All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #21
March 12, 2026

असम गोर्खा सम्मेलन गोवालपाड़ा जिल्ला समितिको छैठौँ त्रि–वार्षिक अधिवेशनमा आग्सु गोवालपाड़ा जिल्ला समितिको सहभागिता

📅 March 12, 2026
✍️ AAGSU
🕒 12:05 AM

गोवालपाड़ा, २२ फेब्रुअरी २०२६ (आइतबार) — असमेली गोर्खा समाजको ऐतिहासिक तथा महत्वपूर्ण संगठन असम गोर्खा सम्मेलन गोवालपाड़ा जिल्ला समितिको छैठौँ त्रि–वार्षिक अधिवेशन गोवालपाड़ा जिल्लाअन्तर्गत लेला गोर्खा भवन परिसरमा भव्यताका साथ सम्पन्न भएको छ। उक्त अधिवेशनमा विभिन्न सामाजिक, शैक्षिक तथा जातीय संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो भने अखिल असम गोर्खा छात्र संघ (आग्सु) गोवालपाड़ा जिल्ला समितिले पनि सक्रिय सहभागिता जनाएको थियो।

कार्यक्रमको प्रारम्भ साङ्गठनिक अभिवादन, स्वागत मन्तव्य तथा संस्थाको ऐतिहासिक पृष्ठभूमिको स्मरणका साथ गरिएको थियो। अधिवेशनको अवसरमा असम गोर्खा सम्मेलनको स्थापना कालदेखि हालसम्मको योगदानबारे चर्चा गर्दै वक्ताहरूले गोर्खा समुदायको हक, अधिकार र अस्मिताको रक्षाका लागि यस संस्थाले खेलेको महत्वपूर्ण भूमिकालाई स्मरण गरेका थिए। सन् १९४६ मा असममा बसोबास गर्ने नेपालीभाषी गोर्खाहरूको हक अधिकारको संरक्षणका निम्ति स्थापना भएको यस संस्थाले विभिन्न चुनौतीपूर्ण परिस्थितिहरूका बीच पनि निरन्तर रूपमा समाजलाई मार्गदर्शन गर्दै आएको विषयमा सहभागीहरूले प्रकाश पारेका थिए। यस कारण असम गोर्खा सम्मेलनलाई असमेली गोर्खा समुदायको ‘माउ संस्था’ को रूपमा सम्मानपूर्वक स्वीकार गरिएको कुरा पनि वक्ताहरूले उल्लेख गरेका थिए।

उक्त कार्यक्रममा अखिल असम गोर्खा छात्र संघ (आग्सु) गोवालपाड़ा जिल्ला समितिका प्रतिनिधिहरूले पनि आफ्नो सशक्त उपस्थिति जनाउँदै कार्यक्रमप्रति ऐक्यबद्धता व्यक्त गरेका थिए। आग्सुका प्रतिनिधिहरूले गोर्खा समाजको एकता, संगठनात्मक सुदृढता तथा भावी पुस्तालाई सही दिशामा अग्रसर गराउने कार्यमा असम गोर्खा सम्मेलन जस्ता ऐतिहासिक संस्थाहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको धारणा व्यक्त गरेका थिए। साथै, गोर्खा समाजको अस्तित्व, भाषा, संस्कृति तथा अधिकारको संरक्षणका लागि सबै जातीय संगठनहरूबीच समन्वय र सहकार्य अझ सुदृढ बनाउँदै लैजानुपर्ने आवश्यकतामा पनि जोड दिइएको थियो।

अधिवेशनमा सहभागी प्रतिनिधिहरूले समाजको समग्र विकास, शिक्षा विस्तार, सांस्कृतिक संरक्षण तथा युवा पुस्तालाई संगठनात्मक रूपमा सशक्त बनाउने विषयमा पनि महत्वपूर्ण विचारहरू राखेका थिए। कार्यक्रमभरि गोर्खा समाजको एकता, आत्मसम्मान र सामूहिक उत्तरदायित्वलाई केन्द्रमा राखेर विभिन्न विषयमा छलफल तथा विचार आदान–प्रदान गरिएको थियो।

सम्पूर्ण कार्यक्रम सौहार्दपूर्ण तथा उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको थियो। अधिवेशन सफलतापूर्वक सम्पन्न गर्न आयोजक समिति तथा स्वागतकारिणी समितिले उल्लेखनीय भूमिका निर्वाह गरेका थिए। यस अवसरमा गोवालपाड़ा जिल्ला अन्तर्गत विभिन्न क्षेत्रबाट आएका समाजसेवी, बुद्धिजीवी, विद्यार्थी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।

अखिल असम गोर्खा छात्र संघ (आग्सु) गोवालपाड़ा जिल्ला समितिले पनि यस महत्वपूर्ण अधिवेशनमा सहभागी भई असम गोर्खा सम्मेलनप्रति सम्मान व्यक्त गर्दै भविष्यमा पनि गोर्खा समाजको हित, अधिकार तथा साङ्गठनिक सुदृढताका लागि संयुक्त रूपमा सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ। कार्यक्रमको सफल सम्पन्नताप्रति आयोजक पक्षलाई धन्यवाद व्यक्त गर्दै सहभागी प्रतिनिधिहरूले आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमहरूले गोर्खा समाजलाई अझ सुदृढ र संगठित बनाउने विश्वास व्यक्त गरेका थिए।

प्रतिवेदक: बिनोद लम्साल-सभापति, गोवालपारा जिला समिति।

📤 Share this story
Scroll to Top