All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #18
February 19, 2026

राजगड़मा परीक्षार्थीहरूलाई आग्सुको घरदैलो शुभकामना अभियान सम्पन्न

📅 February 19, 2026
✍️ AAGSU
🕒 12:06 AM

राजगड़, ९ फेब्रुअरी: अखिल असम गोर्खा छात्र संघ, राजगड़ आञ्चलिक समितिले आगामी २०२६ सालको उच्च तथा उच्चतर माध्यमिक परीक्षा दिने विद्यार्थीहरूलाई लक्षित गर्दै उनीहरूको वासगृहमा पुगेर शुभकामना तथा हौसला प्रदान गर्ने विशेष कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।

राजगड़ आञ्चलिक समिति विगतदेखि नै शिक्षाको क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ। शैक्षिक सचेतना अभिवृद्धि, विद्यार्थीहरूमा आत्मबल विकास तथा सकारात्मक अध्ययन वातावरण निर्माण गर्ने उद्देश्यले विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको समितिले यस वर्ष पनि आफ्नो परम्परालाई निरन्तरता दिएको हो।

यसै अभियानअन्तर्गत प्रत्येक वर्षझैँ यस पटक पनि उच्च तथा उच्चतर माध्यमिक परीक्षा दिने विद्यार्थीहरूको घरदैलोमै पुगेर उनीहरूको अध्ययन अवस्थाबारे जानकारी लिँदै हौसला, प्रेरणा र आत्मविश्वास प्रदान गरिएको थियो। कार्यक्रमको मुख्य उद्देश्य परीक्षार्थीहरूमा आत्मविश्वास वृद्धि गर्नु, अध्ययनप्रति सकारात्मक सोच सुदृढ बनाउनु तथा समाज र संगठन सधैं उनीहरूको साथमा रहेको अनुभूति दिलाउनु रहेको जनाइएको छ।

२०२६ को परीक्षा दिने विद्यार्थीहरूलाई शुभकामना तथा मनोबल प्रदान गर्न राजगड़ आञ्चलिक समितिका प्रतिनिधिहरूले ८ र ९ फेब्रुअरीका दिन राजगड़ आञ्चलिक अन्तर्गत २ नं आनन्दपुर, मइनापुर, देउनाबारि, मरिकाठनि, पश्चिम मरिकाठनि, राजगड़ लखिपुर, सत्रङ नेपाली कुरूवाबस्ती, खेरगेट लगायतका विभिन्न गाउँ–भेकका परीक्षार्थीहरूको घरमा पुगेर शुभकामना व्यक्त गरेका थिए। उक्त अवसरमा प्रत्येक विद्यार्थीलाई एक-एक वटा कलम प्रदान गर्दै “मेहनत, अनुशासन र आत्मविश्वास नै सफलताको मूल मन्त्र हो” भन्ने सन्देश समेत दिइएको थियो।

विद्यार्थी तथा अभिभावकहरूले संगठनको यस पहलप्रति आभार व्यक्त गर्दै यसले परीक्षार्थीहरूमा नयाँ ऊर्जा र सकारात्मक सोच प्रदान गरेको बताएका छन्। विशेषगरी घरमै पुगेर गरिएको शुभकामनाले विद्यार्थीहरूलाई सम्मानित र प्रोत्साहित भएको अनुभूति गराएको प्रतिक्रिया प्राप्त भएको छ।

अखिल असम गोर्खा छात्र संघ राजगड़ आञ्चलिक समितिको यो घरदैलो अभियानले विद्यार्थीहरूमा आत्मविश्वास बढाउनुका साथै समग्र समाजमा शिक्षाप्रति सकारात्मक सन्देश प्रवाह गरेको विश्वास व्यक्त गरिएको छ। आगामी दिनहरूमा पनि यस्ता शैक्षिक तथा सामाजिक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता समितिले जनाएको छ।

प्रतिवेदक: प्रदीप उपाध्याय-मुल सचिव, राजगड़ आञ्चलिक समिति ।

📤 Share this story
Scroll to Top