All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #34
June 11, 2026

अखिल असम गोर्खा छात्र संघ (आग्सु) शोणितपुर जिल्ला समितिको ३९औँ प्रतिनिधि सभा सम्पन्न

📅 June 11, 2026
✍️ AAGSU
🕒 12:05 AM

तेजपुर, ३१ मे : अखिल असम गोर्खा छात्र संघ (आग्सु) शोणितपुर जिल्ला समितिको ३९औँ प्रतिनिधि सभा मिति ३१ मे २०२६ का दिन तेजपुरको नेपालीपट्टीस्थित गोर्खा सांस्कृतिक प्रकल्पको सभागृहमा भव्य, गरिमामय तथा ऐतिहासिक वातावरणमा सम्पन्न भएको छ।
कार्यक्रमको शुभारम्भ बिहान ९ बजे सभापति दीपक सुब्बाद्वारा संगठनको झण्डोत्तोलन गरी गरिएको थियो। त्यसपश्चात् मूल सचिव हितेश पराजुलीले शहीद वेदीमा पुष्पाञ्जली अर्पण तथा दीप प्रज्वलन गरी कार्यक्रमलाई औपचारिक रूपमा अघि बढाउनुभएको थियो।
कार्यक्रमको प्रारम्भमै असमका सुप्रसिद्ध शिल्पी, गायक, संगीतकार तथा सांस्कृतिक व्यक्तित्व दिवंगत जुबिन गर्गप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको थियो। असम नेपाली साहित्य सभा, शोणितपुर जिल्ला समितिका सभापति अनिल गौतमज्यूले उहाँको कला, साहित्य तथा सांस्कृतिक क्षेत्रमा पुर्‍याउनुभएको अतुलनीय योगदानको स्मरण गर्दै श्रद्धासुमन अर्पण गर्नुभएको थियो।
त्यसैगरी, सन् २००७ मा बालिजुरीबाट खनामुख अधिवेशनमा सहभागी हुन आउने क्रममा भएको दुःखद सवारी दुर्घटनामा ज्यान गुमाउनुभएका आग्सुका आठ जना कर्मीहरूको पवित्र स्मृतिमा विशेष श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको थियो। संगठनका ती अमर कर्मीहरूको त्याग, समर्पण र संगठनप्रतिको अटल निष्ठालाई सम्मान गर्दै पूर्व छात्र नेताहरूले अष्ट शहीदहरूको नाममा आठ वटा दीप प्रज्वलन गर्नुभएको थियो। दीपको उज्यालोसँगै सभाहल भावनाले भरिएको थियो र उपस्थित सम्पूर्ण प्रतिनिधि, अतिथि तथा कर्मीहरूले मौन श्रद्धाञ्जली अर्पण गर्दै ती शहीद कर्मीहरूको योगदानलाई स्मरण गरेका थिए। उक्त क्षणले आग्सुको संघर्ष, बलिदान र समर्पणले भरिएको गौरवशाली इतिहासलाई पुनः एकपटक जीवन्त बनाएको थियो।
एकदिवसीय कार्यसूचीअनुसार सञ्चालन गरिएको उक्त प्रतिनिधि सभामा आग्सु केन्द्रीय समितिका तर्फबाट पर्यवेक्षकका रूपमा उपसभापति राजु बजगाईं, सांगठनिक सचिव दुर्गा बस्नेत, सांस्कृतिक सचिव त्रिदेव बिष्ट, आई.टी. सेल सचिव किरण खर्का तथा सदस्यद्वय खगेन्द्र थापा र सञ्जीव छेत्रीको विशेष उपस्थिति रहेको थियो।
सभामा संगठनका प्राक्तन विद्यार्थी नेताहरू गोपाल आचार्य, जगदीश खनाल, थर्कबहादुर अधिकारी, सञ्जीव छेत्री तथा नारायण छेत्री लगायत थुप्रै प्राक्तन पदाधिकारी, कर्मी तथा शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। यसका साथै असम गोर्खा सम्मेलन, असम नेपाली साहित्य सभा तथा भारतीय गोर्खा परिसंघ लगायत विभिन्न सामाजिक, साहित्यिक तथा सामुदायिक संस्थाका नेतृत्वहरूको बाक्लो उपस्थिति रहेको थियो, जसले सभाको गरिमालाई अझ उचाइ प्रदान गरेको थियो।
शोणितपुर जिल्लाभित्रका १४ वटा आञ्चलिक समितिहरूको प्रतिनिधित्व रहेको उक्त प्रतिनिधि सभाले संगठनको वर्तमान अवस्था, भावी कार्यदिशा तथा विद्यार्थी आन्दोलनका विविध पक्षहरूमाथि गहन छलफल गरेको थियो। प्रतिनिधिहरूबीच भएको व्यापक विचार–विमर्शले संगठनलाई अझ सुदृढ, अनुशासित, जनमुखी तथा प्रभावकारी बनाउने दृढ प्रतिबद्धता व्यक्त गरेको थियो।
