All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #34
June 11, 2026

अखिल असम गोर्खा छात्र संघ (AAGSU), कामरूप महानगर जिल्ला समितिको शपथ ग्रहण तथा विद्यार्थी सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

📅 June 11, 2026
✍️ AAGSU
🕒 12:05 AM

गुवाहाटी, ६ जुनः अखिल असम गोर्खा छात्र संघ (AAGSU) कामरूप महानगर जिल्ला समितिको नवगठित कार्यसमितिको शपथ ग्रहण समारोह तथा यस वर्षको HSLC र HS परीक्षामा उत्कृष्ट नतिजा हासिल गरेका करिब १०० जना मेधावी विद्यार्थीहरूको सम्मान कार्यक्रम भव्य एवं ऐतिहासिक रूपमा सम्पन्न भएको छ। विद्यार्थीहरूको शैक्षिक उपलब्धिलाई सम्मान गर्दै तथा नवगठित जिल्ला समितिलाई औपचारिक रूपमा जिम्मेवारी हस्तान्तरण गर्ने उद्देश्यले आयोजित कार्यक्रममा समाजका विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा दिसपुर विधानसभा क्षेत्रका विधायक श्री प्रद्युत बोरदोलोई, दिमोरिया विधानसभा क्षेत्रका विधायक डा. तपन दास, असम डाउन टाउन विश्वविद्यालयका कुलपति डा. नारायण तालुकदार तथा रजिष्ट्रार डा. अखिम बर्मन विशिष्ट अतिथिका रूपमा उपस्थित थिए। उनीहरूले विद्यार्थीहरूलाई निरन्तर परिश्रम, अनुशासन र लक्ष्यप्रतिको समर्पणमार्फत उज्ज्वल भविष्य निर्माण गर्न प्रेरित गर्दै शिक्षा नै समाज रूपान्तरणको सबैभन्दा प्रभावकारी माध्यम भएको उल्लेख गरे।

कार्यक्रमका मुख्य अतिथिका रूपमा उपस्थित AAGSU का केन्द्रीय उपाध्यक्ष श्री रोहित लाम्सालले नवगठित जिल्ला समितिलाई शपथ ग्रहण गराउँदै संगठनको मूल उद्देश्य, विद्यार्थी हित तथा सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्ध रहन आग्रह गरे। यस अवसरमा AAGSU का मूल–सचिव श्री नुमल छेत्री तथा केन्द्रीय समितिका अन्य पदाधिकारीहरूले पनि संगठनको वर्तमान गतिविधि, भविष्यका योजनाहरू तथा विद्यार्थी समुदायको भूमिका सम्बन्धमा आफ्ना विचार व्यक्त गरेका थिए।

कार्यक्रममा गोर्खा उन्नयन परिषद्का अध्यक्ष श्री प्रेम तामाङ, उपाध्यक्ष श्री राम दाहाल तथा परिषद्का अन्य पदाधिकारीहरूको समेत उपस्थिति रहेको थियो। साथै AAGSU का पूर्व सभापति श्री अर्जुन छेत्री, मोरिगाउँ, डिमा हसाओ तथा कार्बी आङ्लोङ जिल्ला समितिका प्रतिनिधिहरू, असम गोर्खा सम्मेलन कामरूप जिल्ला समिति, बृहत्तर गुवाहाटी गौपालक संस्था, नेपाली मन्दिर प्रबन्धक समिति, राष्ट्रीय सेवक संघका ज्येष्ठ प्रचारक श्री जोगेश शास्त्री, समाजसेवी श्री अभिचंद्र पाठक, अखिल असम छात्र संघ (AASU) कामरूप महानगर जिल्ला समितिका अध्यक्ष तथा महासचिव, चन्द्रपुर आञ्चलिक छात्र संस्था लगायत विभिन्न सामाजिक, शैक्षिक तथा सांस्कृतिक संस्थाका प्रतिनिधिहरूको गरिमामय सहभागिता रहेको थियो।

कार्यक्रमको विशेष आकर्षणका रूपमा श्रीमती वर्षा पटोवारीद्वारा सञ्चालित करियर काउन्सेलिङ सत्र रहेको थियो। उक्त सत्रमा विद्यार्थीहरूलाई उच्च शिक्षा, प्रतिस्पर्धात्मक परीक्षा, करियर छनोट तथा वर्तमान समयको आवश्यकता अनुसार सीप विकास सम्बन्धी महत्वपूर्ण जानकारी प्रदान गरिएको थियो। सहभागी विद्यार्थी तथा अभिभावकहरूले उक्त सत्रलाई अत्यन्त उपयोगी तथा प्रेरणादायी रहेको प्रतिक्रिया दिएका थिए।

सम्मान कार्यक्रममा HSLC तथा HS परीक्षामा उत्कृष्ट नतिजा हासिल गरेका करिब १०० जना विद्यार्थीहरूलाई प्रमाणपत्र तथा सम्मानपत्र प्रदान गरी उनीहरूको उपलब्धिको कदर गरिएको थियो। आयोजक पक्षले यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूमा थप उत्साह र प्रेरणा जगाउने विश्वास व्यक्त गरेको छ।

कार्यक्रमको समापनमा आयोजक समितिले कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने सम्पूर्ण अतिथि, अभिभावक, विद्यार्थी, शुभेच्छुक, स्वयंसेवक तथा विभिन्न संघ–संस्थाप्रति हार्दिक आभार व्यक्त गर्दै आगामी दिनहरूमा पनि समाज र विद्यार्थी हितका विविध कार्यक्रमहरू निरन्तर सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरेको थियो।

प्रतिवेदक: उत्तम शर्मा-सभापति, कामरूप महानगर जिल्ला समिति।

📤 Share this story
Scroll to Top