
तिनसुकिया, ५ अप्रिल २०२६: अखिल असम गोर्खा छात्र संघ (आग्सु) तिनसुकिया जिल्ला समिति अन्तर्गतको लखिपथार अञ्चालिक समितिले स्थानीय बासिन्दाहरूको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै एक बृहत् स्वास्थ्य शिविरको सफलतापूर्वक आयोजना गरेको छ। दुर्गम र सुविधाहरूबाट वञ्चित यस क्षेत्रका जनतालाई गाउँमै स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले यो शिविर सञ्चालन गरिएको हो।
चारैतिरबाट घना जङ्गलले घेरिएको लखिपथार अञ्चलमा गोर्खाली जनमानसको बाक्लो बसोबास रहेको छ। गाउँमा आजसम्म कुनै पनि उच्च वा सुविधायुक्त चिकित्सालय नभएका कारण स्थानीय समाजले सामान्य उपचारका लागि पनि निकै कठिनाइको सामना गर्नुपर्ने बाध्यता रहिआएको छ। बिरामी पर्दा धेरै टाढाको अस्पताल धाउनुपर्ने यस गाउँका जनताको समस्यालाई मनन गर्दै आग्सुले यो पुण्य कार्यको थालनी गरेको हो। शिविरमा स्वास्थ्य परीक्षणका साथै आवश्यक परामर्श प्रदान गरिएको थियो, जसबाट गाउँका धेरै मानिसहरू लाभान्वित भएका छन्।
उक्त स्वास्थ्य शिविर लखिपथार अञ्चालिक समितिका सभापति रोहित छेत्री र भारप्राप्त सचिव मोहन गुरुङको सक्रिय नेतृत्व र व्यवस्थापनमा सम्पन्न भएको थियो। कार्यक्रममा तिनसुकिया जिल्ला समितिको तर्फबाट सांगठनिक सचिव जतन प्रधान, शिक्षा तथा वित्त सचिव खेम छेत्री र सदस्य मिलन छेत्रीको विशेष उपस्थिति रहेको थियो।
यसका साथै, कार्यक्रममा स्थानीय गाउँबुढा इब्लाल शर्मा लगायत गाउँका थुप्रै बुद्धिजीवी, समाजसेवी र सर्वसाधारणको बाक्लो उपस्थिति थियो। गाउँबुढा तथा स्थानीय बुद्धिजीवीहरूले आग्सुको यस कदमको उच्च प्रशंसा गर्दै आगामी दिनमा पनि यस्ता जनमुखी र सामाजिक कार्यहरूले निरन्तरता पाउने आशा व्यक्त गरेका छन्।
यस प्रकारको स्वास्थ्य शिविरले दुर्गम भेगका जनतालाई ठूलो राहत मिलेको छ भने स्थानीय स्तरमा स्वास्थ्य जनचेतना जगाउन पनि महत्त्वपूर्ण भूमिका खेलेको छ।
प्रतिवेदक: जतन प्रधान- सांगठनिक सचिव (IT Incharge), ,तिनसुकिया जिल्ला समिति।