
डिमाकुची, जुन २०२६: अखिल असम गोर्खा छात्र संघ (आग्सु) डिमाकुची आञ्चलिक समितिको आयोजनामा उच्च तथा उच्चतर माध्यमिक परीक्षामा प्रथम श्रेणीमा उत्तीर्ण भएका ७६ जना छात्र–छात्रालाई सम्मान तथा शैक्षिक कर्मशाला कार्यक्रम नेहरू मेमोरियल उच्चतर माध्यमिक विद्यालयको प्राङ्गणमा भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रममा अखिल असम गोर्खा छात्र संघ उदालगुडी जिल्ला समितिका मूल–सचिव किशोर सिर्पाली प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। उहाँले विद्यार्थीहरूलाई निरन्तर मेहनत, अनुशासन र लक्ष्यप्रति प्रतिबद्ध रहँदै भविष्य निर्माण गर्न प्रेरित गर्नुभयो।
अनुप्रेरक वक्ताका रूपमा बी.बी. किशन कलेजका सहायक प्राध्यापक रोसन गुरुङले शिक्षा, करियर निर्माण तथा जीवनका उद्देश्यबारे विस्तृत र प्रेरणादायी मन्तव्य राख्दै विद्यार्थीहरूलाई उच्च शिक्षा र प्रतिस्पर्धात्मक क्षेत्रमा अगाडि बढ्न हौसला प्रदान गर्नुभयो।
कार्यक्रममा आग्सु उदालगुडी जिल्ला समितिका उप-सभापति किरण सिक्देल, अर्पण क्षेत्री, शिक्षा सचिव दीपक अधिकारी तथा प्रवक्ता धर्मेन्द्र गौतम, बिटिसि क्षेत्रीय समितिका सचिव सुदर्शन भुसाल, अनेसास केन्द्रीय समितिका सदस्य बुद्धि सुबेदी, सुग्पोका सचिव राजु बिष्ट लगायत विभिन्न सामाजिक तथा शैक्षिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। साथै बीपीएफका वरिष्ठ नेता तथा शिक्षाविद् कामाल आजादको पनि विशेष उपस्थिति रहेको थियो।
उक्त कार्यक्रममा शिक्षक–शिक्षिका, अभिभावक, विद्यार्थी, सामाजिक अगुवा तथा आग्सुका पदाधिकारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा प्रथम श्रेणीमा उत्तीर्ण विद्यार्थीहरूलाई सम्मानपत्र प्रदान गर्दै उज्ज्वल भविष्यका लागि शुभकामना व्यक्त गरिएको थियो।
यस्ता शैक्षिक तथा प्रेरणामूलक कार्यक्रमहरूले विद्यार्थीहरूमा आत्मविश्वास अभिवृद्धि गर्नुका साथै उच्च शिक्षातर्फ अग्रसर हुन थप ऊर्जा र उत्साह प्रदान गर्ने विश्वास आयोजक पक्षले व्यक्त गरेको छ।
प्रतिवेदक: प्रकाश बुराथोकि- मूल-सचिव, डिमाकुची आञ्चलिक समिति ।