
तिनसुकिया, १८ फेब्रुअरी २०२६ : आग्सु तीनसुकिया जिल्ला समितिको बर्धित कार्यकारिणी बैठक आज श्री श्री नेपाली विष्णु मन्दिर प्राङ्गण, डिगबोईमा सफलतापूर्वक सम्पन्न भएको छ। जिल्ला समितिका पदाधिकारी तथा सदस्यहरूको उल्लेखनीय उपस्थितिमा सम्पन्न उक्त बैठकमा संगठनको भावी कार्यदिशा, संगठन सुदृढीकरण तथा आगामी जिल्ला अधिवेशन सम्बन्धी विस्तृत र गहन छलफल गरिएको थियो।
बैठकको प्रारम्भ संगठनको उद्देश्य र वर्तमान परिस्थितिको समीक्षा गर्दै गरिएको थियो। उपस्थित पदाधिकारीहरूले जिल्लाभर संगठनलाई अझ सशक्त, गतिशील र प्रभावकारी बनाउने विषयमा आ–आफ्नो धारणा राखेका थिए। विशेषगरी आगामी अधिवेशनलाई ऐतिहासिक र परिणाममुखी बनाउन प्रारम्भिक तयारी तत्काल सुरु गर्नुपर्नेमा सबैको जोड रहेको थियो।
छलफल पश्चात् सभा मार्फत आउँदो २१ र २२ मार्च २०२६ मा धौला सैखोवा आञ्चलिक समिति अन्तर्गत धौलामा आग्सु तीनसुकिया जिल्ला समितिको जिल्ला अधिवेशन धुमधामका साथ आयोजना गर्ने सर्वसम्मत निर्णय गरिएको छ। अधिवेशनमार्फत नयाँ कार्यसमिति गठन, सांगठनिक प्रतिवेदन प्रस्तुतिकरण तथा आगामी कार्ययोजनामाथि नीतिगत निर्णय लिइने जानकारी बैठकले दिएको छ।
बैठकले जिल्ला अन्तर्गत रहेका सम्पूर्ण गोर्खाली सामाजिक तथा सांस्कृतिक संस्था, बुद्धिजीवी, युवा प्रतिनिधि तथा सचेतन नागरिकहरूको सहभागितालाई सुनिश्चित गर्न व्यापक पहल गर्ने निर्णय समेत गरेको छ। अधिवेशनलाई सर्वसमावेशी र ऐतिहासिक बनाउन एक दर्बिलो अभ्यर्थना समिति गठन गरिने र त्यस समितिमा समाजका विभिन्न क्षेत्रका प्रतिनिधिहरूलाई समेटिने बताइएको छ। यसका लागि प्रारम्भिक गृहकार्य तत्काल सुरु गरिने जनाइएको छ।
उपस्थित पदाधिकारी तथा सदस्यहरूले अधिवेशन सफल बनाउन आवश्यक आर्थिक व्यवस्थापन, प्रचार–प्रसार, आवास तथा यातायात व्यवस्थापन, स्वयंसेवक परिचालन लगायतका विषयमा महत्वपूर्ण सुझाव प्रस्तुत गरेका थिए। कतिपय सदस्यहरूले अधिवेशनलाई केवल औपचारिक कार्यक्रमको रूपमा सीमित नराखी गोर्खा समुदायको अधिकार, पहिचान र शैक्षिक सशक्तीकरणको मुद्दालाई प्राथमिकताका साथ उठाउनुपर्ने धारणा राखेका थिए।
बैठकमा संगठनको आन्तरिक एकता, अनुशासन र सक्रियता अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरिएको थियो। सहभागीहरूले जिल्ला अधिवेशनलाई सफल बनाउन सबै तहका कार्यकर्ता र शुभेच्छुकहरूलाई सक्रिय रूपमा परिचालित गर्ने संकल्प समेत व्यक्त गरेका छन्।
आगामी मार्चमा आयोजना हुने जिल्ला अधिवेशनले तीनसुकियामा गोर्खा विद्यार्थी आन्दोलनलाई नयाँ ऊर्जा र स्पष्ट दिशा दिने विश्वास व्यक्त गर्दै बैठक समापन गरिएको थियो।
प्रतिवेदक: जतन प्रधान- सांगठनिक सचिव (IT Incharge),तिनसुकिया जिल्ला समिति।