
लखिमपुर, ९ मइ: अखिल असम गोर्खा छात्र संघ (आग्सु) लखिमपुर जिल्ला समितिका मूल सचिव राज पराजुलीकी आदरणीय हजुरआमा स्व. लाल कुमारी पराजुलीको दुःखद निधनप्रति शोक प्रकट गर्न आग्सुको एक प्रतिनिधिमण्डलले उहाँको निवासमा पुगेर श्रद्धाञ्जली अर्पण गरेको छ।
आग्सु केन्द्रीय समितिका प्रचार सचिव लखी शर्माको नेतृत्वमा गएको उक्त टोलीमा लखिमपुर जिल्ला समितिका सभापति युवराज कटुवाल, पूर्व जिल्ला नेतृत्व वर्ग, जिल्ला तथा आंचलिक समितिका पदाधिकारीहरूको उपस्थिति रहेको थियो। टोलीले शोकसन्तप्त परिवारलाई भेटेर सान्त्वना दिनुका साथै आग्सु केन्द्रीय समितिको तर्फबाट जारी गरिएको आधिकारिक ‘भावपूर्ण श्रद्धाञ्जली’ पत्र हस्तान्तरण गरेको छ।
संगठनका एक निष्ठावान र सक्रिय पदाधिकारी, जिल्ला मूल सचिव राज पराजुलीको परिवारमा परेको यो अपूरणीय क्षतिले सिङ्गो आग्सु परिवारलाई स्तब्ध बनाएको छ। शोक पत्र हस्तान्तरण गर्दै केन्द्रीय प्रचार सचिव लखी शर्माले स्व. लाल कुमारी पराजुलीको ८५ वर्ष लामो जीवनयात्रा, उहाँको त्याग र परिवारलाई सुसंस्कृत बनाउन खेल्नुभएको भूमिकाको उच्च कदर गर्नुभयो।
यस दुःखद घडीमा जिल्ला सभापति युवराज कटुवाल र अन्य पदाधिकारीहरूले दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै जिल्ला मूल सचिव राज पराजुली लगायत सम्पूर्ण शोकसन्तप्त परिवारजनमा यो बज्रपात सहन सक्ने शक्ति ईश्वरले प्रदान गरून् भनी प्रार्थना गरेका छन्। आग्सु केन्द्रीय समितिद्वारा हस्ताक्षरित उक्त पत्रमा पराजुली परिवारको यो शोकमा संगठन सधैँ साथमा रहने प्रतिबद्धता समेत व्यक्त गरिएको छ।