All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #21
March 12, 2026

आग्सुका सभापति सुनील कुमार छेत्रीले लिए अव्याहति, सञ्जिव चौहान कार्यवाहक सभापति नियुक्त

📅 March 12, 2026
✍️ AAGSU
🕒 12:01 AM

गुवाहाटी, ५ मार्च — अखिल असम गोर्खा छात्र संघ (आग्सु) केन्द्रीय समितिको कर्णधार समिति (Steering Committee) को सभा आज मिति ५ मार्च २०२६ का दिन बेलुकी ५ बजे ह्वाट्सएप भिडियो कलमार्फत सम्पन्न भएको छ। उक्त सभामा संगठनको १८औँ कार्यकारिणी समितिका सभापति श्रीमान् सुनील कुमार छेत्री ज्यूले व्यक्तिगत तथा विशेष कारणवश आफ्नो पदबाट अव्याहति लिन प्रस्तुत गर्नुभएको निवेदनमाथि विस्तृत छलफल गरी कर्णधार समितिले सर्वसम्मतिले उक्त अव्याहति पत्र स्वीकृत गर्ने निर्णय गरेको जानकारी गराइन्छ।

सभामा सहभागी सदस्यहरूले सभापति सुनील कुमार छेत्री ज्यूले आफ्नो कार्यकालमा संगठनको सुदृढीकरण तथा गोर्खा समुदायको हक–अधिकारका सवालमा पुर्‍याउनुभएको योगदानप्रति कृतज्ञता व्यक्त गरेका थिए। साथै उहाँको आगामी यात्राका लागि शुभकामना पनि व्यक्त गरिएको थियो।

यसैबीच संगठनको कार्य निरन्तरता कायम राख्ने उद्देश्यले कर्णधार समितिले अर्को महत्वपूर्ण निर्णय पनि गरेको छ। समितिको सर्वसम्मत निर्णयअनुसार आजकै मितिदेखि लागू हुने गरी केन्द्रीय समितिका उप–सभापति श्रीमान् सञ्जिव चौहान ज्यूलाई कार्यवाहक सभापतिको जिम्मेवारी प्रदान गरिएको जानकारी दिइएको छ।

सञ्जिव चौहान सन् २००५ देखि अखिल असम गोर्खा छात्र संघ (आग्सु) का सक्रिय सदस्यका रूपमा संगठनमा संलग्न रहँदै आउनुभएको छ। सन् २००८ मा उहाँ नाजिरजुली आञ्चलिक समितिका सभापति हुनुभएको थियो भने सन् २००९ देखि २०११ सम्म अविभक्त बक्सा जिल्ला समितिको मूल–सचिवको जिम्मेवारी सम्हाल्नुभएको थियो। त्यसपछि सन् २०११ देखि २०१४ सम्म सोही समितिको सभापतिको रूपमा नेतृत्व प्रदान गर्नुभएको थियो।

सन् २०१४ मा बख्राखुट्टीमा सम्पन्न आग्सुको एकीकरण अधिवेशनबाट उहाँ सह–सचिवमा निर्वाचित हुनुभएको थियो। त्यसपछि सन् २०२१ देखि २०२३ सम्म केन्द्रीय कार्यानिर्वाहक सदस्यका रूपमा संगठनलाई आफ्नो सेवा प्रदान गर्नुभएको थियो। गत २२ देखि २६ डिसेम्बर २०२३ सम्म गुवाहाटीको खानापारामा आयोजित दोस्रो नर्थ–इस्ट गोर्खा फेस्टिभल तथा आग्सुको १८औँ द्विवार्षिक अधिवेशनबाट उहाँ केन्द्रीय समितिको उप–सभापतिमा निर्वाचित हुनुभएको हो।

कर्णधार समितिको निर्णयअनुसार अब कार्यवाहक सभापतिको जिम्मेवारी सम्हाल्दै सञ्जिव चौहानले संगठनको गतिविधि तथा कार्यक्रमहरूलाई निरन्तरता दिने अपेक्षा गरिएको छ। संगठनका कार्यकर्ताहरूका अनुसार आग्सु सधैं गोर्खा समुदायको पहिचान, अधिकार तथा विद्यार्थीहरूको हितका निम्ति सक्रिय रूपमा कार्यरत रहँदै आएको छ र नयाँ नेतृत्वसँगै संगठनलाई अझ सशक्त रूपमा अघि बढाइने विश्वास व्यक्त गरिएको छ।

कर्णधार समितिको उक्त सभामा संगठनका सल्लाहकार विरेन्द्र सुब्बा, उप–सभापतिहरू दिलिप गजुरेल, सञ्जिव चौहान र राजु बजगाईं, मूल–सचिव नुमल छेत्री, सचिव राम कुमार श्रेष्ठ, सांगठनिक सचिवहरू विराज लिम्बू, दुर्गा बस्नेत, दीपक नेवार तथा प्रकाश कोइराला सहभागी हुनु भएको थियो।

📤 Share this story
← First Story in Issue
Scroll to Top