
विश्वनाथ, २८ फेब्रुअरी—अखिल असम गोर्खा छात्र संघ (आग्सु), विश्वनाथ जिल्ला समितिको पहलमा तथा कारिबिल क्षेत्रीय समितिको हार्दिक सहयोगमा कारिबिल उच्चतर माध्यमिक विद्यालयको खेलमैदानमा गत १ फेब्रुअरी २०२६ देखि सञ्चालनमा रहेको “मारुति बल” क्रिकेट प्रतियोगिता आज फाइनल खेलसँगै भव्यताका साथ सम्पन्न भएको छ। करिब एक महिनासम्म चलेको यस प्रतियोगिताले स्थानीय खेलप्रेमी, युवा तथा सर्वसाधारणलाई एउटै मञ्चमा उभ्याउँदै खेलकुदमार्फत सामाजिक एकताको सन्देश प्रवाह गरेको आयोजक पक्षले जनाएको छ।
प्रतियोगिता केवल खेलमा सीमित नरही युवा समाजलाई एकत्रित गर्ने, उनीहरूको प्रतिभा प्रस्फुटन गर्ने तथा स्वस्थ प्रतिस्पर्धाको भावना अभिवृद्धि गर्ने महत्वपूर्ण अवसरका रूपमा स्थापित भएको थियो। प्रत्येक खेलमा खेलाडीहरूको अनुशासन, उत्साह र समर्पण झल्किएको देखिन्थ्यो भने दर्शकहरूको उल्लेखनीय उपस्थितिले कार्यक्रमलाई थप ऊर्जावान बनाएको थियो।
आज सम्पन्न फाइनल खेल अत्यन्तै रोमाञ्चक र प्रतिस्पर्धात्मक रह्यो। KK Eleven र Niliam Builders बीचको उपाधि भिडन्तमा दुवै टोलीले उत्कृष्ट प्रदर्शन गरे पनि अन्ततः KK Eleven टोलीले २ विकेटको अन्तरले Niliam Builders लाई पराजित गर्दै च्याम्पियन बन्न सफल भयो। खेलको अन्तिम क्षणसम्म दर्शकहरूको ध्यान मैदानमै केन्द्रित रह्यो र जितसँगै KK Eleven टोलीका खेलाडीहरूमा उत्साहको लहर छायो।
विजयी टोलीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्दै आग्सु, विश्वनाथ जिल्ला समितिका सभापति श्रीमान् सुनील सुतारले खेलकुदले समाजमा सकारात्मक ऊर्जा र नेतृत्व क्षमता विकास गर्ने बताउनुभयो। उपसभापति श्रीमान् तरुण पोडेलले यस्ता प्रतियोगिताले युवाहरूलाई गलत मार्गबाट टाढा राखी रचनात्मक गतिविधितर्फ उन्मुख गराउने धारणा व्यक्त गर्नुभयो। शिक्षा संपादक श्रीमान् नुमल भट्टराईले खेल र शिक्षालाई सँगसँगै अघि बढाउनुपर्ने आवश्यकता औंल्याउनुभयो भने भार–प्राप्त मूल सचिव श्रीमान् नवदीप छेत्रीले कार्यक्रमको सफलतामा सबैको सामूहिक प्रयास महत्वपूर्ण रहेको बताउनुभयो।
त्यसैगरी जिल्ला समितिका खेलकुद सचिव श्रीमान् चिन्मय रिजाल र श्रीमान् राहुल शर्माले प्रतियोगिताको सफल सञ्चालनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो। उहाँहरूले सम्पूर्ण खेलाडी, सहयोगी तथा दर्शकप्रति आभार व्यक्त गर्नुभयो। कारिबिल आञ्चलिक समितिका सभापति, संपादक तथा अन्य पदाधिकारीहरूको उपस्थिति र सहयोगले कार्यक्रमलाई थप सशक्त बनाएको आयोजकले जनाएको छ।
कार्यक्रम सफल बनाउन जिल्ला समितिका खेलकुद सचिव चिन्मय रिजाल र राहुल शर्मा तथा कारिबिल क्षेत्रीय समितिका अध्यक्ष, सचिव र सम्पूर्ण कार्यकर्ताहरूको महत्वपूर्ण योगदान रहेको भन्दै आयोजकले सबैप्रति विशेष धन्यवाद ज्ञापन गरेको छ।
यस प्रकारका खेलकुद कार्यक्रमहरूले समाजमा एकता, अनुशासन, आपसी समझदारी र भ्रातृत्वको भावना मजबुत बनाउने विश्वास व्यक्त गर्दै आयोजक पक्षले आगामी दिनमा पनि यस्ता रचनात्मक गतिविधिहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
सम्पूर्ण खेलाडी, व्यवस्थापक, स्वयंसेवक तथा उपस्थित शुभचिन्तकहरूलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम “जय आई असम” र “जय आगसु”को नारासहित सम्पन्न भएको थियो।
प्रतिवेदक: उमेश शर्मा, प्रचार सचिव(IT Incharge) ,बिश्वनाथ जिला समिति ।