
मरिगाउँ, ५ अप्रिल २०२६ — अखिल असम गोर्खा विद्यार्थी संघ (आग्सु) मरिगाउँ जिल्ला समितिले जिल्लाभरिका गोर्खा समुदायलाई संगठित गर्ने उद्देश्यले नयाँ पहल अघि सारेको छ। समितिले आगामी वैशाख महिनामा “गोर्खाली क्यालेन्डर” प्रकाशन गर्ने योजना सार्वजनिक गरेको हो।
समितिका अनुसार उक्त क्यालेन्डर प्रकाशनको प्रस्ताव यसअघि आग्सु केन्द्रीय समितिको बर्धित कार्यकारिणी बैठकमा प्रस्तुत गरिएको थियो। यस कदमले मरिगाउँ जिल्ला समितिलाई आर्थिक रूपमा मजबुत बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।
यसै सन्दर्भमा, आग्सु मरिगाउँ जिल्ला समितिको कार्यकारिणी सभा आइतबार अमिलिघाटस्थित राधाकृष्ण मन्दिरको प्राङ्गणमा सम्पन्न भएको थियो। सभामा जिल्लासँग सम्बन्धित विभिन्न विषयमा व्यापक छलफल तथा समीक्षा गरिएको थियो।
सभामा सहभागी सदस्यहरूले संगठनलाई अझ सुदृढ र सक्रिय बनाउने विषयमा जोड दिएका थिए। आग्सुले आगामी दिनमा समुदायलाई एकीकृत गर्दै विभिन्न सामाजिक तथा संगठनात्मक कार्यक्रमलाई तीव्रता दिने जनाएको छ।
प्रतिवेदक: आदित्य शर्मा- सुचना एवं प्रविधि सचिव, मरेगाउँ जिल्ला समिति।