All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
•
Issue #54
•
October 29, 2026

चार्चिम–प्रिसेक राष्ट्रिय शोक दिवस–२०२६ मा AAGSU को श्रद्धाञ्जली अर्पण

📅 October 29, 2026
✍️ AAGSU
🕒 12:06 AM

चार्चिम–प्रिसेक, १७ अक्टोबर २०२६: पश्चिम कार्बी आङ्लोङ जिल्लाको चार्चिम–प्रिसेकमा जातीय हिंसाको दुःखद घटनामा ज्यान गुमाएका निर्दोष व्यक्तिहरूको स्मृतिमा आयोजित चार्चिम–प्रिसेक राष्ट्रिय शोक दिवस–२०२६ का अवसरमा अखिल असम गोर्खा छात्र संघ (AAGSU) अन्तर्गत आम्रेङ–कपिली आञ्चलिक समिति (AKRC) र पश्चिम कार्बी आङ्लोङ जिल्ला समिति (WKADC) का पदाधिकारी तथा सदस्यहरूको संयुक्त टोलीले उपस्थित भई दिवङ्गत आत्माहरूप्रति श्रद्धाञ्जली अर्पण गरेको छ।

कार्यक्रमका क्रममा दिवङ्गत आत्माहरूको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको थियो। साथै, पीडित परिवारहरूको दुःखमा ऐक्यबद्धता प्रकट गर्दै भविष्यमा यस्ता दुःखद घटना दोहोरिन नदिन सबै समुदायले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइएको थियो।

यस स्मृतिदिवसले मानव जीवनको महत्त्व, जातीय सद्भाव, आपसी भाइचारा तथा सामाजिक एकताको आवश्यकतालाई पुनः स्मरण गराएको छ। समाजमा शान्ति र सद्भाव कायम राख्न सबै समुदायबीच आपसी विश्वास, सम्मान र सहअस्तित्वको भावना सुदृढ बनाउनुपर्ने सन्देशसमेत यस अवसरमा व्यक्त गरिएको थियो।

कार्यक्रममा आम्रेङ–कपिली आञ्चलिक समितिका उपसभापति इन्द्र खड्का, मूलसचिव सन्तोष कार्की, सहायक शिक्षा सचिव सूर्य बस्नेत र जितेन थापा, प्रचार सचिव राहुल छेत्री, खेलकुद सचिव मिलन थापा, सङ्गठन सचिव मेघराज मगर, सदस्य उ RTU unit का सल्लाहकार सचिन (सुजल) कार्की तथा AKRC का सल्लाहकार चन्द्रप्रसाद शर्मा र विकास उपाध्याय सहभागी थिए।

त्यसैगरी, पश्चिम कार्बी आङ्लोङ जिल्ला समितिका सभापति गोपाल भट्टराई, उपसभापतिद्वय अमित छेत्री अधिकारी र कुलराज शर्मा तथा सचिव अजय गुरुङको उपस्थिति रहेको थियो।

एक जिम्मेवार विद्यार्थी सङ्गठनका रूपमा AAGSU ले समाजमा शान्ति, सद्भाव र एकता कायम राख्न निरन्तर प्रतिबद्धता व्यक्त गर्दै आएको छ। यस कार्यक्रममा दुवै समितिको संयुक्त सहभागिताले पनि शान्ति, सहअस्तित्व र पारस्परिक सम्मानप्रतिको साझा प्रतिबद्धतालाई प्रतिबिम्बित गरेको छ।

हिंसा होइन, शान्ति; घृणा होइन, मानवता; विभाजन होइन, एकताको मार्ग अवलम्बन गर्न सबैमा आह्वान गर्दै दिवङ्गत आत्माहरूको चिरशान्ति तथा शोकसन्तप्त परिवारजनप्रति पुनः हार्दिक समवेदना व्यक्त गरिएको छ।

प्रतिवेदक : सन्तोष कार्की-मूलसचिव, आम्रेङ–कपिली आञ्चलिक समिति

📤 Share this story
Scroll to Top