All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #30
May 14, 2026

मार्घेरिटामा गोर्खा छात्र संघ र गोर्खा महिला समितिद्वारा कृती विद्यार्थीहरूलाई भव्य सम्मान

📅 May 14, 2026
✍️ AAGSU
🕒 12:06 AM

मार्घेरिटा, ११ मे: अखिल असम गोर्खा छात्र संघ (आग्सु) मार्घेरिटा आंचलिक समिति र गोर्खा महिला समिति को संयुक्त आयोजनामा शैक्षिक वर्ष २०२५-२६ को उच्च र उच्चतर माध्यमिक अन्तिम परीक्षामा उत्कृष्ट अङ्क ल्याई सफलता हासिल गर्ने कृती विद्यार्थीहरूका लागि एक विशेष अभिनन्दन तथा सम्मान कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। हिजो १० मे, आइतबारका दिन मार्घेरिटास्थित असम नेपाली साहित्य सभा भवनमा आयोजना गरिएको यस गरिमामय कार्यक्रममा मेधावी छात्रछात्राहरूलाई सम्मान गर्दै उनीहरूको उज्ज्वल भविष्यको कामना गरिएको छ। विद्यार्थीहरूले आफ्नो कडा परिश्रम र लगनशीलताबाट प्राप्त गरेको यो सफलताले सम्पूर्ण गोर्खा समाज र यस क्षेत्रलाई नै गौरवान्वित बनाएको कुरालाई कार्यक्रममा विशेष जोड दिइएको थियो।


यस विशेष समारोहमा विद्यार्थीहरूको उत्साह बढाउन र उनीहरूलाई उचित मार्गदर्शन गर्न विभिन्न तहका विशिष्ट अतिथिहरूको गरिमामय उपस्थिति रहेको थियो। कार्यक्रममा केन्द्रीय वित्त सचिव सन्तोष क्षेत्री विशेष अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो भने जिल्ला समितिका तर्फबाट जिल्ला मूल-सचिव शंकर जैसीले कार्यक्रमको शोभा बढाउनुभएको थियो। त्यसैगरी, जिल्ला समितिका उप-सभापतिद्वय गोपी क्षेत्री र मिलन शर्मा, तथा जिल्ला समितिका सचिव अरुण क्षेत्रीले पनि सहभागिता जनाउनुभएको थियो। शैक्षिक र सांस्कृतिक विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएका जिल्ला शिक्षा सचिव खेम बहादुर क्षेत्री, जिल्ला सह-शिक्षा सचिव विशाल शर्मा, जिल्ला सह-सांस्कृतिक सचिव विष्णु शर्मा र जिल्ला कार्यकारिणी सदस्य मुन्ना प्रधान पनि मञ्चमा उपस्थित रहेर विद्यार्थीहरूलाई हौसला र आशीर्वाद प्रदान गर्नुभएको थियो।


कार्यक्रममा उपस्थित अतिथिहरूले आ-आफ्नो मन्तव्य राख्दै समाज र राष्ट्र निर्माणमा शिक्षाको अपरिहार्य महत्त्वमाथि प्रकाश पार्नुभएको थियो। वक्ताहरूले आजका विद्यार्थीहरू नै भोलिका कर्णधार र समाजका अगुवा भएकाले उनीहरूले आफ्नो अध्ययनलाई अझै फराकिलो बनाउँदै उच्च शिक्षा हासिल गर्नुपर्ने र समाजको उत्थानमा ठोस योगदान पुर्‍याउनुपर्ने कुरामा जोड दिनुभयो। यसै अवसरमा कृती विद्यार्थीहरूलाई प्रशंसापत्र, फुलाम गामोछा र अन्य उपहारहरू प्रदान गरी मञ्चमा सम्मान गरिएको थियो। सम्मानित विद्यार्थीहरूका अनुहारमा हर्ष र उत्साह प्रस्टै झल्किन्थ्यो भने उपस्थित अभिभावक, शिक्षक र स्थानीय बासिन्दाहरूले आफ्ना नानीबाबुहरूको सफलतामा निकै गर्व महसुस गरेका थिए।


गोर्खा महिला समिति र आग्सुले शिक्षाको क्षेत्रमा देखाएको यो गहिरो चासो र विद्यार्थीलाई प्रोत्साहन गर्ने परम्पराले समुदायमा अत्यन्तै सकारात्मक सन्देश प्रवाह गरेको छ। विद्यार्थीहरूले शिक्षाको क्षेत्रमा देखाएको उत्कृष्ट प्रदर्शनको मुक्तकण्ठले प्रशंसा गर्दै आयोजक हरुले आगामी दिनहरूमा पनि यस्ता प्रोत्साहनमूलक र शैक्षिक उत्थानका कार्यक्रमहरूलाई निरन्तरता दिने दृढ प्रतिबद्धता व्यक्त गरेको छ। कार्यक्रमको अन्त्यमा आयोजक समितिका पदाधिकारीहरूले सम्पूर्ण कृती विद्यार्थीहरूलाई हार्दिक बधाई दिँदै उनीहरूको आगामी शैक्षिक यात्रा अझै फलदायी, सफल र बाधामुख होस् भन्ने शुभकामना व्यक्त गरेका थिए। सौहार्दपूर्ण वातावरणमा सम्पन्न यस कार्यक्रमले मार्घेरिटा क्षेत्रका विद्यार्थीहरूमाझ नयाँ उर्जा, प्रेरणा र स्वस्थ शैक्षिक प्रतिस्पर्धाको भावना सञ्चार गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ।

प्रतिवेदक: किरण तामाङ-सभापति, मार्घेरिटा आञ्चलिक समिति।

📤 Share this story
Scroll to Top