सभाको क्रममा जिल्ला समितिको तर्फबाट मूल सचिव हितेश पराजुलीले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्षद्वारा आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो। प्रतिवेदनमाथि प्रतिनिधिहरूले विस्तृत छलफल गर्दै संगठनका उपलब्धि, चुनौती तथा भावी योजनाहरूमाथि आफ्ना महत्वपूर्ण सुझाव तथा धारणा राखेका थिए।
प्रतिनिधि सभाको सर्वसम्मत निर्णयअनुसार रवि लिम्बु सभापति तथा पंकज चम्लागाईं मूल सचिव पदमा चयन हुनुभएको छ। साथै संगठनलाई आगामी दिनमा अझ प्रभावकारी ढङ्गले अघि बढाउने उद्देश्यले ३९ सदस्यीय एक सशक्त, समावेशी तथा दह्रो जिल्ला समिति गठन गरिएको छ।
नवनिर्वाचित नेतृत्वलाई बधाई ज्ञापन गर्दै उपस्थित अतिथि तथा पर्यवेक्षकहरूले संगठनको आदर्श, उद्देश्य र गौरवलाई अक्षुण्ण राख्दै विद्यार्थी तथा समाजको हितमा समर्पित भएर कार्य गर्न शुभकामना व्यक्त गर्नुभएको थियो। उहाँहरूले आग्सु केवल एउटा विद्यार्थी संगठन मात्र नभई असमेली गोर्खा समुदायको चेतना, अधिकार र पहिचानको सशक्त आवाज भएको उल्लेख गर्दै संगठनलाई अझ मजबुत बनाउने दिशामा नयाँ नेतृत्वले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभएको थियो।
कार्यक्रमका क्रममा सभापति दीपक सुब्बाले आफ्नो कार्यकालको समीक्षा गर्दै संगठनलाई अझ बलियो, व्यवस्थित र प्रत्येक गोर्खा परिवारसम्म पुर्‍याउन आवश्यक पहल तथा योजनाहरूबारे विस्तृत धारणा राख्नुभयो। उहाँले आफ्नो कार्यकालभर साथ, सहयोग र विश्वास प्रदान गर्ने सम्पूर्ण आग्सु परिवार, शुभेच्छुक तथा समुदायप्रति हार्दिक कृतज्ञता व्यक्त गर्नुभयो।
भावुक वातावरणबीच उहाँले आफ्नो कार्यकालमा जान–अञ्जानमा भएका कमी–कमजोरी तथा त्रुटिहरूप्रति क्षमायाचना गर्दै संगठनको उज्ज्वल भविष्यप्रति पूर्ण विश्वास व्यक्त गर्नुभयो। साथै, आग्सुको गौरवशाली इतिहास, शहीदहरूको बलिदान, अग्रजहरूको संघर्ष तथा हजारौँ कर्मीहरूको समर्पणलाई आत्मसात् गर्दै नयाँ नेतृत्वले संगठनलाई अझ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।
अन्तमा – संगठनको आदर्श, एकता, संघर्ष र समर्पणको परम्परालाई अझ सशक्त बनाउने दृढ संकल्पसहित सभापति दीपक सुब्बाले अखिल असम गोर्खा छात्र संघ (आग्सु) शोणितपुर जिल्ला समितिको ३९औँ प्रतिनिधि सभा विधिवत् समापन भएको घोषणा गर्नुभयो।

“शहीदहरूको सपना, अग्रजहरूको संघर्ष, कर्मीहरूको समर्पण र नयाँ पुस्ताको संकल्पलाई साथ लिएर सम्पन्न ३९औँ प्रतिनिधि सभाले शोणितपुर जिल्लामा आग्सुको नयाँ ऊर्जा, नयाँ नेतृत्व र उज्ज्वल भविष्यको बलियो आधारशिला निर्माण गरेको छ। शिक्षा, चेतना, एकता र अधिकारको अभियानलाई अझ सशक्त बनाउने अठोटसहित सभा सम्पन्न भएको छ। आग्सुको गौरवमय यात्राले अब नयाँ नेतृत्वको हातमा अझ गतिशील, सशक्त र जनमुखी दिशा प्राप्त गर्ने विश्वास सम्पूर्ण प्रतिनिधि सभाले व्यक्त गरेको छ।”

प्रतिवेदक: चन्द्र गौतम- कार्यकारिणी सदस्य, शोणितपुर जिल्ला समिति।

📤 Share this story
Scroll to Top