
बामुनजुली २४ अक्टोबर: अखिल असम गोर्खा छात्र संघ (आग्सु), बामुनजुली आञ्चलिक समिति अन्तर्गत लामो समयको प्रतीक्षापछि सगुनबारी शाखा समिति गठन गरिएको छ। शाखा समिति गठन भएसँगै सगुनबारी क्षेत्रमा सङ्गठनलाई थप सुदृढ र व्यवस्थित बनाउने दिशामा महत्त्वपूर्ण उपलब्धि हासिल भएको बामुनजुली आञ्चलिक समितिले जनाएको छ।
सगुनबारीवासी गोर्खा समुदायले सङ्गठनप्रति देखाएको माया, विश्वास र साथप्रति आञ्चलिक समितिले आभार व्यक्त गरेको छ। समुदायको विश्वास र आत्मीयता नै सङ्गठनको प्रमुख शक्ति रहेको उल्लेख गर्दै आगामी दिनमा सङ्गठनलाई अझ सशक्त बनाउने प्रतिबद्धतासमेत व्यक्त गरिएको छ।
नवगठित सगुनबारी शाखा समिति सभापति श्री सन्तोष राई र मूल सचिव श्री वीरबहादुर राईको नेतृत्वमा गठन भएको हो। नवनिर्वाचित नेतृत्वसहित सम्पूर्ण शाखा समितिका पदाधिकारी तथा सदस्यहरूलाई बामुनजुली आञ्चलिक समितिले हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ।
नवगठित शाखा समितिले आगामी दिनमा सगुनबारीवासी गोर्खा समुदायको हक, हित र अधिकारको संरक्षणका लागि इमानदारीपूर्वक कार्य गर्नुका साथै सामाजिक, शैक्षिक तथा सङ्गठनात्मक गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाउने विश्वास आञ्चलिक समितिले व्यक्त गरेको छ।
यसैगरी, नयाँ शाखा समितिको गठनले स्थानीय स्तरमा सङ्गठनको पहुँच विस्तार हुनुका साथै गोर्खा समुदायबीच एकता, सहकार्य र आपसी सद्भाव अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
प्रतिवेदक: भानु लामा, मूल सचिव, अखिल असम गोर्खा छात्र संघ,बामुनजुली आञ्चलिक समिति।