
कारिबिल, २५ फेब्रुअरी: अखिल असम गोर्खा छात्र संघ (आग्सु) विश्वनाथ जिल्ला समितिको आयोजना तथा कारिबिल आञ्चलिक समितिको सहयोगमा गत १ फेब्रुअरीदेखि सञ्चालित नकआउट क्रिकेट प्रतियोगिता अब निर्णायक मोडमा पुगेको छ। युवाहरूमा खेलकुदप्रति आकर्षण बढाउने र अनुशासन एवं एकताको भावना सुदृढ गर्ने उद्देश्यले कारिबिल उच्चतर माध्यमिक विद्यालयको खेल मैदानमा सुरु गरिएको यस प्रतियोगिताले स्थानीय क्षेत्रमा उत्साहको वातावरण सिर्जना गरेको छ।
प्रतियोगिताको समुद्घाटन कार्यक्रममा झण्डाउत्तोलन, शहीद तर्पण र बत्ती प्रज्वलन गरिएको थियो। विश्वनाथ जिल्ला समितिका सभापति सुनिल सुतार र कारिबिल उच्चतर माध्यमिक विद्यालयका प्राक्तन शिक्षक बासुदेव नेपालले झण्डाउत्तोलन गरी कार्यक्रमको विधिवत सुरुवात गर्नुभएको थियो। सो अवसरमा उपस्थित अतिथिहरूले युवाहरूको सर्वांगीण विकास र सामाजिक सद्भाव अभिवृद्धिमा खेलकुदले पुर्याउने योगदानबारे आ-आफ्नो मन्तव्य राख्नुभएको थियो।
जम्मा १६ वटा बलिया क्रिकेट टोलीहरूको सहभागिता रहेको यस प्रतियोगितालाई सफल बनाउन जिल्ला खेलकुद सचिव चिन्मय रिजाल र राहुल शर्माले महत्वपूर्ण भूमिका निर्वाह गरिरहनुभएको छ। खेल तालिका व्यवस्थापनदेखि नियमको पालनासम्म उहाँहरूको सक्रियता प्रशंसनीय रहेको आयोजकले जनाएको छ। हालसम्मका सबै खेलहरू निकै प्रतिस्पर्धात्मक रूपमा सम्पन्न भइसकेका छन्।
जारी उच्च तथा उच्चतर माध्यमिक परीक्षालाई मध्यनजर राख्दै प्रतियोगिताको फाइनल खेल आगामी २८ फेब्रुअरीमा आयोजना गरिने भएको छ। उपाधिका लागि Nilima Builders र KK 11 बीच कडा प्रतिस्पर्धा हुने तय भएको छ। फाइनल खेललाई लिएर खेलप्रेमीहरूमा विशेष उत्साह देखिएको छ भने आयोजक पक्षले भव्य र व्यवस्थित ढंगले समापन कार्यक्रम सम्पन्न गर्ने तयारी अन्तिम चरणमा पुर्याएको जानकारी दिएको छ।
प्रतिवेदक: विवेक उप्रेती- मूल सचिव, करिबील आञ्चलिक समिति।