All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #16
February 5, 2026

मिसिङ युब महोत्सव २०२६ को जनगोष्ठीय सम्मेलनमा आग्सु केन्द्रीय तथा जिल्ला नेतृत्वको सहभागिता

📅 February 5, 2026
✍️ AAGSU
🕒 12:04 AM

धेमाजी, २९ जनवरी २०२६ः धेमाजी जिल्लाको कारेङ सापोरीमा आयोजना गरिएको मिसिङ युब महोत्सव २०२६ अन्तर्गत सम्पन्न जनगोष्ठीय सम्मेलनको खुल्ला सभामा अखिल असम गोर्खा छात्र संघ (आग्सु) का केन्द्रीय तथा जिल्ला नेतृत्वले सक्रिय सहभागिता जनाएका छन्। उक्त कार्यक्रममा आग्सु केन्द्रीय समितिका मूल–सचिव श्रीमान नुमल छेत्री क्रीडा सचिव मोहन विश्वकर्मा को उपस्थितिसँगै धेमाजी जिल्ला समितिका सभापति सोमराज सोनार र मूल–सचिव दिलिप खनालले पनि सहभागिता जनाउँदै कार्यक्रमको गरिमा बढाएका थिए।
टाकाम मिसिङ पोरीन केबाङ (TMPK) को आयोजनामा २६ जनवरीदेखि ३० जनवरी २०२६ सम्म सञ्चालन भएको १०औँ मिसिङ युब महोत्सवको मुख्य उद्देश्य मिसिङ समुदायको समृद्ध सांस्कृतिक पहिचानको संरक्षण, प्रवर्द्धन तथा युवाहरूबीच एकता र राष्ट्रिय एकीकरणको भावना सुदृढ गर्नु रहेको आयोजकले जनाएका छन्। जनगोष्ठीय सम्मेलनको खुल्ला सभामा विभिन्न समुदायका प्रतिनिधि, सामाजिक अगुवा, युवा नेतृत्व तथा आम नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।


खुल्ला सभालाई सम्बोधन गर्दै वक्ताहरूले असमको बहुजातीय र बहुसांस्कृतिक पहिचानलाई अझ सुदृढ बनाउने दिशामा यस्ता महोत्सवहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको धारणा व्यक्त गरे। आग्सुका प्रतिनिधिहरूले पनि युवाहरूलाई शिक्षा, सामाजिक चेतना र आपसी सद्भावमार्फत अगाडि बढ्न आह्वान गर्दै, विभिन्न जाति–जनजातिबीच आपसी सम्मान र सहकार्य आवश्यक रहेको बताए।
कार्यक्रमको विशेष पक्षका रूपमा भारत सरकारका केन्द्रीय गृह मन्त्री माननीय श्री अमित शाहज्यूको प्रमुख अतिथिका रूपमा उपस्थितिले महोत्सवलाई अझ ऐतिहासिक र महत्वपूर्ण बनाएको थियो। उहाँको उपस्थितिले युवाहरूमा थप उत्साह र प्रेरणा प्रदान गरेको सहभागीहरूको भनाइ थियो।
जनगोष्ठीय सम्मेलन शान्तिपूर्ण र उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको थियो। आयोजक संस्था टाकाम मिसिङ पोरीन केबाङ (TMPK) ले कार्यक्रममा सहभागी सबै अतिथि, प्रतिनिधि तथा दर्शकहरूप्रति आभार व्यक्त गर्दै, भविष्यमा पनि यस्ता कार्यक्रममार्फत सांस्कृतिक एकता र सामाजिक सद्भावलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

📤 Share this story
Scroll to Top