
जोहिङ, अक्टोबर २९ :—“एकताको बल, विविधतामा गर्व ” भन्ने मुलमन्त्रलाई आत्मसात गर्दै, अखिल असम गोर्खा छात्र संघ (AAGSU) जोहिङ ९/६ कोइलामारी आँचलिक समितिले आज एक ऐतिहासिक र भावनात्मक कार्यक्रम सम्पन्न गर्यो। कार्यक्रम गुरुङ होटल, कोइलामारी मा भव्य रूपमा आयोजना गरिएको थियो, जहाँ गोर्खा समुदायका अगुवाहरू, स्थानीय समाजसेवी, विद्यार्थी तथा असम टी ट्राइब्स स्टुडेन्ट्स असोसिएशन (ATTSA) का प्रतिष्ठित पदाधिकारीहरूको उपस्थितिले सभालाई गौरवमय बनायो। यस कार्यक्रमको प्रमुख उद्देश्य असम राज्यका आदिवासी र गोर्खा समुदायबीचको सद्भाव, ऐक्यता र परस्पर समझदारीको पुललाई अझ सबल बनाउने रहेको थियो। कार्यक्रमको विशेष आकर्षण ATTSA का नवनिर्वाचित पदाधिकारीहरूलाई सम्मान अर्पण गर्ने थियो। सम्मानित व्यक्तिहरूमा श्री सुनिल तिर्की, सचिव, ATTSA केन्द्रीय समिति, श्री चन्द्र गढ, सभापति, ATTSA लखीमपुर जिल्ला समिति, श्री सुमित पाडी, कार्यकारी सदस्य, ATTSA केन्द्रीय समिति
तीनै जना सम्मानित अतिथिहरूलाई अखिल असम गोर्खा छात्र संघ (AAGSU) का प्रतिनिधिहरूद्वारा परम्परागत खादा, स्मृति–चिन्ह र सम्मानपत्र अर्पण गरी अभिनन्दन गरिएको थियो। यस अवसरमा AAGSU का पदाधिकारीहरूले ATTSA का नयाँ नेतृत्वलाई हार्दिक बधाई दिँदै भावी यात्राको सफलता कामना गरे।
