
आज अखिल असम गोर्खा छात्र संघ, वि.टि.आर. क्षेत्रीय समितिद्वारा आयोजना गरिएको Special Merit Examination 2026 मा आञ्चलिक अन्तर्गत उत्कृष्ट स्थान हासिल गर्न सफल भएका Top 3 विद्यार्थीहरूलाई सुनगाभा आञ्चलिक समितिको विशेष पहल तथा आयोजनामा शान्तिपुर र गोरुभासा शाखा क्षेत्रमा भव्य तथा गरिमामय रूपमा अभिनन्दन कार्यक्रम सम्पन्न गरिएको छ।
उक्त परीक्षामा आञ्चलिक अन्तर्गत प्रथम स्थान हासिल गर्न सफल शान्तिपुर शाखाका श्री वशित थापा मगर, द्वितीय स्थान प्राप्त गर्ने शान्तिपुर शाखाका श्री ओमकार पञ्चकोटी तथा तृतीय स्थान हासिल गर्ने गोरुभासा शाखाका श्री वरुण उपाध्यायलाई आञ्चलिक तथा शाखा समितिका प्रतिनिधिहरूको टोलीद्वारा उहाँहरूको निवासमै पुगेर खादा, प्रशंसा-पत्र तथा शुभकामनासहित औपचारिक रूपमा अभिनन्दन गरिएको हो।
अभिनन्दनका क्रममा उपस्थित नेतृत्वज्यूहरूले विद्यार्थीहरूको यो उपलब्धि केवल व्यक्तिगत सफलता मात्र नभई सम्पूर्ण समाज, आञ्चलिक र संगठनको गौरवको विषय भएको उल्लेख गर्नुभयो। साथै, आगामी दिनहरूमा पनि यस्तै निरन्तर मेहनत, अनुशासन र लगनशीलताका साथ अघि बढ्दै समाज र राष्ट्रको नाम उज्ज्वल बनाउन प्रेरणा प्रदान गर्नुभयो।
कार्यक्रममा शाखा, आञ्चलिक, जिल्ला तथा क्षेत्रीय समितिका नेतृत्वज्यूहरूको गरिमामय उपस्थिति रहेको थियो। उहाँहरूको उपस्थिति र उत्साहजनक मन्तव्यले कार्यक्रमलाई अझ अर्थपूर्ण, प्रेरणादायी र स्मरणीय बनाएको थियो।
यस प्रकारको सम्मान कार्यक्रमले विद्यार्थीहरूमा अध्ययनप्रति थप रुचि, आत्मविश्वास तथा सकारात्मक ऊर्जा प्रदान गर्नुका साथै अन्य विद्यार्थीहरूलाई समेत उत्कृष्टता हासिल गर्न प्रेरित गर्ने विश्वास लिइएको छ। साथै, संगठनले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखी यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै लैजाने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।
सुनगाभा आञ्चलिक समितिको यो पहल प्रशंसनीय रहेको छ र यसले संगठनप्रति समुदायको विश्वासलाई अझ मजबुत बनाएको छ।
प्रतिवेदक: नबिन थापा- सभापति, सुनगाभा आञ्चलिक समिति।