
खेरनी, ३ मे २०२६: अखिल असम गोर्खा छात्र संघ (आग्सु) आम्रेङ–कपिली आञ्चलिक समिति अन्तर्गत खेरनी शाखा समितिको पूर्णाङ्गकरण तथा शपथ ग्रहण समारोह आज भव्य रूपमा सम्पन्न भएको छ। सोही अवसरमा हालै घोषणा गरिएको माध्यमिक तथा उच्च माध्यमिक परीक्षामा उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान तथा अभिनन्दन कार्यक्रम समेत आयोजना गरिएको थियो, जसले क्षेत्रभर शैक्षिक उत्साह र प्रेरणाको वातावरण सिर्जना गरेको छ।
कार्यक्रम खेरनी शाखा समितिको आयोजनामा सम्पन्न भएको हो, जहाँ नवगठित समितिलाई औपचारिक रूपमा जिम्मेवारी हस्तान्तरण गर्दै शपथ ग्रहण गराइएको थियो। शाखाका सभापति प्रकाश तामाङ र मूल सचिव बादल सुनारको नेतृत्वमा एक सक्रिय, जिम्मेवार तथा दर्बिलो समिति गठन गरिएको छ। कार्यक्रममा सहभागी अतिथिहरूले नवगठित समितिलाई बधाई दिँदै संगठन सुदृढीकरण र सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्ध रहन आग्रह गरेका थिए।
यसै क्रममा लम्बापत्थर शाखाको नेतृत्वमा पनि माध्यमिक तथा उच्च माध्यमिक परीक्षामा सफल विद्यार्थीहरूलाई सम्मान कार्यक्रम सम्पन्न गरिएको थियो। त्यस्तै, ग्रेटर डिख्लेम शाखाले पनि आफ्नो क्षेत्रमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई सम्मान गर्दै उनीहरूको उपलब्धिको उच्च कदर गरेको छ। विभिन्न शाखाहरूबाट गरिएको यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूलाई थप प्रोत्साहन मिल्नुका साथै समाजमा शिक्षाप्रति सकारात्मक सन्देश प्रवाह भएको बताइएको छ।
उक्त कार्यक्रममा आग्सु केन्द्रीय समितिका कार्यकारिणी सदस्य खगेन्द्र थापा, आग्सु पश्चिम कार्बि आङलङ जिल्ला समितिका सभापति गोपाल भट्टराई, उपसभापति अमित अधिकारी, आम्रेङ–कपिली आञ्चलिक समितिका सभापति रोशन शर्मा, मूल सचिव चन्द्रप्रसाद शर्मा, खेलकुद सचिव कृष्ण थापा, कार्यालय सचिव मेघराज थापा, स्वास्थ्य सचिव धकबहादुर क्षेत्री, समाजसेवक तथा स्थानीय शिक्षक नरबहादुर थापा, अनेसेसका सभापति गणेश क्षेत्री लगायत स्थानीय बुद्धिजीवी, समाजसेवी तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
वक्ताहरूले आफ्नो मन्तव्यमा शिक्षा नै समाज रूपान्तरणको प्रमुख आधार भएको उल्लेख गर्दै विद्यार्थीहरूलाई निरन्तर परिश्रम र अनुशासनका साथ अगाडि बढ्न प्रेरित गरेका थिए। साथै, आग्सुजस्ता संगठनहरूले विद्यार्थी र युवाहरूको हक–हितका लागि निरन्तर काम गरिरहेको उल्लेख गर्दै यस्ता कार्यक्रमहरू अझ सशक्त रूपमा अघि बढाउनुपर्ने धारणा व्यक्त गरिएको थियो।
कार्यक्रमको अन्त्यमा खेरनी शाखाका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई सफल कार्यक्रम सम्पन्न गरेकोमा धन्यवाद ज्ञापन गरिएको थियो। आञ्चलिक सभापति रोशन शर्मा र मूल सचिव चन्द्रप्रसाद शर्माले संयुक्त रूपमा धन्यवाद व्यक्त गर्दै आगामी दिनहरूमा पनि संगठनलाई अझ प्रभावकारी र सक्रिय बनाउने प्रतिबद्धता जनाएका थिए।
प्रतिवेदक: रोशन शर्मा-सभापति,आम्रेङ कपिलि आञ्चलिक समिति।