All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #17
February 12, 2026

गोर्खा समुदायमाथि अपमानजनक टिप्पणीविरुद्ध तिनसुकियामा आग्सुको प्रतिमूर्ति दाह र कडा चेतावनी

📅 February 12, 2026
✍️ AAGSU
🕒 12:02 AM

तिनसुकिया, ७ फेब्रुअरी २०२६: असम प्रदेशका मूखपात्र सेइज़उद्दिन अहमदले गोर्खा जनगोष्ठीमाथि अपमानजनक शब्द प्रयोग गरेको विरोधमा अखिल असम गोर्खा छात्र संघ (आग्सु) तिनसुकिया जिल्ला समितिले शुक्रबार तिनसुकिया सहरको थाना चाराली क्षेत्रमा प्रतिमूर्ति दाह गर्दै कडा विरोध प्रदर्शन गरेको छ। उक्त विरोध कार्यक्रममार्फत आग्सु तिनसुकिया जिल्ला समितिले गोर्खा समुदायको स्वाभिमानमाथि गरिएको आक्रमण सह्य नहुने स्पष्ट सन्देश दिएको छ।
आग्सु तिनसुकिया जिल्ला समितिका अनुसार, सेइज़उद्दिन अहमदजस्ता जिम्मेवार पदमा रहेका व्यक्तिबाट आएको यस्तो अभिव्यक्तिले सम्पूर्ण गोर्खा समुदायको भावना आहत बनाएको छ। त्यसैले उनको अभिव्यक्तिप्रति घोर आपत्ति जनाउँदै सार्वजनिक रूपमा प्रतिमूर्ति दाह गरिएको हो। प्रदर्शनका क्रममा आग्सु नेताहरू तथा कार्यकर्ताहरूले सेइज़उद्दिन अहमदलाई कांग्रेस पार्टीको प्राथमिक सदस्यताबाट तत्काल बहिस्कार गर्नुपर्ने माग गरे। साथै, उनले गोर्खा जातीसँग सार्वजनिक रूपमा बिना शर्त माफी माग्नुपर्ने दाबी समेत जोडदार रूपमा उठाइयो।
उक्त प्रतिमूर्ति दाह कार्यसूचीमा आग्सु तिनसुकिया जिल्ला समितिका सभापति आशोक कुमार लामा, मूल–सचिव शेखर गुरुङ लगायत जिल्ला समितिका पदाधिकारी तथा कर्मकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। साथै, केन्द्र समितिका सांस्कृतिक सचिव राकेश लामा, विभिन्न आञ्चलिक समितिका प्रतिनिधिहरू, तिनसुकिया जिल्ला गोर्खा नारी परिषद तथा आञ्चलिक नारी परिषदका प्रतिनिधिहरूको सक्रिय सहभागिताले कार्यक्रमलाई थप सशक्त बनाएको थियो। उपस्थित वक्ताहरूले गोर्खा समुदायको इतिहास, योगदान र सम्मानबारे चर्चा गर्दै कुनै पनि अपमानजनक टिप्पणीविरुद्ध एकजुट भएर लड्ने प्रतिबद्धता व्यक्त गरे।


यसै सन्दर्भमा, असम प्रदेशका मूखपात्र सेइज़उद्दिन अहमदद्वारा गरिएको अपमानजनक टिप्पणीका विषयमा आग्सु केन्द्र समितिले पनि गम्भीर चासो व्यक्त गरेको छ। आग्सु केन्द्र समिति का मूल–सचिव श्रीमान नुमल छेत्री ज्यूको उपस्थितिमा तिनसुकियाको एरोमा होटलमा एक संवादमेल आयोजना गरिएको थियो। उक्त संवादमेलमा घटनाको पृष्ठभूमि, गोर्खा समुदायमा परेको प्रभाव र आगामी रणनीतिबारे विस्तृत छलफल गरिएको बताइएको छ।
संवादमेलमा सहभागीहरूले सेइज़उद्दिन अहमदको अभिव्यक्तिले सामाजिक सद्भावमा नकारात्मक असर पार्ने भन्दै यस्ता गैरजिम्मेवार टिप्पणी दोहोरिन नदिन सम्बन्धित निकायले कडा कदम चाल्नुपर्ने धारणा राखे। आग्सुले लोकतान्त्रिक मूल्य, आपसी सम्मान र सामाजिक समरसतामा विश्वास राख्दै गोर्खा समुदायको आत्मसम्मानमाथि कुनै पनि प्रकारको आघात सहन नसकिने स्पष्ट पारेको छ।
आग्सु तिनसुकिया जिल्ला समिति तथा केन्द्र समितिले संयुक्त रूपमा चेतावनी दिँदै भनेका छन् कि यदि सेइज़उद्दिन अहमदले आफ्नो अभिव्यक्तिप्रति सार्वजनिक रूपमा माफी नमागे र राजनीतिक रूपमा कारबाही अगाडि नबढाइए आगामी दिनमा अझ व्यापक जनआन्दोलनको बाटो लिइनेछ।

प्रतिवेदक: जतन प्रधान-सांगठनिक सचिव (IT Incharge), तिनसुकिया जिला समिति।

📤 Share this story
Scroll to Top