
निकाशी, १० मे २०२६ः अखिल असम गोर्खा छात्र संघ (आग्सु) बि.टि.सी. क्षेत्रीय समितिको कार्यकारिणी सभा आइतबार निकाशीस्थित आग्सु कार्यालयमा सफलतापूर्वक सम्पन्न भएको छ। सभामा संगठनको सुदृढीकरण, भावी कार्ययोजना तथा समाजहितसँग सम्बन्धित विभिन्न महत्वपूर्ण एवं गहन विषयहरूमाथि विस्तृत छलफल गरिएको जनाइएको छ।
सभामा संगठनलाई अझ प्रभावकारी, सशक्त तथा जनमुखी बनाउने विषयमा पदाधिकारी तथा सदस्यहरूबीच सकारात्मक विचार-विमर्श भएको थियो। साथै समाज, शिक्षा तथा विद्यार्थीहितका कार्यक्रमहरूलाई आगामी दिनहरूमा थप व्यापक तथा प्रभावकारी रूपमा अघि बढाउने विषयमा समेत महत्वपूर्ण निर्णयहरू गरिएको जानकारी प्राप्त भएको छ।
कार्यकारिणी सभाले समाजका मेधावी छात्र–छात्रा तथा विभिन्न क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरी समाजको गौरव बढाउने व्यक्तित्वहरूलाई सम्मान एवं प्रोत्साहन गर्ने उद्देश्यले आगामी ३१ मइण२०२६ का दिन एक भव्य अभिनन्दन समारोह आयोजना गर्ने निर्णय सर्वसम्मत रूपमा पारित गरेको छ।
उक्त समारोहमा हाईस्कूल शिक्षान्त (HSLC) तथा उच्च माध्यमिक (HS) परीक्षामा ९० प्रतिशत वा सोभन्दा बढी अंक प्राप्त गर्ने विद्यार्थीहरूलाई विशेष रूपमा सम्मान गरिने भएको छ। साथै यस वर्ष विद्यावारिधि (PhD) उपाधि हासिल गर्न सफल महानुभावहरू तथा MBBS डिग्री प्राप्त गरी समाजको गौरव बढाउन सफल भविष्यका चिकित्सकहरूलाई समेत अभिनन्दन गरिने निर्णय गरिएको छ।
सभामा सहभागी पदाधिकारीहरूले अखिल असम गोर्खा छात्र संघ (आग्सु) सधैं जातीय उत्थान, शैक्षिक विकास तथा समाजको उज्ज्वल भविष्य निर्माणका निम्ति प्रतिबद्ध रहँदै आएको उल्लेख गर्दै आगामी दिनहरूमा पनि यस्ता रचनात्मक तथा प्रेरणादायी कार्यक्रमहरूलाई निरन्तरता दिइने विश्वास व्यक्त गरेका छन्।
प्रतिवेदक: कालिदास छेत्री- शिक्षा सचिव, बान्दरगुरी आञ्चलिक समिति ।