
पश्चिम कार्बी आङलङ, ४ जुन: अखिल असम गोर्खा छात्र संघ (आग्सु) आम्रेङ–कपिली आञ्चलिक समितिको आयोजनामा ग्रेटर चें चें बिल शाखा तथा लम्बपथार शाखा समितिको संयुक्त पहलमा Indian Army अग्निवीरमा सफलतापूर्वक चयन भएका युवाहरू तथा माध्यमिक शिक्षा परीक्षा (SEBA HSLC) मा सफलता हासिल गरेका विद्यार्थीलाई सम्मान तथा बधाई ज्ञापन कार्यक्रम सम्पन्न गरिएको छ।
समाजमा शिक्षा, अनुशासन र राष्ट्रसेवाप्रति सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा आग्सुका पदाधिकारी तथा समाजका अग्रज व्यक्तित्वहरू सफल युवाहरूको निवासमै पुगेर सम्मान तथा शुभकामना व्यक्त गरेका थिए। कार्यक्रमअन्तर्गत चें चें बिल निवासी श्री कमल थापा तथा श्रीमती पार्वती देवीका सुपुत्र श्री एकराज थापा र श्री प्रेम बानियाँका सुपुत्र श्री ऋषिकेश क्षेत्रीलाई Indian Army अग्निवीरमा चयन भएको अवसरमा सम्मान गर्दै उज्ज्वल सैनिक जीवनको शुभकामना प्रदान गरिएको थियो।
त्यसैगरी, माध्यमिक शिक्षा परीक्षा (SEBA HSLC) मा उल्लेखनीय सफलता हासिल गरेकी श्रीमती सुजता बुनुलाई पनि घरमै पुगेर बधाई ज्ञापन गरिएको थियो। कार्यक्रममा सहभागी प्रतिनिधिहरूले उनको शैक्षिक उपलब्धिको प्रशंसा गर्दै आगामी दिनमा अझ उत्कृष्ट नतिजा हासिल गर्न शुभकामना व्यक्त गरेका थिए।
उक्त कार्यक्रममा पश्चिम कार्बी आङलङ जिल्ला समितिका पूर्व सांगठनिक सचिव मोहन थापा, आम्रेङ–कपिली आञ्चलिक समितिका पूर्व मूल–सचिव चन्द्र प्रसाद शर्मा, नवनिर्वाचित मूल–सचिव सन्तोष कार्की, सांस्कृतिक सचिव तनिषा कार्की बुनु, प्रचार सचिव राहुल क्षेत्री, भारप्राप्त शाखा सभापति सचिन शर्मा, सांस्कृतिक सचिवा मनिषा कार्की, पवित्रा क्षेत्री तथा समाजसेवी माधव ढुङ्गेल लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरूले युवाहरूको सफलता व्यक्तिगत उपलब्धिमा मात्र सीमित नरही सम्पूर्ण समाजको गौरवको विषय भएको बताएका थिए। उनीहरूले शिक्षा र राष्ट्रसेवाको क्षेत्रमा प्राप्त यस्ता सफलताले अन्य युवाहरूलाई पनि सकारात्मक दिशा प्रदान गर्ने विश्वास व्यक्त गरे। साथै आगामी दिनमा अझ बढी मेहनत, अनुशासन, लगनशीलता र समर्पणका साथ राष्ट्र तथा समाजको सेवामा अग्रसर हुन सफल युवाहरूलाई प्रेरित गरिएको थियो।
आग्सुले विगतदेखि नै शिक्षा, सामाजिक चेतना तथा युवाहरूको व्यक्तित्व विकाससँग सम्बन्धित विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्दै आयोजक पक्षले भविष्यमा पनि यस्ता सम्मान तथा प्रोत्साहनमूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। कार्यक्रममा सहभागी स्थानीयवासीहरूले पनि आग्सुको यस पहलको प्रशंसा गर्दै यस्ता कार्यक्रमले समाजमा शिक्षाप्रति सकारात्मक वातावरण निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरेका थिए।
यस प्रकारको घरदैलो सम्मान कार्यक्रमले सफल व्यक्तिहरूको मनोबल अभिवृद्धि गर्नुका साथै समाजमा शिक्षा, अनुशासन, राष्ट्रप्रेम र सकारात्मक प्रतिस्पर्धाको भावना विकास गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ।
प्रतिवेदक: चन्द्र प्रसाद शर्मा- उपदेष्टा, आम्रेङ-कपिलि आञ्चलिक समिति।