
ओराङ, १ फेब्रुअरी २०२६ — अखिल असम गोर्खा छात्र संघ (आग्सु) उदालगुडी जिल्ला समितिको आधारमा ओराङ आञ्चलिक समितिको १६औँ द्विवार्षिक प्रतिनिधि सभा समुआ गाउँस्थित ओराङ आञ्चलिक गोरखा भवनमा भव्य रूपमा सम्पन्न भएको छ। दुई वर्षे कार्यकाल पूरा गरेका पदाधिकारीहरूको कार्यकाल औपचारिक रूपमा समाप्त भएसँगै संगठनलाई थप सुदृढ, अनुशासित र प्रभावकारी बनाउने उद्देश्यले नयाँ आञ्चलिक कार्यकारिणी समिति गठन गरिएको हो।
प्रतिनिधि सभामा ओराङ आञ्चलिक अन्तर्गत सबै शाखा समिति तथा आञ्चलिक समितिका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सभामा विगत कार्यकालको विस्तृत समीक्षा, वर्तमान चुनौतीहरू तथा आगामी कार्यदिशाबारे गहन छलफल गरिएको थियो। छलफलपछि प्रतिनिधिहरूको सर्वसम्मतिबाट नयाँ कार्यकारिणी समिति चयन गरिएको जनाइएको छ। सभाको सभापतित्व नारायण बास्कोटाले गरेका थिए भने कार्यक्रम सञ्चालन तथा उद्देश्य व्याख्या सौरभ उपाध्यायले गरेका थिए।
अधिवेशनमा जिल्ला समितिको तर्फबाट पर्यवेक्षकका रूपमा उप–सभापति दुर्गा बस्नेत, सचिव नवीन चन्द्र दाहाल, सचिव लाया प्रसाद उपाध्याय, प्रचार सचिव नव शर्मा, वित्त सचिव खगेन गौतम, साहित्य सचिव जीवन ढकाल तथा सांस्कृतिक सचिव एवं नारी संगठनकी सभानेत्री आशा तिमसिनाको उपस्थिति रहेको थियो। साथै जिल्ला समितिको टोलीसमेत कार्यक्रममा सहभागी रहेको थियो।
नवगठित ओराङ आञ्चलिक समितिको सभापतिमा तनुश्री शर्मा चयन भएकी छन्। उप–सभापतिमा विशाल उपाध्याय, दिवस शर्मा र पिंकू बास्कोटा चयन भएका छन्। मूल–सचिवको जिम्मेवारी मोहन खनाललाई दिइएको छ भने सचिवहरूमा खगेन बास्कोटा, सूरज उपाध्याय र करण रेग्मी चयन भएका छन्।
त्यसैगरी सांगठनिक सचिवमा गिरेंद्र रेग्मी र विशाल दाहाल, शिक्षा सचिवमा पवन रेग्मी र चम्पक बजगाईं, प्रचार सचिवमा प्रीतम ढकाल र किरण रेग्मी चयन भएका छन्। सांस्कृतिक सचिवको रूपमा नेहा शर्मा र दीक्षा देवी, कार्यालय सचिवमा आशीष रेग्मी तथा खेलकुद सचिवमा मिलन शर्मा चयन भएका छन्।
नवगठित समितिले विद्यार्थी हकहितलाई प्राथमिकतामा राख्दै शिक्षा क्षेत्रको गुणस्तरीय विकास, खेलकुद तथा सांस्कृतिक गतिविधिको प्रवर्द्धन र सूचना प्रविधिको प्रभावकारी प्रयोगमार्फत संगठनलाई आधुनिक, पारदर्शी र गतिशील बनाउने प्रतिबद्धता व्यक्त गरेको छ। प्रतिनिधि सभाको समापनसँगै नयाँ नेतृत्वप्रति शुभकामना व्यक्त गर्दै संगठनलाई एकताबद्ध रूपमा अघि बढाउने अठोट दोहोर्याइएको छ।
प्रतिवेदक: तनुश्री शर्मा- सभापति,ओराङ आञ्चलिक समिति ।