All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #29
May 7, 2026

वरिष्ठ कलाकार राम राईज्यूको निवासमा आग्सुको बृहत टोली; शीघ्र स्वास्थ्यलाभको कामना

📅 May 7, 2026
✍️ AAGSU
🕒 12:02 AM

निकासी, २ मे २०२६: अखिल असम गोर्खा छात्र संघ (आग्सु) को केन्द्रीय भारप्राप्त सभापति संजीव चौहान तथा मूल सचिव नोमल छेत्रीको नेतृत्वमा केन्द्रीय समिति, बीटीसी क्षेत्रीय समिति, बाक्सा जिल्ला समिति तथा जिल्लाअन्तर्गतका विभिन्न आञ्चलिक समितिका सभापति, मूल–सचिव लगायतका पदाधिकारीहरूको एक बृहत् प्रतिनिधिमण्डल आज निकासी पुगेर गत २८ अप्रिलमा सडक दुर्घटनामा परी घाइते हुनुभएका गोर्खा लोकसंस्कृति तथा कला क्षेत्रका वरिष्ठ कलाकार, संस्कृति साधक एवं गत जनवरी महिनामा “अखिल असम छात्र संघ(AASU)” को केन्द्रीय शिल्पी दिवसमा ‘शिल्पी बटा ’ सम्मान प्राप्त गर्न सफल भएका आदरणीय श्रीमान् राम राईज्यूको निवासमा भेटघाट गरेको छ।

आग्सु टोलीले उहाँको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै शीघ्र स्वास्थ्यलाभको हार्दिक कामना व्यक्त गरेको छ। भेटका क्रममा टोलीले उहाँलाई मानसिक रूपमा हौसला, प्रेरणा र आत्मबल प्रदान गर्दै कठिन घडीमा पनि उहाँ एक्लो नभएको सन्देश दिएको जनाएको छ। परिवारजनसँग समेत आत्मीय संवाद गर्दै उहाँको स्वास्थ्य अवस्था क्रमिक रूपमा सुधारोन्मुख रहेको जानकारी पाउँदा सम्पूर्ण टोलीले सन्तोष व्यक्त गरेको छ।

भेटघाटका क्रममा, बिरामी अवस्थामै पनि कला र संस्कृतिप्रतिको उहाँको अटुट आस्था, समर्पण र जीवटता स्पष्ट रूपमा झल्किएको बताइएको छ। जीवनका कठिनतम क्षणहरूमा समेत आफ्नो सांस्कृतिक पहिचानप्रतिको प्रेम नघटेको देख्दा उपस्थित सबै भावुक बनेका थिए। आग्सु नेतृत्वले उहाँलाई गोर्खा लोकसंस्कृतिको जीवित इतिहासका रूपमा सम्मान व्यक्त गर्दै उहाँको योगदानलाई अमूल्य धरोहरका रूपमा व्याख्या गरेको छ।

केन्द्रीय भारप्राप्त सभापति संजीव चौहानले भावुक हुँदै भन्नुभयो, “उहाँजस्तो साधक केवल कलाकार मात्र होइनन्, हाम्रो पहिचानका संरक्षक हुनुहुन्छ। उहाँको प्रत्येक सासमा हाम्रो संस्कृति बाँचिरहेको छ। यस्तो महान व्यक्तित्वलाई छिट्टै पूर्ण रूपमा स्वस्थ भई पुनः हाम्रो बीचमा उभिएको देख्न पाउनु नै हाम्रो सबैभन्दा ठूलो चाहना हो।”

साथै, प्रतिनिधिमण्डलले एक स्वरमा यो अनुभूति व्यक्त गर्‍यो कि श्री राम राईज्यूजस्तो व्यक्तित्व, जसले सारा असम डुलेर गोर्खा भाषा, कला र संस्कृतिको ज्योति जलाइरहनुभएको छ, त्यस्ता संस्कृति जागरणका अभियन्तासँग आग्सु सधैं दृढताका साथ उभिएको छ। उहाँको जीवनयात्रा केवल व्यक्तिगत साधना नभई सम्पूर्ण समुदायको सांस्कृतिक चेतनाको अभियान भएको उल्लेख गर्दै, यस्तो व्यक्तित्वप्रति साथ, सम्मान र आत्मीयता जनाउनु आफ्नो कर्तव्य भएको आग्सुले स्पष्ट पारेको छ।

अन्त्यमा, आग्सु परिवारले आदरणीय श्री राम राईज्यूप्रति गहिरो सम्मान व्यक्त गर्दै उहाँको शीघ्र तथा पूर्ण स्वास्थ्यलाभको कामना गरेको छ। साथै, उहाँ चाँडै नै पुनः आफ्नो प्रिय कला यात्रामा फर्केर समाजलाई उज्यालो बनाउनुहुनेछ भन्ने दृढ विश्वास व्यक्त गरिएको छ।

प्रतिवेदक: संजय छेत्री-मूल सचिव, टंला आञ्चलिक समिति ।

📤 Share this story
Scroll to Top