
खौराङ, ६ जुनः विश्व वातावरण दिवसको अवसरमा SBI Foundation र GRAMYA VIKASH MANCHA को संयुक्त पहलमा खौराङस्थित खौराङ नदीको किनारमा वृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। वातावरण संरक्षण तथा प्राकृतिक स्रोतहरूको पुनःस्थापनाको सन्देश फैलाउने उद्देश्यले आयोजित उक्त कार्यक्रममा अखिल असम गोर्खा छात्र संघ (आग्सु), खौराङ आञ्चलिक समितिले सक्रिय सहभागिता जनाएको थियो।
“हाम्रो भूमि, हाम्रो भविष्य: आउनुहोस्, मिलेर पुनःस्थापना गरौं” (Our Land, Our Future: Let’s Restore Together) भन्ने यस वर्षको विश्व वातावरण दिवसको मूल नारालाई आत्मसात गर्दै आयोजित कार्यक्रममा नदी किनार क्षेत्रलाई हरियाली बनाउने उद्देश्यले विभिन्न प्रजातिका बिरुवाहरू रोपिएका थिए। सहभागीहरूले वातावरणीय सन्तुलन कायम राख्न वृक्षारोपणको महत्वबारे जनचेतना फैलाउन समेत जोड दिएका थिए।
कार्यक्रममा SBI Foundation तथा GRAMYA VIKASH MANCHA का पदाधिकारी एवं सदस्यहरू, खौराङ हाई स्कूलका प्रधानशिक्षक, शिक्षक-शिक्षिका, विद्यार्थीवर्ग, स्थानीय बासिन्दा तथा विभिन्न सामाजिक संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। आग्सु खौराङ आञ्चलिक समितिको एउटा प्रतिनिधिमण्डलले समेत कार्यक्रममा सहभागी भई वृक्षारोपण अभियानमा सक्रिय योगदान पुर्याएको थियो।
उक्त अवसरमा वक्ताहरूले वातावरणीय संकट, वन विनाश, जलवायु परिवर्तन तथा प्राकृतिक स्रोतहरूको संरक्षणका विषयमा चर्चा गर्दै भावी पुस्ताका लागि स्वच्छ र हरित वातावरण निर्माण गर्नु सबैको साझा जिम्मेवारी भएको बताए। उनीहरूले केवल एक दिनको कार्यक्रम मात्र नभई वर्षभरि नै वातावरण संरक्षणका गतिविधिहरूलाई निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याएका थिए।
कार्यक्रममा सहभागी विद्यार्थी तथा युवाहरूलाई वातावरण संरक्षणमा आफ्नो भूमिका निर्वाह गर्न प्रेरित गरिएको थियो। नदी किनार क्षेत्रको संरक्षण र हरियाली प्रवर्द्धनका लागि सामूहिक प्रयास आवश्यक रहेकोमा सबैले जोड दिएका थिए।
कार्यक्रमको अन्त्यमा आयोजक संस्थाहरूले सहभागी सम्पूर्ण व्यक्ति तथा संस्थाहरूप्रति आभार व्यक्त गर्दै यस्ता वातावरणमैत्री कार्यक्रमहरूले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरेका थिए। वृक्षारोपण अभियानले वातावरण संरक्षणप्रति स्थानीय समुदायको प्रतिबद्धतालाई थप सुदृढ बनाएको सहभागीहरूले बताएका छन्।
प्रतिवेदक: नारायण छेत्री- सचिव, खौराङ आञ्चलिक समिति ।