All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #16
February 5, 2026

आम्रेङ–कपिली क्षेत्रमा आग्सु केन्द्रीय समितिको संगठनिक भ्रमण, गोर्खा समुदायको माटो समस्या प्राथमिकतामा…….

📅 February 5, 2026
✍️ AAGSU
🕒 12:01 AM

आम्रेङ–कपिली, १ फेव्रुवारी : 6th Schedule छेत्रमा PGR / VGR अन्तर्गत बसोबास गर्ने गोर्खा परिवार हरुको भुमि समस्या लाइ केन्द्र मा राखदै अखिल असम गोर्खा छात्र संघ (आग्सु) केन्द्रीय समितिको एक उच्चस्तरीय टोलीले आम्रेङ–कपिली आञ्चलिक समितिको समन्वय तथा सहकार्यमा पश्चिम कार्बि आङ्लङ जिल्लाका विभिन्न गोर्खा बहुल क्षेत्रहरूको औपचारिक तथा तथ्यगत संगठनिक भ्रमण सम्पन्न गरेको छ। मिति ०१ फेब्रुअरी २०२६, आइतबारका दिन सम्पन्न उक्त भ्रमणलाई स्थानीय गोर्खा समुदायका लागि अत्यन्तै महत्त्वपूर्ण र आशालाग्दो पहलका रूपमा हेरिएको छ।
आग्सु केन्द्रीय समितिका सम्माननीय सभापति श्रीमान् सुनिल कुमार छेत्री ज्यूको नेतृत्वमा रहेको केन्द्रीय टोलीले पश्चिम कार्बि आङ्लङ जिल्लाअन्तर्गत खेरनी नेपाली बस्ती, राजा डुबी तथा बाक्साडोपी गरी तीनवटा प्रमुख क्षेत्रहरूको स्थलगत अवलोकन गरेको थियो। भ्रमणका क्रममा केन्द्रीय टोलीले स्थानीय गोर्खा समुदायसँग प्रत्यक्ष जमघाट तथा संवाद कार्यक्रम सञ्चालन गर्दै उनीहरूले दैनिक जीवनमा भोग्दै आएका समस्या, चुनौती र पीडालाई नजिकबाट बुझ्ने प्रयास गरेको थियो।
संवाद कार्यक्रमका क्रममा स्थानीय बासिन्दाहरूले लामो समयदेखि भोग्दै आएको माटो (भूमि) सम्बन्धी गम्भीर समस्या, सामाजिक असुरक्षा, प्रशासनिक तथा जातीय पहिचानसँग सम्बन्धित संवेदनशील विषयहरू केन्द्रीय नेतृत्वसमक्ष तथ्यगत रूपमा प्रस्तुत गरेका थिए। समुदायका अगुवाहरूले परम्परागत रूपमा पुस्तौँदेखि उपयोग गर्दै आएको जमिनमाथि विभिन्न समुदाय तथा बाह्य पक्षहरूद्वारा हुँदै आएको हस्तक्षेप, अवैध दाबी तथा दबाबका कारण गोर्खा समुदायको अस्तित्व नै जोखिममा परेको गुनासो राखेका थिए।
स्थानीय वक्ताहरूले माटोसम्बन्धी समस्याले केवल जग्गा स्वामित्वको प्रश्न मात्र नभई गोर्खा समुदायको बसोबास, जीविकोपार्जन, सामाजिक स्थायित्व, सांस्कृतिक पहिचान र भविष्यसँग प्रत्यक्ष रूपमा जोडिएको विषय भएको स्पष्ट पारे। जमिनको असुरक्षाका कारण युवाहरू विस्थापनको शिकार बन्न बाध्य भएको, कृषि तथा परम्परागत पेशा प्रभावित भएको तथा सामाजिक असन्तोष बढ्दै गएको अवस्था समेत केन्द्रीय टोलीको ध्यानाकर्षण गराइएको थियो।


उक्त भ्रमणमा आग्सु केन्द्रीय समितिका सभापति सुनिल कुमार छेत्री ज्यूका साथै मूल सचिव नुमल छेत्री, उप–सभापति राजु बजगाई, प्रचार सचिव सोमराज सोनार, साहित्य सचिव दीपक दाहाल, मुखपत्र सचिव कमल ढकाल, क्रीडा सचिव मोहन विश्वकर्मा, सुचना एवं प्रविधि सचिव किरण खर्का, सह–सांस्कृतिक सचिव त्रिदेव बिष्ट तथा केन्द्रीय कार्यकारिणी सदस्य खगेन्द्र थापा सहभागी रहनु भएको थियो। केन्द्रीय टोलीका सदस्यहरूले स्थानीय समुदायसँग खुलेर संवाद गर्दै समस्या समाधानका सम्भावित उपायहरूबारे विचार–विमर्श गरेका थिए।
भ्रमणको क्रममा आग्सु पश्चिम जिल्ला समिति तथा आग्सु आम्रेङ–कपिली आञ्चलिक समितिका पदाधिकारी तथा सदस्यहरूले केन्द्रीय टोलीलाई आवश्यक समन्वय, व्यवस्थापन तथा क्षेत्रीय जानकारी प्रदान गर्दै सक्रिय भूमिका निर्वाह गरेका थिए। स्थानीय समितिहरूको संगठनात्मक सक्रियता, अनुशासन र एकताले केन्द्रीय नेतृत्वलाई थप उत्साहित बनाएको बताइएको छ।
केन्द्रीय समितिको टोलीले उक्त भ्रमणको मुख्य उद्देश्य संस्थागत समन्वयलाई सुदृढ बनाउने, संगठनात्मक गतिविधिहरूको समीक्षा गर्ने, स्थानीय स्तरमा विद्यमान विशेषगरी गोर्खा समुदायले भोगिरहेको माटो (भूमि) सम्बन्धी समस्याको प्रत्यक्ष अध्ययन गर्ने तथा त्यसको दीर्घकालीन र स्थायी समाधानका लागि रणनीतिक कार्ययोजना तय गर्नु रहेको स्पष्ट पारेको थियो। सभापति सुनिल कुमार छेत्री ज्यूले गोर्खा समुदायको माटो समस्या कुनै एक क्षेत्रको मात्र नभई सम्पूर्ण असमभरिका गोर्खाहरूको साझा र गम्भीर मुद्दा भएको उल्लेख गर्दै यस विषयलाई संगठनको प्राथमिक एजेन्डाका रूपमा अघि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभयो।
यस भ्रमणमार्फत आम्रेङ–कपिली आञ्चलिक समिति केन्द्रीय समितिको नीति, निर्देशन तथा मापदण्डअनुसार निरन्तर रूपमा क्रियाशील रहेको तथ्य पुनः पुष्टि भएको छ।
आग्सु केन्द्रीय समितिले गोर्खा समुदायले भोग्दै आएको माटोसम्बन्धी समस्यालाई गम्भीरतापूर्वक लिँदै आगामी दिनहरूमा सम्बन्धित प्रशासनिक निकाय, स्वायत्त परिषद् तथा सरोकारवाला पक्षहरूसँग आवश्यक पहल, समन्वय र दबाबमूलक रणनीति अपनाइने जनाएको छ। आम्रेङ–कपिली क्षेत्रको यो भ्रमणले स्थानीय गोर्खा समुदायमा नयाँ आशा, भरोसा र संगठनप्रतिको विश्वास थप बलियो बनाएको देखिएको छ।

प्रतिवेदक: रोशन शर्मा- सभापति, आम्रेङ कपिलि आञ्चलिक समितिह (आग्सु)।

📤 Share this story
← First Story in Issue
Scroll to Top