
उदालगुडी, ११ फेब्रुअरी: अखिल असम गोर्खा छात्र संघ (आग्सु) उदालगुडी आञ्चलिक समितिले आगामी HSLC तथा HS परीक्षामा सहभागी हुने सम्पूर्ण परीक्षार्थीहरूलाई हार्दिक अभिनन्दन तथा शुभकामना व्यक्त गरेको छ। परीक्षाको पूर्वसन्ध्यामा समितिका पदाधिकारी तथा सदस्यहरूले संयुक्त रूपमा एक शुभकामना सन्देश जारी गर्दै विद्यार्थीहरूलाई आत्मविश्वासका साथ परीक्षा दिन आह्वान गरेका हुन्।
आग्सु उदालगुडी आञ्चलिक समितिका उपसभापति पंकज खतिवडाले जारी गरेको सन्देशमा परीक्षार्थीहरूको उज्ज्वल भविष्यको कामना व्यक्त गर्दै आत्मविश्वास, धैर्यता र निरन्तर मेहनत नै सफलताको मूल आधार रहेको उल्लेख गर्नुभयो। उहाँले विद्यार्थीहरूले अहिलेसम्म गरेको कठोर परिश्रम, समर्पण र लगनशीलताले अवश्य पनि सकारात्मक परिणाम ल्याउने विश्वास व्यक्त गर्नुभयो।
सन्देशमा परीक्षाको समयमा मन शान्त राख्न, आत्मबल उच्च बनाइ प्रश्नहरूको सामना गर्न तथा समयको सदुपयोग गर्न आग्रह गरिएको छ। “परीक्षा जीवनको एउटा महत्वपूर्ण चरण मात्र हो, अन्तिम गन्तव्य होइन,” भन्दै आग्सुले विद्यार्थीहरूलाई अनावश्यक दबाबबाट टाढा रही सकारात्मक सोचका साथ अगाडि बढ्न प्रेरित गरेको छ।
समितिले अभिभावकहरूलाई पनि यस संवेदनशील समयमा आफ्ना छोराछोरीलाई मानसिक तथा भावनात्मक साथ दिन अनुरोध गरेको छ। घर–परिवारको सहयोग र प्रोत्साहनले विद्यार्थीहरूको मनोबल बढ्ने भएकाले पारिवारिक वातावरण शान्त र अध्ययनमैत्री बनाउन आग्रह गरिएको छ।
आग्सुले प्रत्येक परीक्षार्थीको प्रयास सफल होस्, परीक्षा उत्कृष्ट रूपमा सम्पन्न होस् तथा भविष्य उज्ज्वल, सशक्त र लक्ष्यपूर्ण बनोस् भन्ने हार्दिक कामना व्यक्त गरेको छ। साथै, सम्पूर्ण विद्यार्थीहरूलाई अनुशासन, सकारात्मक सोच र दृढ संकल्पका साथ परीक्षा दिन आग्रह गर्दै सफलता प्राप्त गरेपछि समाज र राष्ट्र निर्माणमा योगदान दिन प्रेरित गरिएको छ।
उदालगुडी क्षेत्रमा गोर्खा विद्यार्थीहरूको शैक्षिक उन्नतिका लागि आग्सुले निरन्तर रूपमा प्रेरणादायी तथा सहयोगात्मक कार्यक्रमहरू सञ्चालन गर्दै आएको उल्लेख गर्दै समितिले आगामी दिनहरूमा पनि विद्यार्थी हितमा यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
प्रतिवेदक: पंकज खतिवडा- उप सभापति, उदालगुडी आञ्चलिक समिति।