All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #17
February 12, 2026

जोनाइमा गोर्खा स्वाभिमानको गर्जन, साइजुद्दिन अहमदको पुत्ला दहन र कडा चेतावनी

📅 February 12, 2026
✍️ AAGSU
🕒 12:03 AM

जोनाइ, 10 फेब्रुअरी : जोनाइ सहर मंगलबार गोर्खा समुदायको सशक्त उपस्थितिले गुन्जायमान बनेको छ। अखिल असम गोर्खा छात्र संघको पहल तथा जोनाइबासी गोर्खा समाजको सक्रिय सहयोगमा आयोजित विशाल विरोध जुलुसमा करिब 300 भन्दा बढी गोर्खा समुदायका मानिसहरूको उल्लेखनीय सहभागिता रहेको थियो। गोर्खा समुदायप्रति गरिएको कथित आपत्तिजनक टिप्पणीको कडा प्रतिवादस्वरूप निकालिएको उक्त जुलुसले सहरको वातावरण केही समय आन्दोलनमय बनाएको थियो।
लखी नेपालीस्थित गोर्खा भवनबाट सुरु भएको जुलुस अनुशासित रूपमा अघि बढ्दै जोनाइ सदरको मुख्य सडक परिक्रमा गरेको थियो। प्रदर्शनकारीहरूले हातमा विभिन्न नारासहितका प्लेकार्ड र ब्यानर बोकेका थिए। “साइजुद्दिन अहमद हाय-हाय”, “गोर्खा समाजको अपमान सह्य हुँदैन”, “अपमानकर्तामाथि कडा कानुनी कारबाही गर”, “कांग्रेस होसियार” जस्ता नाराहरूले सहरको मुख्य बजार क्षेत्र गुन्जायमान बनेको थियो। प्रदर्शनकारीहरूको आवाजमा आक्रोश मात्र होइन, समुदायको आत्मसम्मान जोगाउने दृढ प्रतिबद्धता स्पष्ट देखिन्थ्यो।
जुलुसको अन्तिम चरणमा साइजुद्दिन अहमदको पुत्ला दहन गरिएको थियो। पुत्ला दहन कार्यक्रम शान्तिपूर्ण तर दृढ सन्देशसहित सम्पन्न भएको आयोजकहरूले बताएका छन्। सुरक्षाको दृष्टिले स्थानीय प्रशासनसमेत सतर्क अवस्थामा रहेको थियो, यद्यपि कार्यक्रमभरि कुनै अप्रिय घटना भने भएको छैन।
उल्लेखनीय छ कि केही दिनअघि असमका एक प्रमुख टेलिभिजन च्यानलको टक शो कार्यक्रममा साइजुद्दिन अहमदले गोर्खा समुदायसँग सम्बन्धित एक राजनीतिक व्यक्तिलाई लक्षित गर्दै दिएको अभिव्यक्तिलाई लिएर राज्यव्यापी असन्तोष उत्पन्न भएको छ। उक्त टिप्पणीलाई गोर्खा समुदायको सामूहिक स्वाभिमानमाथिको आघातका रूपमा व्याख्या गर्दै असमका विभिन्न जिल्ला तथा स्थानमा गोर्खा संगठनहरूले निरन्तर विरोध कार्यक्रम गर्दै आएका छन्। जोनाइको आजको कार्यक्रम पनि सोही आन्दोलनको निरन्तरता मानिएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै आयोजक पक्षका नेताहरूले स्पष्ट रूपमा भने कि गोर्खा समुदाय कुनै पनि प्रकारको अपमान सहन तयार छैन। उनीहरूले साइजुद्दिन अहमदलाई कांग्रेसको प्राथमिक सदस्यताबाट स्थायी रूपमा निष्कासन गर्नुपर्ने माग दोहोर्‍याए। साथै उनीविरुद्ध कानुनी रूपमा उदाहरणीय सजाय हुनुपर्ने बताउँदै, यदि यस विषयमा ढिलाइ गरिए आन्दोलन अझ सशक्त र व्यापक बनाइने चेतावनीसमेत दिए।
आन्दोलनकारीहरूले असम प्रदेश कांग्रेस कमिटीप्रति लक्षित गर्दै कडा सन्देश दिएका छन्। यदि सम्बन्धित व्यक्तिमाथि शीघ्र र कडा कारबाही नगरिएमा आगामी असम विधानसभा निर्वाचनमा गोर्खा बहुल क्षेत्रहरूमा कांग्रेस पार्टीलाई प्रचार–प्रसार गर्न नदिइने चेतावनी सार्वजनिक रूपमा व्यक्त गरिएको छ। यस घोषणाले राजनीतिक वृत्तमा समेत चासोको विषय बनेको छ।
जोनाइमा सम्पन्न यो विरोध जुलुसले गोर्खा समुदायको एकता र सामूहिक आवाजलाई पुनः एकपटक सशक्त रूपमा उजागर गरेको छ। समुदायले आफ्नो पहिचान, प्रतिष्ठा र स्वाभिमानको रक्षाका लागि आवश्यक परे थप चरणबद्ध आन्दोलन अघि बढाउने संकेत दिएको छ। आजको प्रदर्शनले स्पष्ट सन्देश दिएको छ—गोर्खा समाजको सम्मानमाथि आघात पुर्‍याउने कुनै पनि गतिविधि वा अभिव्यक्ति सह्य हुने छैन।

प्रतिवेदक: सोमराज पुरी- सभापति, धेमाजी जिल्ला समिति।

📤 Share this story
Scroll to Top