All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #30
May 14, 2026

आम्रेङ–कपिली आञ्चलिक समितिद्वारा पुरस्कार वितरण कार्यक्रम तथा चौथो द्विवार्षिक प्रतिनिधि सभा सम्पन्न

📅 May 14, 2026
✍️ AAGSU
🕒 12:06 AM

लम्बापाथार, १० मे २०२६ः अखिल असम गोर्खा छात्र संघ (आग्सु) पश्चिम कार्बी आङलङ जिल्ला समिति अन्तर्गत आम्रेङ–कपिली आञ्चलिक समितिद्वारा आयोजित “PRE-FINAL Examination for HSLC Aspirants (2025–26) पुरस्कार वितरण कार्यक्रम” तथा चौथो द्विवार्षिक प्रतिनिधि सभा आज लम्बापाथारस्थित आग्सु पश्चिम कार्बी आङलङ जिल्ला कार्यालयमा अत्यन्त भव्य तथा सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रमप्रति विद्यार्थी, अभिभावक, समाजसेवी, बुद्धिजीवी, संगठनका पदाधिकारी तथा प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

गत ११ जनवरी २०२६ का दिन अखिल असम गोर्खा छात्र संघ, आम्रेङ–कपिली आञ्चलिक समितिद्वारा उच्च माध्यमिक तहका विद्यार्थीहरूलाई लक्षित गरी “Pre-Final Examination for HSLC Aspirants (2025–26)” सफलतापूर्वक सञ्चालन गरिएको थियो। उक्त परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्दै Top 10 स्थानमा रहन सफल विद्यार्थीहरूलाई आज विशेष रूपमा पुरस्कार, प्रमाणपत्र तथा सम्मान प्रदान गरिएको थियो। कार्यक्रममा विद्यार्थीहरूको कठोर मेहनत, अनुशासन तथा शैक्षिक लगनशीलताको उच्च प्रशंसा गर्दै उनीहरूलाई भविष्यमा अझ उत्कृष्ट उपलब्धि हासिल गर्न प्रेरित गरिएको थियो। उपस्थित वक्ताहरूले यस्ता शैक्षिक कार्यक्रमले विद्यार्थीहरूमा प्रतिस्पर्धात्मक भावना, आत्मविश्वास तथा अध्ययनप्रतिको रुचि अभिवृद्धि गर्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा मुख्य अतिथिको रूपमा अखिल असम गोर्खा छात्र संघ (AAGSU) पश्चिम कार्बी आङलङ जिल्ला समितिका सभापति श्री गोपाल भट्टराईज्यूको गरिमामय उपस्थिति रहेको थियो। उहाँले आफ्नो मन्तव्यमा विद्यार्थीहरू नै समाज र राष्ट्रका भविष्य भएको उल्लेख गर्दै शिक्षालाई प्राथमिकतामा राखी निरन्तर मेहनत गर्न आग्रह गर्नुभयो। उहाँले आग्सुले विगतदेखि नै विद्यार्थीहरूको हितमा निरन्तर कार्य गर्दै आएको बताउँदै आगामी दिनहरूमा पनि शैक्षिक तथा सामाजिक क्षेत्रमा अझ सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

त्यसैगरी कार्यक्रममा आग्सु पश्चिम कार्बी आङलङ जिल्ला समितिका सह–शिक्षा सचिव श्री अजय गुरुङज्यू, वित्त सचिव श्री गोविन अधिकारीज्यू, सदस्य श्री शरण अधिकारीज्यू, अनेसास पश्चिम कार्बी आङलङ जिल्ला सभापति श्री गणेश छेत्री ज्यू तथा सचिव श्री कृष्ण गौतमज्यूको समेत विशेष उपस्थिति रहेको थियो। उपस्थित अतिथिहरूले विद्यार्थीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै शिक्षा नै समाज परिवर्तनको मुख्य आधार भएको धारणा राख्नुभयो।

कार्यक्रमको विशेष आकर्षण आग्सु (त्यो समयको आन्सु) कार्बी आङलङ जिल्ला समितिका प्रतिष्ठापक सभापति तथा वर्तमान Hawaipur Excellence Academy विद्यालयका अध्यक्ष श्री रोहित गहतराजज्यूको प्रेरणादायी उपस्थिति रहेको थियो। उहाँले आफ्नो अनुभव तथा संघर्षका प्रसङ्गहरू साझा गर्दै विद्यार्थीहरूलाई लक्ष्यप्रति दृढ रहन, अनुशासनमा बस्न तथा समाजप्रति जिम्मेवार बन्न प्रेरणा दिनुभयो। उहाँको प्रेरणादायी भनाइले उपस्थित विद्यार्थी तथा अभिभावकहरूलाई विशेष उत्साहित बनाएको थियो।

पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएपछि आम्रेङ–कपिली आञ्चलिक समितिको चौथो द्विवार्षिक अधिवेशन अन्तर्गत प्रतिनिधि सभा पनि सफलतापूर्वक सम्पन्न गरिएको थियो। प्रतिनिधि सभामा संगठनको विगत कार्यकालको समीक्षा, उपलब्धि, चुनौती तथा आगामी योजनाबारे विस्तृत छलफल सम्पन्न भएको थियो। संगठनलाई अझ सशक्त, अनुशासित तथा विद्यार्थीमुखी बनाउने विषयमा प्रतिनिधिहरूले महत्वपूर्ण धारणा राख्नुभएको थियो।

अधिवेशनको मुख्य आकर्षण नयाँ कार्यसमिति गठन प्रक्रिया रहेको थियो। प्रतिनिधि सभाले सर्वसम्मत रूपमा श्री मुकुट शर्माज्यूको नेतृत्वमा नयाँ आञ्चलिक समिति गठन गरेको छ, जहाँ उहाँ सभापति पदमा निर्वाचित हुनुभयो भने श्री सन्तोष कार्कीज्यू मूल सचिव पदमा निर्वाचित हुनुभयो। नवनिर्वाचित नेतृत्वलाई उपस्थित सम्पूर्ण प्रतिनिधि तथा सदस्यहरूले हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो।

नवनिर्वाचित सभापति श्री मुकुट शर्माज्यूले संगठनलाई विद्यार्थीहरूको हक–हितका लागि अझ सक्रिय रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। त्यसैगरी मूल सचिव श्री सन्तोष कार्कीज्यूले संगठनको उद्देश्यलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै समाज तथा विद्यार्थी समुदायको हितमा निरन्तर समर्पित भएर कार्य गर्ने विश्वास दिलाउनुभयो।

सम्पूर्ण कार्यक्रम सौहार्दपूर्ण तथा उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको थियो। कार्यक्रमको अन्त्यमा आयोजक समितिले कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने सम्पूर्ण महानुभाव, अतिथि, अभिभावक तथा सहभागीहरूप्रति हार्दिक आभार प्रकट गरेको थियो।

प्रतिवेदक: चन्द्रप्रसाद शर्मा- उपदेष्टा, आम्रेङ-कपिली आञ्चलिक समिति

📤 Share this story
Scroll to Top