
बामुनजुली, २७ अक्टोबर: भोलाटार क्रिकेट एकेडेमीको आयोजनामा मिति २७ अक्टोबर २०२६ देखि All Assam Under-17 Leather Ball Cricket Tournament सुरु हुन्छ। प्रतियोगिताको उद्घाटन कार्यक्रममा अखिल असम गोर्खा छात्र संघ (आग्सु), बामुनजुली आञ्चलिक समितिको अतिथिका रूपमा उपस्थिति रहन्छ।
युवा खेलाडीहरूमा क्रिकेटप्रतिको रुचि अभिवृद्धि गर्ने, उनीहरूको प्रतिभा प्रस्फुटन गर्ने तथा खेलकुदको माध्यमबाट अनुशासन, आपसी सद्भाव र खेल भावना विकास गर्ने उद्देश्यले आयोजना गरिएको यस प्रतियोगिताले नवप्रतिभाशाली खेलाडीहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।
यसै सन्दर्भमा आग्सु बामुनजुली आञ्चलिक समितिले आफ्नो क्षेत्रअन्तर्गतका सम्पूर्ण खेलप्रेमी महानुभावहरूलाई प्रतियोगितामा सहभागी भई खेलाडीहरूको हौसला बढाउन तथा प्रतियोगितालाई सफल बनाउन आवश्यक सहयोग र समर्थन प्रदान गर्न हार्दिक अपिल गरेको छ।
समितिले खेलकुदले युवाहरूको सर्वाङ्गीण विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गर्दै यस्ता प्रतियोगिताहरूको सफल आयोजनाका लागि स्थानीय समुदायको सक्रिय सहभागिता आवश्यक रहेको जनाएको छ।
आग्सु बामुनजुली आञ्चलिक समितिले प्रतियोगिताको सफलताको कामना गर्दै सम्पूर्ण खेलप्रेमी, अभिभावक तथा स्थानीयवासीलाई उपस्थित भई युवा खेलाडीहरूको उत्साह अभिवृद्धि गर्न आग्रह गरेको छ।
प्रतिवेदक: भानु लामा, मूल सचिव, आग्सु बामुनजुली आञ्चलिक समिति।