात्रकर्मीहरूको सक्रिय सहभागिताले कार्यक्रमलाई थप अर्थपूर्ण बनाएको थियो। अग्रजहरूले विगतका अनुभव, संघर्ष र उपलब्धिहरू साझा गर्दै नयाँ पुस्ताका कार्यकर्ताहरूलाई संगठनप्रति प्रतिबद्ध रहन प्रेरित गरेका थिए भने नवीन कार्यकर्ताहरूले संगठनलाई नयाँ उचाइमा पुर्याउने संकल्प व्यक्त गरेका थिए।
कार्यक्रमको दौरान भएको अनौपचारिक तर गम्भीर छलफलमा आञ्चलिक क्षेत्रभित्रका विद्यार्थीहरूले भोग्दै आएका विविध समस्या, शैक्षिक चुनौती तथा तिनको समाधानका सम्भावित उपायहरूबारे विचार–विमर्श गरिएको थियो। साथै संगठनको जरा बलियो बनाउँदै कसरी थप सक्रिय, संगठित र प्रभावकारी बनाउने भन्ने विषयमा सहभागीहरूबीच व्यापक मन्थन भएको थियो।
आग्सुका शुभचिन्तकहरूले संगठनलाई बाह्य सहयोग र मार्गदर्शनमार्फत कसरी थप सशक्त बनाउन सकिन्छ भन्ने विषयमा आफ्ना महत्वपूर्ण सुझावहरू प्रस्तुत गरेका थिए। उनीहरूले संगठनको एकता, अनुशासन र निरन्तर सक्रियतालाई नै आग्सुको मुख्य शक्ति भएको उल्लेख गर्दै भविष्यमा पनि यस्तै रचनात्मक कार्यक्रमहरू निरन्तर आयोजना गर्नुपर्ने आवश्यकता औंल्याएका थिए।
कार्यक्रममा “संगठन नै शक्ति हो” भन्ने मूल नारालाई आत्मसाथ गर्दै वर्तमान पदाधिकारी, पूर्व छात्रकर्मी तथा शुभचिन्तकहरूले एकताबद्ध भएर अघि बढ्ने सामूहिक प्रतिबद्धता व्यक्त गरेका थिए। आग्सु खौराङ आञ्चलिक समितिका पदाधिकारीहरूका अनुसार यस्ता कार्यक्रमले कार्यकर्ताहरूमा नयाँ ऊर्जा भरिदिने मात्र होइन, अग्रजहरूको मार्गदर्शनबाट सही दिशा पहिचान गर्न समेत मद्दत पुग्ने गर्दछ।
उक्त कार्यक्रममा आग्सु खौराङ आञ्चलिक समितिका वर्तमान पदाधिकारीहरू, आग्सु बिटिसि क्षेत्रीय समितिका सभापति, जिल्ला समितिका सभापति, मूल–सचिव तथा अन्य पदाधिकारीहरू, पूर्व छात्रकर्मीहरू, क्षेत्रका बुद्धिजीवी तथा सामाजिक मान्यजनहरूको बाक्लो उपस्थिति रहेको थियो।
हार्दिकता र आत्मीय वातावरणमा सम्पन्न भएको यस प्रीतिभोज तथा पुनर्मिलन कार्यक्रमले आग्सु खौराङ आञ्चलिक समितिको संगठनात्मक एकतालाई थप मजबुत बनाउँदै आगामी दिनमा अझ सक्रिय र प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिएको छ।
प्रतिवेदक: नारायण छेत्री- भारप्राप्त मूल-सचिव,खौराङ आञ्चलिक समिति.