
सादिया,४ फेब्रुवारी : सदियाको मात्र होइन, सम्पूर्ण भारतकै गौरवका रूपमा उभिन सफल विवेकानन्द केन्द्र विद्यालय, सादियाकी नवौँ कक्षाकी मेधावी छात्रा तथा एनसीसी (NCC) क्याडेट दिव्या खतिवडा गणतन्त्र दिवस शिविर (Republic Day Camp–RDC) २०२६ मा ऐतिहासिक सफलता हासिल गरी सादियामा आगमन गरेकी छिन्। यस गौरवपूर्ण उपलब्धिको अवसरमा आज अखिल असम गोर्खा छात्र संघ (आग्सु), पश्चिम–सादिया अञ्चलिक समितिका पदाधिकारी तथा सदस्यहरू दिव्या खतिवडा को गृहमा उपस्थित भई भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न गरेका छन्।
आरडीसी २०२६ जस्तो राष्ट्रिय स्तरको प्रतिष्ठित शिविरमा सहभागी भई उत्कृष्ट प्रदर्शन गर्नु केवल व्यक्तिगत उपलब्धि मात्र नभई सादिया क्षेत्र, असम राज्य तथा सम्पूर्ण गोर्खा समुदायका लागि गर्वको विषय भएको कार्यक्रममा सहभागी वक्ताहरूले उल्लेख गरेका थिए। अनुशासन, कठोर मेहनत, आत्मविश्वास र राष्ट्रप्रतिको समर्पणका कारण दिव्याले प्राप्त गरेको यो सफलता आजका विद्यार्थीहरूका लागि प्रेरणाको स्रोत बनेको आग्सु पश्चिम–सादिया अञ्चलिक समितिले जनाएको छ।
सम्मान कार्यक्रमका क्रममा आग्सुका प्रतिनिधिहरूले दिव्या खतिवडा लाई फूलगुच्छा तथा सम्मानस्वरूप शुभकामना पत्र प्रदान गर्दै राष्ट्रिय स्तरमा हासिल गरेको उपलब्धिले सादियाको नाम देशव्यापी रूपमा उज्यालो बनाएकोमा हार्दिक बधाई ज्ञापन गरेका थिए। साथै, आगामी दिनहरूमा अझ उच्च लक्ष्य हासिल गर्दै राष्ट्रसेवा, शिक्षा र अनुशासनको मार्गमा निरन्तर अघि बढ्न शुभेच्छा व्यक्त गरिएको थियो।
कार्यक्रममा दिव्याको पारिवारिक योगदानको पनि खुलेर प्रशंसा गरिएको थियो। सीमित स्रोत–साधनका बाबजुद पनि छोरीको सपना साकार पार्न परिवारले दिएको सहयोग, हौसला र मार्गदर्शनले नै आज यो ऐतिहासिक सफलता सम्भव भएको भन्दै आग्सुले दिव्याका अभिभावकप्रति कृतज्ञता व्यक्त गरेको थियो। विवेकानन्द केन्द्र विद्यालय, सादियाले दिएको शैक्षिक वातावरण र एनसीसी प्रशिक्षणले पनि दिव्याको व्यक्तित्व निर्माणमा महत्वपूर्ण भूमिका खेलेको बताइएको थियो।
दिव्या खतिवडा ले यस अवसरमा आफूलाई सम्मान प्रदान गरेकोमा अखिल असम गोर्खा छात्र संघ (आग्सु), पश्चिम–सादिया अञ्चलिक समितिप्रति आभार व्यक्त गर्दै आगामी दिनमा अझ कडा परिश्रम गरेर देश र समाजका लागि योगदान दिने प्रतिबद्धता व्यक्त गरेकी थिइन्। उनले आफूले प्राप्त गरेको सफलता सम्पूर्ण सादिया र असमका युवायुवतीहरूको प्रेरणाबाट सम्भव भएको बताउँदै सबैको सहयोग र आशिर्वाद निरन्तर रहने अपेक्षा व्यक्त गरिन्।
यस सम्मान कार्यक्रममार्फत आग्सुले शिक्षा, अनुशासन र राष्ट्रसेवाको महत्वलाई पुनः एकपटक समाजसामु उजागर गरेको छ। दिव्या खतिवडा को सफलताले आज सादियाका विद्यार्थीहरूमा नयाँ ऊर्जा र आत्मविश्वास थपिएको भन्दै उपस्थित सबैले उनको उज्ज्वल भविष्यको कामना गरेका छन्।
प्रतिवेदक: बिबेक कार्कि-मूल सचिव ,पच्छिम सदिया आञ्चलिक समिति ।